३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ गौशालाबाट पक्राउ

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । 

उनी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त थिए । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । जुन सुन प्रहरीले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । उक्त घटनामा भण्डारीको पनि संलग्नता रहेको पाइएको थियो । तर, उनी फरार थिए ।

उक्त सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेती पक्राउ परेसँगै यो घटनामा धेरै जना मुछिएका थिए ।

प्रहरीले ६३ जनाविरुद्ध मुद्दा चलाएको थियो । यसका मुख्य अभियुक्त गोरे अहिले पनि जेलमा छन् ।

उक्त ३३ किलो सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समिति गठन गरेको थियो । उक्त समितिले नै नेपालमा लामो समयदेखि संगठित रूपमा नै सुन तस्करी भइरहेको पत्ता लगाएको थियो ।



उक्त प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी गोविन्द निरौला, तत्कालीन एसएसपी दिवेश लोहनी, तत्कालीन एसपी विकासराज खनाल लगायतका प्रहरी अधिकारी समेत मुछिएका थिए । पछि अदालतबाट उनी रिहा भएका थिए । यो घटनाको रहस्य अझै पनि खुल्न सकेको छैन ।



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार २१:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया