चलचित्र उद्योगमा बेलाबेलामा कलाकारको सम्बन्धलाई लिएर चर्चा हुने गर्दछ । कलाकारको सम्बन्ध बिग्रनु र फेरि सुधारिनु कुनै नौलो कुरा होइन । केही दिनअघि मात्रै अभिनेता आकाश श्रेष्ठ र पूजा शर्माको चर्चालाई उदाहरणका रूपमा लिन सकिन्छ । अघिल्लो दिन सार्वजनिक कार्यक्रममा सम्बन्ध बिग्रिएको भन्दै रुवाबासी गरेका उनीहरू त्यसको भोलिपल्ट एक कार्यक्रममा सँगै देखिएका थिए ।
यस्ता खालका घटना नेपाली सिने उद्योगमा बारम्बार दोहरिरहेका हुन्छन् । दीपक दीपाको अघिल्लो वर्षमात्रै जीतु नेपालसँग सम्बन्ध चिसिएको थियो । सम्बन्ध बिग्रिएपछि एकअर्काका प्रोजेक्टबाटै निकालिए । तर बाहिर भने उनीहरूले सम्बन्ध नबिग्रिएको बताउन भने छाडेनन् । अहिले भने दीपक, दीपा र जीतुको सम्बन्ध पनि केही सुधारिएको छ ।
पछिल्लो समयमा भने दीपक र दीपासँग भुवन केसीको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको छ । एकअर्काका ब्यानरलाई लिएर उनीहरूबीच सम्बन्ध चिसिएको खबर सार्वजनिक भएको थियो । केही समयअघि केसीले दिएको अभिव्यक्तिलाई लिएर दीपक दीपाको टिमले असन्तुष्टि जनाएको बताइएको थियो ।
तर अहिले आएर यी दुवैले आफूहरूको सम्बन्ध राम्रो रहेको दावी गरेका छन् । उनीहरूले आफूहरूबीच सम्बन्ध बिग्रिएको कुरा अस्वीकार गरेका हुन् ।
दीपाले लकडाउन अघि भुवनको ब्यानरसँग टिमअप गर्ने तयारी भए पनि सम्भव नभएको बताइन् । उनले अहिले पनि उस्तै सम्बन्ध रहेको बताउँदै पुनः टिमअपको तयारीमा रहेको जानकारी दिइन् ।
भुवनले पनि अनमोल र दीपकराज गिरीलाई लिएर चलचित्र निर्माण तयारी गरेको बताए पनि टिमअप भने हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।