तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन : भारत

शुक्रबार महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै बाहिर आएजस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेको हो ।

‘शुक्रबार गरेको पत्राचारका आधारमा पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाउनुभएको छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले टेलिफोनमा कुरा गर्दै भने, ‘तुइन तर्न नसकेर युवक आफैँ खसेका हुन् । बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । ‘त्यो हाम्रो उद्देश्य पनि होइन’ भन्नुभएको छ ।’

प्रमुख जिल्ला अधिकारी जोशीले भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने सत्य भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको जानकारी दिए । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका जनाएका छन् ।

शुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर नदीमा बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएपछि स्थानीय प्रशासनले शुक्रबार भारतीय एसडिएम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानबिनमा सहयोग गरिदिन आग्रह गरेको थियो । शुक्रबार बिहान नदीमा खसेका धामीको अवस्था भने अझै अज्ञात छ ।



उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 



  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २०:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया