सत्यराज आचार्यको गायकी चिनाउन उनका बाबु भक्तराजको नाम जोड्नु आवश्यक छैन । उनको बेग्लै पहिचान छ सांगीतिक क्षेत्रमा । तर, उनले यो पहिचान साना दुःखले बनाएको भने होइन । बाल्यावस्थामै बाबा भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आएको एउटा दुःखद् पाटो जसले सत्यराजलाई संघर्षशील बनायो । बाबाको दुर्घटना, आमाको आयस्रोत केही थिएन । त्यो बेला सत्य–स्वरुप (दाजुभाइ) सानै थिए । न्यून आयस्रोतबाट जीवन गुजार्नु पथ्र्यो ।
भक्तराजका छोरा सत्य र स्वरुपमा सानैबाट बाबाको संगीतको छाप परेको थियो । रगतमै संगीत बोकेर जन्मिएका उनीहरुको सिनेमाको पाश्र्वगायक बन्ने ठूलो सपना थियो । त्यो सपनाले सत्यराजलाई संघर्ष गर्न सक्ने बनायो । आफ्नो सपनाको भारी बोकेर चलेका संगीतकारको ढोकामा दिनभरि कुरेर साँझ रित्तो हात फर्कनुपर्दाको पीडा सँगालेका छन् उनले । खल्तीमा चार रुपैयाँ बोकेर संगीतकारको दैलो धाउने सत्यसँग कुनै समय साँझ घर फर्कंदा ट्याम्पुु भाडा हुँदैनथ्यो । रत्नपार्कमा कुरेर बस्थे आफ्ना टोलबासी र देख्नासाथ साइनो लगाउँथे उमेर अनुसारको अनि आफ्नो भाडा तिरिदिन आग्रह गर्थे । उनीसँगै संघर्षमा थिए– उनका भाइ गायक स्वरुपराज आचार्य पनि ।
दिनभरि पानी समेत नखाई संगीतकारको दैलो धाउने सत्य–स्वरुप आज देशका चर्चित गायक–संगीतकार तथा गीतकारका रुपमा स्थापित भएका छन् । समयकै कुरा हो, यसले मान्छेको आकार निर्माण गरिदिन्छ । उनीहरुलाई पनि समयले स्पात बनायो । हिजोको त्यो संघर्षले आज सानातिना दुःखले कुनै असर नगर्ने सत्यको अनुभव छ । सत्य–स्वरुपको संघर्ष हेरेका नवराज लम्सालले ‘सत्य–स्वरुप त्यो चम्किलो ढुंगा हुन् जो दुःखैदुःखले टल्किएको छ’ भन्ने उक्ति नै निर्माण गरेका थिए ।
सत्य-स्वरुपको बदमासी
नेपाली सांगीतिक क्षेत्रमा बलियो छाप छोड्न सफल गायक सत्य र स्वरुपको उमेर अन्तर केवल दुई वर्ष रहेको छ । त्यसैले उनीहरुले बाल्यकालमा गर्ने हर चञ्चलता एकै प्रकारका थिए । साथी जस्तै हुर्किएका यी दाजुभाइ मिलेर हल्ला गर्थे, मिलेर बदमासी गर्थे र मिलेर फाँड्थे छिमेकीका बगैंचा पनि । तर, सत्यलाई त्यो बाल चञ्चलतालाई कसरी बदमासी बनाउने भन्ने हरबखत लागिरहन्थ्यो ।
हरेक क्षण अँगालो हालेर हिँड्ने यी दाजुुभाइमा सानासाना कुरामा मतभेद पनि खुबै हुने गथ्र्यो । आमाले स्वरुपलाई खाना अलि बढी पस्किदिएको निहुँमा सत्य त सत्यलाई अर्कै रङको लुगा किनिदिएको विषयमा स्वरुप बाबाआमासँग झगडा गर्थे । त्यसैले पनि पितामाता उनीहरुलाई एकै रङका लुगा किनिदिन्थे । तौलेर खाना पस्किदिन्थे ।
गायक सत्यराजको भाषामा भन्ने हो भने सत्य–स्वरुप जस्तो उद्दण्ड बच्चा आजसम्म कोही छैनन् । दाजुभाइ मिलेपछि एउटा होइन तीन तला पूरै हल्ला गर्थे । बाल्यकालमा फिल्म हेर्न सौखिन यी दाजुभाइले त्यसका लागि पनि निकै बदमासी गरेका छन् ।
फिल्म खुब हेर्नु पर्ने, तर सधैं पैसा हुँदैनथ्यो । त्यो समय हलमा एउटै फिल्म सयौं दिन चल्थ्यो । प्रायः हाउसफुल चल्थ्यो । उनीहरु ‘फ्रि’मा पनि लक्जरीमा बसेर फिल्म हेर्न चाहन्थे । त्यही चाहनाले सिनेमा घरका मान्छेले उनीहरुको टाउकोमा कयौं पटक टुटुल्को उठाइदिए । कतिपटक पूरा पैसा हुन्थेन, भाइलाई फिल्म हेर्न हलमा पठाएर आफू बाहिर छट्पटिँदै बस्थे ।
त्यो समय हलमा फिल्म चल्ने बेलामा ‘श्रीमान् गम्भीर नेपाली’ बज्थ्यो । राष्ट्रिय गानको धुनसँगै सबै उठ्थे र त्यही मौका छोप्थे सत्य–स्वरुप । स्वदेशगान सकिन्थ्यो र हलवाला टिकट खोज्दै आउँथ्यो, हलभित्रै कसैलाई आफन्त बनाउँथे र टाँसिन जान्थे । हलवाला निस्कन्थ्यो उनीहरु फ्रिमा फिल्म हेर्थे र निस्कन्थे । दुवै दाजुभाइले सँगै फिल्म हेर्न नपाएको दिन साँझ घर फर्किंदा हेर्नेले फिल्मकै शैलीमा कथा भन्दै जान्थे ।
सत्यको जित्नै पर्ने स्वभाव
सँगै हुर्किएका सत्य–स्वरुप खेल्थे पनि एकैसाथ । उनीहरुले खेल्ने खेल एकै हुन्थे । सत्यभन्दा स्वरुप कम बद्मास थिए । तर, सत्यलाई मैले जित्नै पर्छ भन्ने भावना थियो । उनी खेलमा झेली गरेरै भए पनि भाइसँग जित्थे । तर, जति जिद्धि भए पनि सत्य सानैबाट म दाइ हूँ, ममा भाइप्रतिको जिम्मेवारी छ भन्ने भावना पनि रहन्थ्यो ।
खाजा खाने बेलामा भाइलाई बोलाउँथे । त्यहाँ पनि सुरु हुन्थ्यो त्यही बद्मासी । खाजा खाने पैसा हुँदैनथ्यो, त्यसपछि सुरु हुन्थ्यो छिमेकीका बगैंचा फाँड्ने काम । कसको बगैंचामा के फलेको छ, दाजुभाइ मिलेर चोर्न जान्थे । अरुका बगैंचामा गएर बद्मासी गर्दा सधैं जोगिने कुरा हुँदैनथ्यो, कयौं पटक फसे यी पनि । गाली खान्थे, कुटाइ खान्थे । तर, अर्को दिन भोकाउँदा सबै बिर्सन्थे र पस्थे फेरि तिनै बगैंचामा ।
बाबु भक्तराजको सपना र सत्य-स्वरुपको बाटो
भजन शिरोमणि भक्तराज आचार्यको पाश्र्व गायक बन्ने ठूलो सपना थियो । जम्मा तीन वटा फिल्ममा गाउन भ्याएका भक्तराजको भागमा पाश्र्व गायनको फिल्म संख्या बढेन । समयले उनलाई पाश्र्व गायन मात्रै होइन गीतै गाउन नसक्ने बनाइदियो । पछि उनैका छोराद्वय सत्य र स्वरुप गायनको बाटोमा लागे । पाश्र्व गायक मात्रै भएनन्, नेपाली आधुनिक गीतसंगीतको एउटा दरिलो खम्बा नै बनेर उभिए । आफूले देखेको सपना छोराहरुले पूरा गरेको देखेर हिजोआज आफैंले त्यो सब गरे झैं गर्व गर्छन्– भक्तराज ।
लगभग २५ देश घुमेका सत्य–स्वरुपका पिताको पनि विभिन्न देश घुम्ने रहर थियो । तर, वैदेशिक यात्राको बाटो कोर्न नसकेका भक्तराज छोराले घुमेको देशमा आफैं घुमेर आए झैं महसुस गर्छन् । धेरै नेपालीले कल्पना गर्ने जीवन बाँचेका छन् छोराहरुले । उनी त्यसैमा सन्तोष गर्छन् र छोराहरुमा गर्व गर्छन् ।
आमा त सत्य–स्वरुपको जीवनको पथप्रदर्शक नै हुन् । सानैमा बाबुको दुर्घटनापछि छोराहरुलाई सम्हालेर सही बाटोमा लैजान आमाले धेरै दुःख गरेकी छन् । आमा नहुनु भएको भए आफूहरु बिग्रिएर जान्थ्यों होला भन्ने सत्यलाई अहिले पनि लागिरहन्छ ।
भक्तराजको छोरा नहुँदा हुन् त सत्य–स्वरुपको रगतमा संगीत हुन्थ्यो या हुँदैनथ्यो, भन्न सकिन्न । नशामा अर्कै संरचना बोकेर दौडिएका सत्य-स्वरुप फरक पेशामा जान सक्थे । तर, गायकको छोरा भएरै मात्र पनि कहाँ हुन्छ र ? उनीहरुमा संगीतप्रति लगाव नहुँदो हो त आजको यो उचाइ चुम्न सक्दैनथे ।
पहिलो संगीत गुरु पिता
पिता भक्तराजको सांगीतिक छत्रछायाँमा हुर्किएका सत्य–स्वरुपले संगीतका केही आधारभूत ज्ञान पिताबाटै सिके । तर, उनीहरुले लामो समय पितासँगै बसेर रियाज गर्न पाएनन् । चक्लेट र केही पैसामा आफ्ना पिताको गीत गाएर सुन्न चाहनेलाई सुनाउने यी दाजुभाइले आफ्ना पितासँग राम्रोसँग संगीत सिक्नै पाएनन् ।
सत्य जम्मा १२ वर्षका थिए पिता भक्तराजले आफ्नो सांगीतिक यात्राबाट विश्राम लिनुपर्यो । त्यसपछि बाबुसँगै पलेँटी कसेर बसेर सिक्ने सौभाग्य मिलेन उनीहरुलाई । पिताजीबाट जति सिके त्यसपछि स्वरुपराजले भने स्वाध्यायन गर्न थाले । सत्यले भने अनुराग विश्व विद्यालयमा राम सिटौला, श्याम सुन्दरसँग संगीतका विविध सुरताल सिके ।
दाजुभन्दा पहिला चलेका गायक स्वरुप
सत्यराजलाई आफ्नोभन्दा भाइ स्वरुपराजको स्वर निकै मीठो लाग्छ । स्वरुपको स्वरमा अर्कै खालको मिठास भएको बताउने सत्यलाई स्वरुप असल गायक हो भन्ने विश्वास छ । रेकर्डका हिसाबले स्वरुपले भन्दा सत्यले पहिला गीत रेकर्ड गराएका हुन् । तर, सत्यभन्दा स्वरुप गायकका रुपमा पहिले चलेको सत्यराज बताउँछन् ।
स्वरुपराज राम्रो गायक, संगीतकार त हुँदै हुन् त्यसमाथि पनि उनी दूरदर्शी भएको सत्यको भनाइ छ । सत्यको परिभाषामा स्वरुप रिजर्भ मान्छे हुन् । उनी तौलेर बोल्छन्, तौलेर सोच्छन् । सत्यको ठम्याइमा हरेक कुरामा राम्रो सेन्स भएको मान्छे हुन्– स्वरुपराज ।
रसिक सत्यराज
सत्यराज रसिक पनि छन् । उनलाई खुब रमाइलो गर्नु पर्छ । उनको हरेक मान्छेसँग एकै खालको सम्बन्ध हुन्छ । हाकिमदेखि कार्यालय सहयोगीसम्मलाई उत्तिकै आत्मीयता दर्शाउँछन् । रसिक सत्यराज कुनै समय आशा भोसलेका गजल सुनेर उनीसँगै विवाह गर्ने सपना देख्थे ।
प्रेम समर्पण, त्याग सबै थोक हो भन्ने सत्यले राम्री केटी देख्दा मेरो गर्लफ्रेन्ड अथवा श्रीमती भैदिए हुन्थ्यो भनेर धेरै पटक कल्पना गरे । माधुरी दीक्षित त अहिले पनि उनलाई मन पर्छ । जिन्दगीमा उनले धेरै जनालाई मन पराए होलान्, तर प्रेम भने अनिता (सत्यकी श्रीमती) मा पोखियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।