काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस सर्लाही​ जिल्लाका सभापति  नागेन्द्र कुमार रायलाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

हामी १४ औँ महाधिवेशनको मुखमा छौँ । अहिलेसम्म उम्मेदवारी नदिएपछि नेतृत्व कस्तो भन्नेतिर प्रष्ट रुपमा भन्न सकिएको छैन । केन्द्रमा अहिले १०÷१२ जनाको उम्मेदवारीका लागि नाम आइरहेको छ । हामीले छुट्याउनका लागि पनि उम्मेदवार तय हुनुपर्ने हो सुरुमा । कसलाई आफ्नो मत दिँदा नेपाली कांग्रेसलाई राम्रो बाटोमा डो¥याएर लैजाने हो भन्ने अहिलेसम्म फिक्स हुन सकेको छैन् । 

यहाँ पार्टी विवाद छर्लंगै देखिएको छ । विवादका बीच पनि हामीले नेपाली कांग्रेसको इतिहास जोगाउन सक्नेगरी नेतृत्व छनोट गर्नुपर्ने हुन्छ । अहिले वर्तमान प्रधानमन्त्री हुनुभयो, शेरबहादुर दाइ उहाँलाई पहिला पनि सघाएका थियौँ । अहिले विमलेन्द्र निधि र देउवा दाइमध्ये दुई जनाको चक्कर चलिरहेको छ । सायद उहाँहरुमध्ये १ जनामात्र सभापतिका लागि लड्नुहुन्छ जस्तो पछिल्लो राजनीतिक सिनारियोले मैले बुझेको छु । 

युवा नेतृत्वको बहस 
युवा नेतृत्वको बहस चलिरहँदा कतिपयले युवाहरुको स्थान खोजिरहेका छन् भने कतिपयले युवा परिपक्व भइसकेका छैनन् भनिरहेका छन् । राजनीतिमा युवा अथवा बुढा भन्दा पनि हामी छिमेकी मुलुकको कुरालाई याद गरौँ । त्यहाँ लोकतन्त्र भएको धेरै जमाना भइसक्यो । त्यहाँ बुढापाका नै नभई नेता नै नबन्ने जस्तो देखिएको छ । वास्तवमा परिपक्वता भन्ने कुरा उमेरले पनि गराउँछ । 



बाँकी रह्यो हाम्रो नेपालको कुरा, यहाँ रामचन्द्र दाइको पनि उमेर उस्तै हो, शेरबहादुर दाइको पनि त्यस्तै हो । शेखरजी पनि पदमा नरहे पनि उमेरले त लगभग उही भइसक्यो । विमल (विमलेन्द्र) दाइको पनि त्यही हाल हो । नयाँ पुस्तामा म सभापति बन्छु भनेर अहिलेसम्म केही किटानी चलेको छैन । जो पनि भन्छ, म महामन्त्रीमा लड्छु, सहमहामन्त्रीमा मात्रै जान्छौँ भनेको सुनिन्छ । युवा वा बुढापाका कसैले पनि उम्मेदवारी नै नदिँदा कसरी युवा खोजेर ल्याउने ? 

सबैको चाहना युवा नेतृत्व चाहियो भन्ने हो । बुढा नेताहरु अभिभावकत्वमा बसिदिँदा पनि हुन्छ भन्ने साथीहरुको चाहना हो । तर, अहिले १४ औँ अधिवेशनमा युवाहरु आउँछन् भन्ने मैले देखेको छैन । 



परिवारवाद
कांग्रेसमा परिवारवादको कुरा त उठ्छ । तर, मैले त्यस्तो देखेको त छैन । कोइराला परिवार तिरबाट ३ जनाले दाबेदारी दिनुभएको छ । त्यो ३ जनामा पनि १ जनामात्रै उठ्ने एक्सरसाइज भएको देखिन्छ । रामचन्द्र दाइले मैले यति दिनसम्म यो ग्रुपलाई सम्हालेँ, अब मलाई नेतृत्व दिनुस् भनिरहनुभएको हो । मैले यहाँ परिवारवाद त देखेको छैन । 

यो पार्टीमा पहिल्यैदेखि चल्दै आएको बहस हो । नेपाली कांग्रेसजस्तो ऐतिहासिक जिम्मेवारी बोकेको पार्टीमा यस्तो समस्या देखिनुहुँदैन । यदि कसैले पार्टीलाई लामो समय त्याग गरेको छ  भने त्यसलाई हेर्नुपर्ने हुन्छ । मलाई लाग्छ पार्टीमा त्यस्तो समस्या आउँदैन । 

क्रियाशीलता विवाद र महाधिवेशन
कांग्रेसमा क्रियाशीलता विवाद त छ । मेरो व्यक्तिगत दृष्टिकोण के छ भने जुन छानबिन समिति बनाइएको थियो, यो छानबिन समिति वास्तवमा कुन हिसाबले उहाँहरुलाई जिम्मेवारी दिइएको थियो त्यो पूरा गर्न सकेको देखिएन । मेरो नै सर्लाही जिल्लामा पक्ष र विपक्षमा दुईथरी विवाद छ । यदि मिल्ने थियो भने हामी त्यहीँ मिल्थ्यौँ नि त । अथवा यहाँ आइपुगिसकेपछि मैले गल्ती गरेको हो भने मेरो डकुमेन्ट झिकाउनुपर्यो । यदी प्रतिपक्षले आफू ठीक छ भने उसको पनि डकुमेन्ट झिकाउनुपर्यो । सत्य र असत्य छुट्याउनुपर्छ । 

जहिले पनि हामी जाँदा सानो पुर्जीमा टिप्ने अनि भन्ने म मिलाइदिन्छु तपाईंहरु जानुस् । के मिलाउनुहुन्छ उहाँहरु ? यो छानबिन समितिले टाइम पास गर्नुभन्दा बाहेक केही गरेको जस्तो देखिएको छैन । मिडियामा आइसकेको कुरा हो, मेरो जिल्लाको २ नम्बर क्षेत्र जहाँबाट मैले प्रतिनिधित्व गर्छु, त्यहाँ नवीकरणको हकमा विवाद छैन । त्यही अनुसार मैले विवाद सुल्झाएँ । 

तर, नयाँ क्रियाशीलताको विषयमा कस्तो भइदियो भने, सभापति प्रमुख हो भनिएको छ । क्रियाशीलताको विवाद समाधानको लागि त्यहीँबाट आउँछ । जो वडा सभापति छ, उसले ३० वडा क्रियाशील फारम सिफारिस गरेर पठाउँछ । जो वडा सभापति छैन, त्यसको ५५ वटा दर्ता भएको छ । कतिपय वडा सभापतिले पैसा बुझेर, फारम बुझेर पनि काम भएको छैन । 

कतिपय वडा यस्ता छन्, जहाँ क्षत्रीय सभापतिले फारम र पैसा बुझेर अनलाइन गर्दिएनन् । वडा नम्बर ७ मा के भएको छ भने, ६९ वटा फारम वडा सभापतिले सिफारिस गरेर दियो । सिफारिस गर्दा फारम नम्बर पनि माइन्युटमा उल्लेख गरिएको छ । त्यो माइन्युटमा ५८ जनाको नाम आफ्नो मान्छेको नाम राखिदियो । अरु ३० जना थपिदिएर ८० जना सिफारिस गरिदिएको छ । एउटाको नाममा अर्कोको राखेर सिफारिस भइरहँदा पनि यो छानबिन समितिले के हेरेर बस्यो ? खाली लजमा बसेर समस्या समाधान हुन्छ ? 

मेरो क्षेत्रमा के छ भने, ४ वटा वडामा विवाद देखियो । मेरो क्षेत्रमा ४९ वटा वडा छ । अहिले पठाउँदा उहाँले ४९ वटै वडामा विवाद छ भनेर लेखेर पठाउनुभयो । त्यो ४ वटामा मात्र समस्या छ भन्नुपर्थ्यो । जब ४५ वडा छलफलमा फिक्स छ भनेर भनिसकेपछि फेरि ४५ वटामै अल्झाउन पदाधिकारीहरुलाई के जरुरी थियो ? त्यस्ता क्रियाकलाप भएकाले स्वभाविक छ विवाद हुनु । महिनौँदेखि लजमा बसेर छानबिन गर्दा पनि उहाँहरुले केही गर्न सक्नुभएन । 

महाधिवेशन कसरी गर्ने ? 
अहिले महाधिवेशन गर्नैपर्ने संवैधानिक र वैधानिक चुनौती छ । मैले यसअघि पनि भनेको छु । मेरो हिसाबमा अहिले जुन वर्षायामको समय छ, तराईमा त हामी छाता लिएर पनि जान सक्छौँ । तर, पहाडमा एउटा वडाबाट अर्को वडामा जान १ दिन समय लाग्ने ठाउँमा त सम्भव नै छैन । 

तर, मलाई के लाग्छ भने वडा तहको सुरुवात गर्छ होला । त्यसपछि कार्तिक, मंसिरतिर गएर यो सम्पन्न हुन्छ । भदौमा सम्पन्न हुने सम्भावना मैले देखिँन । नेतृत्वलाई हामीले जिल्लाबाट छलफल हुँदा पनि धारणा राखेको थियो । जस्तो कि वकिलहरुको चुनाव भयो, अहिले कोरोनाको तेस्रो भेरियन्ट नेपालमा पनि देखिन थालेको छ । यो अवस्थामा महाधिवेशन गरिएन भने पार्टी नै कोल्याप्स हुने अवस्था छ । सबैलाई मध्यनजर गरेर कुनै वडासम्म सुरुवात पो गर्दिने हो कि ? यी सबै समस्यालाई हेरेर निर्वाचनमा जानुपर्ला, अहिलेको यही समयमा त निर्वाचनको सम्भावना म देख्दै देख्दिनँ ।

(राय नेपाली कांग्रेस, सर्लाहीका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १८:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया