खोप आउँछ भण्डारण गर्ने ठाउँ छैन, २ दिनसम्म गाडीमै खोप
विराटनगरमा खोप लगाउन लाइन बसेका सर्वसाधारण।

६ दिनअघि सरकारले प्रदेश १ सरकारलाई कोभिड–१९ भाइरस विरुद्धको खोप पठायो। २ वटा गाडीमा गरेर प्रदेश सरकारलाई १ लाख ७० हजार भाइल भेरोसेल र ४८ हजार भाइल जोनसोन एण्ड जोनसनको खोप थियो। 

खोप त आयो तर  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग खोप राख्ने ठाउँ भएन। खोप भण्डारण गर्ने ठाउँ नभएपछि केन्द्रले जेनेरेटर चलाएर दुई दिनसम्म गाडीमै खोप फ्रिजिङ गरेर राख्यो। 

खोप चलिरहेका हुनाले अलिअलि गर्दै खोप जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयमा पठायो। तर पनि गाडी खाली हुने अवस्था आएन। 

४ वटा बट्टाको खोप एउटा बट्टामा भर्दै तीन दिनपछि गाडी खाली भएको आपूर्ति केन्द्रका प्रमुख शम्भु झाले जानकारी दिए। उनका अनुसार खोप प्याकेजिङ ठूलो भएकाले भण्डारणमा समस्या भएपछि ६ जना कर्मचारी लगाएर बट्टा खाली गर्ने काम भयो। 

अहिले आपूर्ति केन्द्रसँग २ लाख डोज सम्म खोप भण्डारण गर्ने क्षमता छ। धेरै जनसंख्यालाई खोप लगाउनु पर्ने भएकाले खोपको मात्रा बढाएर ल्याउनु अनिवार्य छ। खोप भण्डारण गर्ने ठाउँ नहुँदा निकै समस्या भएको शाहले बताए।

प्रदेश आपूर्ति केन्द्रमा मात्रै यो समस्या छैन। जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय हरुमा पनि यो समस्या छ।  खोप भण्डारण गर्ने ठाउँ नहुँदा जिल्लाले खटाइ–खटाइ खोप लाने गरेका छन्। 



प्रदेशका सुगम जिल्ला मानिएका झापा र सुनसरीमा समेत खोप भण्डारण गर्ने ठाउँ छैन। ती जिल्लामा पनि पटक–पटक गरेर कोरोना विरुद्धको खोप पठाइएको छ।  ‘हामीले एकै पटक पठाउँदा हुने खोप दुई पटक गरेर पठायौँ’ साहाले भने।

कोरोना विरुद्धको खोप भण्डारण गर्ने  मापदण्ड खोप कम्पनी अनुसार फरक–फरक तोकिएको थियो।  तर अहिले  सबै कम्पनीका खोप २ देखि ८ डिग्री सेन्टिग्रेट सम्मको तापक्रममा राख्न सकिने मापदण्ड बनाइएको छ। 



यसरी चिसो स्थानमा राखेको खोप आइट्याग गरेर कोल्ड बक्स(आइस हालेको भाँडा)मा राख्दा २२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। 

२४ घण्टा भित्रमा खोप प्रयोग नभए पुनः रेफ्रिजेनेटरमा राख्नुपर्छ। जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यलयमा खोपकै लागि भनेर रेफ्रिजेनेरटर व्यवस्थापन गरिएको छ। खोप लगाउने केन्द्रहरुमा भने कोरोना खोप राख्ने अतिरिक्त व्यवस्था गरिएको छैन। 

फ्रिजिङ गर्ने साधान नहुँदा खोप केन्द्रमा कोल्ड बक्स र क्यारिङ बक्समा हालेर ल्याउनु पर्ने बाध्यता छ। 

जनशक्तिमा पनि समस्या 

एक जना स्वास्थ्यकर्मीले एक दिनमा १५० जना सम्मलाई खोप लगाउन सक्छन्। खोप केन्द्रमा लाइन मिलाउने दर्ता गरिदिने अन्य थप २ देखि ३ जना स्वयंसेवकको आवश्यकता पर्छ।  

यो बाहेक मापदण्ड अनुसार हरेक खोप केन्द्रमा मेडिकल अफिसरको नेतृत्वमा खोप लगाएपछि हुने अवाञ्छित घटना (एइएफआई ) व्यवस्थापन समिति हुनुपर्छ।

यो समितिले खोप पछि कसैलाई केही समस्या भयो भने उपचार गर्ने काम गर्छ। समितिसँग आवश्यक औषधी समेत हुनुपर्ने प्रावधान छ। तर कोरोना विरुद्धको खोप अभियानमा जनशक्ति नहुँदा हेल्थ असिस्टेन्टको नेतृत्वमा समेत यस्तो समिति बनाइएको छ। 

यस्ता समितिलाई कोरोना खोपपछि हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका उपाय सहित र औषधी पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।  

कोरोनाविरुद्ध खोप लगाउनका लागि प्रदेश सरकारले जनशक्ति तयार पारिसकेको उनले बताए। उनले स्वास्थकर्मी हरुलाई खोपको बारेमा प्रशिक्षण दिइएको बताए। 

भोलेन्टियरलाई समेत यस विषयमा तालिम दिइएको उनको भनाइ छ। एइएफआइको संयोजकमा भने सबै तिर मेडिकल अधिकृत नभएका बस्नेतले स्वीकारे।

उनका अनुसार नियमित खोप लगाउने हरुलाई नै कोरोना विरुद्धको खोपमा परिचालन गरिएको छ। 

‘नियमित खोप कार्यक्रम भन्दा कोरोना खोप फरक हो, कोरोना खोप अभियान भएकाले सबै कुरामा अलि समस्या भएको छ। हामी व्यवस्थापनमा लागेका छौँ’ उनले भने। विविध समस्या बाबजुद पनि खोप अभियानलाई प्रभावकारी बनाउँदै सबै नागरिकलाई खोप लगाउने अभियान जारी रहेको बस्नेतको दावी छ। 

कोल्ड रुम बनाउन दाताको आश

प्रदेश सरकारले खोप राख्नका लागि आवश्यक पर्ने कोल्ड रुम बनाउन खोजेको एक वर्ष भइसक्यो।  नियमित रुपमा काम भएको भए जुलाई सम्ममा कोल्ड रुम बनिसक्थ्यो। तर दाताले आवश्यक उपकरण नपठाउँदा कोल्ड रुम कहिले बन्छ भन्ने टुंगो छैन। 

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख सागर प्रसाईं अगष्ट महिनासम्म कोल्ड रुम बन्ने दावी गर्छन्। दातृ संस्था युनाइटेड नेशन इन्टरनेश्नल चाइल्ड इमरजेन्सी फण्डले आवश्यक उपकरण नपठाउँदा कोल्ड रुम बन्न सकेको छैन। उसले अगष्ट सम्ममा आवश्यक उपकरण पठाउने बचन दिएको छ। 

सरकारले बनाउने भौतिक पूर्वाधार बनिसकेको र उपकरण मात्रै नआएका कारण समस्या भएको आपूर्ति केन्द्रका प्रमुख शम्भु शाह बताउँछन्। 

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई चाहिने ठूलो क्षमताको फ्रिज पनि आउने भनिएको थियो।, त्यो अहिलेसम्म आइपुगेको छैन। 

व्यवस्थापनको समस्याले खोप कार्यक्रम स्थगित 

खोप व्यवस्थापनमा समस्या भएपछि कतिपय पालिकाहरुले खोप कार्यक्रम नै स्थगन गरेका छन्। इटहरी उप महानगरपलिकाले साउन १५ गते सम्मका लागि मापदण्डका आधारमा खोप लगाउने भनेर खोप कार्यक्रमको तालिका सार्वजनिक गरेको थियो। 

व्यवस्थापनमा समस्या भएपछि १३ गतेबाट खोप कार्यक्रम स्थगन गरिएको छ।  आएको भेरोसेलको खोप सकिएको र जोनसनको खोप कति आउँछ भन्ने यकिन नहुँदा कसरी खोप कार्यक्रम सञ्चालन गर्ने भनी उपमहानगरले योजना बनाउन सकेको छैन। 

माग अनुसारको आपूर्ति नभएका कारण पालिकाहरुले खोप कार्यक्रम सञ्चालन गरेका छैनन्। कतिपय पालिकाहरुमा भने मिलेमतोमा मापदण्ड मिचेर पनि खोप लगाइदिएका कारण समस्या भएको छ। 

विराटनगर महानगरपालिकामा मेयर आफैँले आफू निकटलाई रातको समयमा खोप लगाएको आरोप लागेको छ। अहिले विराटनगर महानगरमा छानबिनको माग भइरहेको छ। झापाको बिर्तामोडमा कर्मचारीले खोप लुकाएको प्रमाणित भएपछि खोप कार्यक्रम प्रभावित भएको छ। 

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १५:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया