रोजगारीका लागि हिँडेका जयसिंह : भारतीय प्रहरीको ज्यादतीले बेपत्ता
घटनाको छानबिन गर्न प्रशासनमा उजुरी
फाइल तस्बिर

दार्चुलाको व्यास गाउँपालिका-२ राप्लाका ३३ वर्षीय जयसिंह धामीको तुइन चढ्ने क्रममा बेपत्ता भएको घटनाले स्थानीय आक्रोशित भएका छन् । उनी शुक्रबार बिहान बेपत्ता भएका थिए ।

जयसिंह सहित ५ जनाको टोली शुक्रबार बिहान गाउँबाट सदरमुकाम जान हिँडेका थिए ।

घटना के भएको थियो ?

व्यास गाउँपालिका-२ का स्थानीयहरू सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्छन् । जयसिंहका ४ जना साथीहरू तुइन चढेर नदी पार गरे । उनको पालो आयो । उनी पनि तुइनमा बसे तर, नदी पार गर्ने क्रममा जब उनी बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदियो । तुइन नदीमा खसेपछि महाकाली नदीको तेज धारमा उनी बेपत्ता भएको उनीसँगै गएका जनकसिंह धामीले बताए ।

सदरमुकाम पुग्न भारतीय बाटो

‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ ।’



एसएसबीको अमानवीय हर्कत नयाँ होइन

एसएसबीको यो अमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दुखेसो सुनाउँछन् । चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै धम्क्याएको उनीहरूको दुखेसो छ । 



महाकाली नदीमा बेपत्ता भएका जयसिंहको खोजी भइरहेको दार्चुला प्रहरीले जनाएको छ । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्, पाँचौं व्यक्ति जयसिंह महाकाली नदीमा बेपत्ता भएका हुन् ।’

तुइनबाट खस्दा बेला-बेला यस्ता दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ । सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ । व्यासका नागरिकहरू खाद्यान्न, औषधी लिएर यही तुइनमार्फत् आवत-जावत गर्छन् ।

बेला-बेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले पुनः जोड्ने गरेका छन् ।

प्रशासनमा उजुरी

भारतीय एसएसबीको अमानवीय कार्य गरेको भन्दै स्थानीयले सत्यतथ्य छानबिनको माग गरी घटनामा संलग्न एसएसबीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।

व्यास गाउँपालिका-२ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीका अनुसार पीडित परिवारले घटनाको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिएको बताए ।

दार्चुला जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पीडित परिवारको उजुरी आएपछि पिथौरागढ जिल्लाका डिएम (जिल्ला प्रमुख) लाई छानबिनका लागि पत्राचार गरी गृह मन्त्रालयलाई बोधार्थ पत्र पठाएको जानकारी दिइन् ।

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार २२:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया