भारतीय एसएसबीले तुइन काटिदिएको ठाउँमा ३ वर्षअघि शिलान्यास भए पनि बनेको छैन झोलुङ्गे पुल

दार्चुलाका ३३ वर्षका जयसिंह धामीका सपना जुन थिए, ती एउटा तुइन र भारतीय एसएसबीका जवानको अमानवीय हर्कतका कारण चकनाचुर भएका छन् । उनका सपना मात्र कहाँ, अहिलेसम्म उनको जीवन के भएको छ भन्ने पत्तासमेत लागेको छैन ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन चढ्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएपछि महाकाली खोलामा खसेका थिए, धामी । घरबाट दार्चुलाको जिल्ला सदरमुकाम जान हिँडेका थिए उनी ।

यसपटक भारतीय एसएसबीले तुइन काटिँदिदा धामी नदीमा खसेर हराएका छन् तर योसँगै कमजोर बनेको छ, दार्चुलावासीको हिम्मत पनि । किनकि अहिले पनि दार्चुलावासी आफ्नै जिल्लाको सदरमुकाम खलंगा जान तुइन चढ्नै पर्ने र महाकाली पार गर्नै पर्ने बाध्यतामा छन् ।

पछिल्लो समय गरिएको एक सर्वेक्षणअनुसार अहिले पनि देशभर कम्तिमा १४ वटा तुइन प्रयोगमा छन् । नदीहरु तर्न नेपालीहरु तुइनको भर पर्न बाध्य छन् । अनि यी १४ मध्ये महाकालीमा मात्र ११ तुइन रहेको सर्वेक्षणमा देखिएको छ । 

यी तुइन भएका चार ठाउँमा यसअघि नै भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने सम्झौता गरिसकेको छ । 

यही सम्झौतामध्ये एक हो, शुक्रबार घटना भएको तुइनस्थल पनि । शिलान्यास भएर पनि यहाँ पुल बनाउने काम अहिले रोकिएको छ । मालघाट र भारतको पंगाला गस्कु जोड्ने झोलुंगे पुल निर्माण ३ वर्षअघि नै शिलान्यास भएको थियो ।



तर, शिलान्यास मात्र भएको त्यो झोलुंगे पुलको निर्माण अगाडि बढेको नै छैन । ‘तीन वर्षअघि झोलुंगे पुल निर्माणका लागि शिलान्यास गरिएको थियो, तर यसको निर्माण काम चाहिँ अगाडि बढेको छैन,’ स्थानीय नरेन्द्र सिंह धामीले फरकधारलाई बताए ।



  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २२:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया