नेपाललाई दोस्रो अध्यक्ष नदिने ओलीको संकेत

नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद अब कता जान्छ भन्ने बुझ्न शनिबार काठमाडौंमा भएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समर्थित विभिन्न भेलामा आएका अभिव्यक्ति नै काफी छन् ।

काठमाडौंमा शनिबार विहानैदेखि एमाले एकताका लागि विभिन्न प्रयासहरु भएका थिए ।

शनिबार विहान एकताको प्रयास गर्न केही नेताहरु बालकोट ओली निवास पुगेका थिए भने केही नेताहरु कोटेश्वर नेपाल निवास पनि पुगेका थिए ।

शनिबार नै सिंहदरबारमा यसअघि विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरुले छलफल पनि गरे । 

काठमाडौं जिल्ला कमिटी बैठकमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले सम्बोधन गरे । त्यस्तै, शनिबार नै काठमाडौंमा अखिल फोर्सले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरे ।

नेपालले सम्बोधन गरेको यो कार्यक्रममा उनीनिकट नेतृ रामकुमारी झाँक्रीले पनि सम्बोधन गरेकी थिइन् । सम्बोधनमा झाँक्रीको बटमलाइन थियो– अध्यक्षबाट ओलीले राजीनामा दिए मात्र नेकपा एमालेको एकता हुन्छ ।



उता, काठमाडौं जिल्ला कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीबाट अलिक पहिले नै हटाउनु पर्नेमा अहिले हटेको झन् राम्रो भएको बताएका छन् ।

‘यस्ता मान्छेबाट पार्टीले उन्मुक्ति पाउनु जरुरी थियो,’ ओलीले त्यो कार्यक्रममा भने, ‘पार्टीमा समस्या खडा गर्ने व्यक्तिहरुबाट पार्टीले समयमा नै उन्मुक्ति पाउनु आवश्यक हुन्छ ।’



ओलीले नेपालले समस्या खडा गरेको दाबी गरिरहेका थिए भने झाँक्री र नेपालले ओली अहिले पार्टीको मात्र नभएर मुलुकको राजनीतिकै लागि समस्या भएको दाबी गरे । 
‘फेरि पनि प्रधानमन्त्री बन्न पाउँछु भनेर जालझेल गरिरहेका छन्,’ नेपालले आफ्नो सम्बोधनमा भने, ‘केही जालझेल नहोस्, जे हुन्छ त्यो पारदर्शी रुपमा होस् ।’

शनिबार विहान यसअघि नै विघटन गरिसकिएको कार्यदलको बैठकमा छलफल भएको एक अजेन्डा थियो– ओली र नेपाललाई मिलाउने, भेटको वातावरण मिलाउने । 

केही दिनअघि नै ओलीले आफूले पार्टी एक बनाउन नेपाललाई समान हैसियतको अध्यक्ष दिन तयार रहेको बताएका थिए । यही विषयमा आजको कार्यदलको बैठकमा छलफल पनि भएको थियो । ‘१० बुँदे सहमति र दुई अध्यक्षको विषयमा चर्चा भयो, यसलाई टुंगोमा पुर्याउन प्रभावकारी रुपमा काम गर्ने छलफल भयो,’ बैठकपछि एमाले सचिव गोकर्ण विष्टले भनेका छन् ।

तर, काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले भनेका छन्, ‘१५ वर्ष पार्टी प्रमुख भएर पार्टी चलाएका माधव नेपाल प्रमुखविहीन भएपछि समस्या खडा गरिरहेका छन् ।’ उनी यतिमै रोकिएनन् । उनले थपे, ‘अनि मसँग अध्यक्षमा हारेका उनले अहिले अध्यक्ष चाहियो भनेका छन्, हिजो हारेका मान्छेले आज अध्यक्ष माग्दैमा पाइन्छ ?’

योसँगसँगै ओलीले पार्टीबाट नेपालले उन्मुक्ति पाउनु पर्ने बताएकाले उनी अहिले नेपाललाई अध्यक्ष पद दिन तयार नभएको लख अब एमालेकै नेताहरुले काट्न थालेका छन् । ‘उहाँले अध्यक्ष पद दिनुहुन्थ्यो भने हिजोको महाधिवेशनको अर्थ नै भएन,’ एमालेका एक नेताले भने, ‘पार्टी एकताका लागि सम्भव भएसम्म उहाँ लचिलो हुनुहुन्छ तर पार्टीको विधान नै फेर्ने वा कुल्चिने कुरा पनि त भएन ।’

अध्यक्ष ओलीले नेपाललाई अध्यक्ष पद दिन नमान्दा फेरि एमाले विवाद चर्किने सम्भावना बढेको विश्लेषण गर्नेहरु पनि धेरै नै छन् ।


  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया