नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्ष बिताएका कुलमान घिसिङ २०७७ भदौ ३० गते विदा हुँदै थिए। कार्यकारी निर्देशकबाट बिदा हुने भएपछि देशैभरि कुलमान घिसिङको चर्चा फेरि चुलियो ।
कार्यकारी निर्देशकबाट विदा लिँदै गर्दा कुलमान घिसिङलाई थप एक कार्यकाल पनि प्राधिकरणको जिम्मा दिनुपर्ने माग व्यापक उठ्यो।
उनी बाहिरिने अन्तिम दिनसम्म पनि पुनर्नियुक्ति पाउलान् भन्ने झिनो आशा धेरैको थियो। देश लोडसेडिङबाट आक्रान्त भइरहेका बेला चमत्कारिक रुपमा लोडसेडिङ अन्त्य गरेपछि नेपाली माझ कुलमान हिरो भएका थिए। कुलमान विद्युत प्राधिकरणबाट बाहिरिएपछि फेरि लोडसेडिङ व्यहोर्नु पर्ने होकि भन्ने चिन्ता आम नेपालीलाई थियो।
प्राधिकरणबाट घिसिङ बाहिरिएपछि राजधानीका सडकमा उनका पक्षमा र उनलाई पुनर्नियुक्ति नगर्ने सरकारका विरुद्ध प्रदर्शन नै भए।
देशमा दैनिक १४-१५ घण्टा लोडसेडिङ भइरहेका बेला २०७३ साल भदौ २९ गते कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। सबै नेपाली लोडसेडिङबाट आजित थिए।
लोडसेडिङ तालिकासँगै आफ्नो दैनिकी चलाउन बाध्य थिए नेपाली। कार्यकारी निर्देशक नियुक्त भएको करिब २ महिनापछि लक्ष्मी पूजाका दिन कुलमानले आफ्नो क्षमता देखाए। अघिल्ला वर्षका लक्ष्मी पूजामा लगभग साँझ पर्नेबित्तिकै बत्ति जान्थ्यो। राति भएपछि मात्रै आउँथ्यो। त्यही अपेक्षा थियो काठमाडौं उपत्यकाबासीको। तर त्यो लक्ष्मी पूजाको दिन बिजुली एकछिन पनि गएन, कारण थिए कुलमान ।
सबैभन्दा धेरै खपत हुने साँझमा समेत विद्युत व्यवस्थापन गर्न सकेपछि देशबाट लोडसेडिङ अन्त्य गर्न सक्नेमा कुलमान विश्वस्त भए। एकाएक उनी चर्चित बने।
घिसिङले २०७३ चैत १ देखि नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल भए। त्यसपछि त कुलमान नेपालीका लागि हिरो सावित भए।
ठूलो घाटामा रहेको प्राधिकरणलाई उनले आफ्नो कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा वार्षिक ११ अर्ब नाफामा पुर्याएका थिए। आम जनताबाट वाही वाही पाएका घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट विदा हुँदा संसारभर रहेका नेपाली निराश भए।
पुनर्नियुक्तिका लागि विभिन्न ठाउँबाट सरकारलाई दवाव पनि दिइयो। उनको पक्षमा सडकमा प्रदर्शन हुन थालेपछि कुलमानले आफ्नो नाममा प्रदर्शन नगर्न भन्दै सार्वजनिक रुपमा अपिल समेत गरेका थिए । कुलमानको पक्षमा उठेका आवाजलाई त्यति बेलाको सरकारले सुनेको नसुन्यै गर्यो।
कोही व्यक्तिलाई विभिन्न सरकारी निकायमा ७–८ पटकसम्म नियुक्ति दिइरहेको सरकारले कुलमानलाई थप एक कार्यकालका लागि समेत योग्य देखेन।
रामेछापको विकट गाउँमा टुकी बालेर पढ्दै हुर्किएका कुलमानले उज्यालो नेपालमा नायकको उपमा पाए। विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीमा गुणात्मक सुधार गरी उनले आफ्नो मात्रै देखाएनौ, विद्युत प्राधिकरणको गुमेको साख पुनः स्थापित गरे।
कुलमानले के–के गरे
देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। कुलमान कार्यकारी निर्देशक नियुक्त भएको समयमा विद्युत प्राधिकरण दैनिक १४ घण्टाको लोडसेडिङ तालिका जनतालाई बाँडेर बसिरहेको थियो। लोडसेडिङको अन्त्य कहिलेबाट हुन्छ ? त्यसको जवाफ प्राधिकरणसँग थिएन।
विद्युत् चुहावट नियन्त्रण, उत्पादन वृद्धि, भारतबाट विद्युत् आयात, प्रसारण लाइन विस्तार र वितरणको व्यवस्थापन गरेर कुलमानले नसोचेको खुसी नेपालीलाई दिएका थिए।
प्राधिकरणको नेतृत्व गरेको ६ महिनामै नेपालभर २४ सै घण्टा विद्युत् सेवा सुचारु राख्न सफल भए ।
अर्बाैं रकम घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान घिसिङको टिमले निकै मेहनत गर्नु परेको थियो। यही टिमको मेहनतले आव २०७६÷७७ मा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थानको सूचीमा प्राधिकरण पहिलो बन्यो।
विद्युत् चुहावटलाई २६ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएका थिए। त्रिशूली– थ्री ए, चमेलिया र कुलेखानी–३ जस्ता अवरुद्ध आयोजनाको निर्माणसम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न घिसिङको टिम सफल भयो। लामो समयदेखि पूरा हुन नसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणले गति लिनुमा पनि उनकै प्रयास थियो। उनी बाहिरिँदा त्यो निर्माणको अन्तिम चरणमा पुगेको थियो।
प्राधिकरणभित्र रहेको कामचोर र गैरजिम्मेवार प्रवृत्तिलाई कुलमानले निरुत्साहित गरे। घिसिङ नियुक्ति हुनुअघि करिब ६५ प्रतिशत नेपालीको घरमा विजुली बल्थ्यो। उनको कार्यकालको अन्त्यतिर ८७ प्रतिशत जनता विद्युतको पहुँचमा पुगे ।
एक समय प्राधिकरणको सञ्चित घाटा रु.२७ अर्ब नाघेको थियो। २०६७/६८ मा यो घाटा रकम अपलेखन गरिदियो। यसपछि सरकारले यो रकम मिनाहा गरेको थियो। यसपछि पनि प्राधिकरणको घाटाको ग्राफ उकालो चढ्ने क्रम जारी रह्यो।
आव २०७२÷७३ मा प्राधिकरणले ८ अर्ब ८९ करोड घाटा व्यहोर्नु परेको थियो। यो कुलमान कार्यकारी निर्देशकमा आउनु भन्दा अघिल्लो वर्षको हिसाब हो।
कुलमानले प्राधिकरणको जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो।
त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्यो। दोश्रो वर्ष २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा प्राधिकरणले कमायो।
चौथो वर्षमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो। कुलमानको कार्यकालमा सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको थियो।
उनको कार्यकाल सुरु हुँदा ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भए ।
सफल रुपमा चार वर्षे कार्यकाल पूरा गरेर सानदार घिसिङ सानदार रुपमा विदा भए। केपी ओली सकारले घिसिङको आवश्यकता र कुशल व्यवस्थापनको महत्वलाई वेवास्ता गर्दै उनलाई विदा गरेको टिकाटिप्पणी धेरै भयो।
ओलीले घिसिङलाई कत्ति पनि नरुचाएपछि तत्कालीन उर्जामन्त्री वर्षमान पुनको केही लागेन। कुलमानलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा अघि बढेन।
अब ओली सरकार सत्ताबाट बाहिरिएकाले विद्युत प्राधिकरणमा कुलमानलाई फर्काउनु पर्ने कुरा उठ्न थालेको छ। यसअघि पनि माओवादी–कांग्रेसको संयुक्त सरकार रहेकै बेला कुलमान प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए। त्यति बेला माओवादी जनार्दन शर्मा उर्जा मन्त्री थिए।
अहिले पनि कांग्रेस–माओवादीकै अगुवाइमा बनेको सरकार छ। माओवादीकै नेतृ पम्फा भुसाल उर्जामन्त्री छिन्।
अहिलेको सरकारले प्राधिकरणमा पुन घिसिङलाई नियुक्त गर्नुपर्ने भन्दै जनस्तरबाट दवाव आउन थालेको छ।
देशको आवश्यकता र विद्युत प्राधिकरणका लागि उपयुक्त व्यक्ति कुलमान नै भएकाले देउवा सरकारले उनलाई फेरि नियुक्त गर्नुपर्ने माग उठेको छ।
सामाजिक सञ्जालदेखि राजनीतिक तहसम्म यो विषयले प्रवेश पाएको छ। केहीले घिसिङलाई प्राधिकरणमा मात्रै नभएर अन्य संस्थानको पनि नेतृत्व दिनुपर्ने तर्क गरिरहेका छन्।
घाटामा रहेको नेपाल आयाल निगमको साख जोगाउन महाप्रबन्धकको जिम्मेवारीमा कुलमानलाई ल्याउन पर्ने चर्चा भइरहेको छ।
यस विषयमा पहिला कुलमानको के चाहना छ बुझ्नु पर्ने माओवादी नेता नेता लीलामणि पोखरेलको राय छ। यसपछि उर्जामन्त्रीले उनको सहयोग आवश्यकता आवश्यकता गर्छ की गर्दैन भन्ने विषय मुख्य रहेको पोखरेल बताउँछन्।
‘कुलमान घिसिङ भिजन भएको कुशल व्यवस्थापक हो’ पोखरेल भन्छन् ‘उनलाई प्राधिकरणमा नै ल्याएर स्थायित्व सहित काम गर्ने अवसर दिनुपर्छ ।’
नेपालको विद्युत विकासमा घिसिङलाई जस्तो ज्ञान अरुलाई नभएको दावी उनको छ। ‘घिसिङ नेपालको एक मात्र विद्युतको एक्सपर्ट व्यक्ति हो’ पोखरेलको तर्क छ।
उनका अनुसार नेपालको इतिहासमा विद्युत विषयमा कोही विज्ञ छन् भने घिसिङ नै हो।
पुर्व उर्जामन्त्री वर्षमान पुन पनि नेपालको विद्युत क्षेत्रमा कुलमानको आवश्यकता धेरै देख्छन्। ‘कुलमान घिसिङ नेपालको विद्युत सेक्टरमा आवश्यक छ’ पुन भन्छन्, ‘उहाँले विद्युत प्राधिकरणमा खेल्नुभएको भूमिका अतुलनीय छ।’
आगामी दिनमा कुलमानलाई यस क्षेत्रमा ल्याएर देशको विद्युत व्यवस्थापन र अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने पुनले बताए।
नेपालमा रहेका ठूलो विद्युतीय आयोजना सफल बनाउनका लागि पनि कुलमानको आवश्यकता रहेको पुनको भनाइ छ ।
कुलमान प्राधिकरणबाट बाहिरिएको एक वर्षमै प्राधिकरणको नाफा ६ अर्ब घटिसकेको छ। विद्युत चुहावट पनि बढिरहेको कुरा बाहिर आएको छ। भर्खर बौरिएको प्राधिकरण फेरि घाटामा जाने संकेत यसले देखाएको छ। प्राधिकरणलाई थप सबल बनाउन र देशको उर्जा क्षेत्रबाट अर्थतन्त्रलाई मजबुद बनाउन पनि कुलमानको पुनरागमन आवश्यक देखिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।