कैलालीको मोहन्याल गाउँपालिकाको बाँकामा खण्डमा पर्ने कर्णाली नदीमा खसेको बा ११ च ९३८ नम्बर गाडीको पछाडिको भाग भेटिएको छ । गाडी शुक्रबार १२ बजे सडकबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो । गाडीसँगै बेपत्ता भएका २ जनाको अवस्था भने अझै अज्ञात रहेको कैलाली प्रहरीले जनाएको छ । बेपत्ता भएका दम्पती हुन् ।
नदीमा पानीको बहाव बढी भएका कारण पार्टपुर्जा निकाल्न समस्या भएको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उक्त गाडीको भाग निकाल्ने खटिए पनि समर्थ भएका छैनन् । बेपत्ता दम्पतीको खोजी सशस्त्र प्रहरीको गोताखोर टिम परिचालनले गरिरहेको एसपी अधिकारीले बताए ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका उनीहरू कुइने घुम्न जाँदै गर्दा यो दुर्घटना भएको हो ।
डोटीको आदर्श गाउँपालिकाका चन्द्र जोशी, रुपी जोशी, लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी सो गाडीमा सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दियो । उनीहरू सबै एकै परिवारका हुन् ।
गाडी नदीमा खस्दा चन्द्र जोशी, रुपी जोशी बेपत्ता भएका छन् भने तीन बालबालिकाको अवस्था जटिल रहेकाले तीनै जनालाई नेपालगञ्ज लगिएको छ । गाडी दुर्घटना भएर कर्णाली नदीमा खसेको खबर स्थानीयले तत्काल प्रहरीलाई गरेपछि प्रहरी घटनास्थलमा पुगी खोजतलास गर्दा सडक तल झाडीमा अड्किएको अवस्थामा ३ जना बालबालिका फेला परेका थिए । प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर फेला परेको हो ।
दुर्घटनामा घाइते छोरीलाई बुझ्दा उक्त गाडीमा आफ्नो घर परिवारका ३ जना भाइ बहिनी र आमा बुवा गरी ५ जना सवार भएको आफूहरू डोटी जिल्ला आदर्श गाउँपालिका काँडे साउका रहेको बताएको प्रहरीले जनाएको छ । घाइते बालिकाका अनुसार गाडी बुवाचन्द्र प्रकाश जोशी आफैंले चलाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।