कोरोना खोप : प्रमाणीकरणलाई क्युआर कोडको तगारो, विदेश जाने नेपाली समस्यामा

सिर्जना थापाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँच घण्टा लाइन लागेर खोप प्रमाणीकरण गराइन् । निकै सास्ती खेपेर कोरोना भाइरस विरुद्धको खोप कार्ड प्रमाणीकरण गराउन सफल भएपछि सिर्जना निकै खुसी भइन् । तर, उनको त्यो खुसी एक दिन धेरै टिक्न सकेन् । 

वैदेशिक रोजगारीका लागि कुवेत जाने तयारीमा रहेकी उनलाई त्यो खोप कार्ड प्रमाणीकरणले भएन । कुवेत सरकारले खोप लगाएपछि ‘क्युआर कोड’ अनिवार्य गरेपछि उनी यतिबेला निकै चिन्तामा छिन् । 

नेपाल सरकारले अहिलेसम्म ‘क्युआर कोड’ जारी गरेको छैन । विदेश उड्ने दिन नजिकिँदै गर्दा उनलाई त्यही चिन्ताले सताइरहेको छ । उनी मात्र होइन, वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका हरेकलाई यही समस्याले सताउन थालेको छ । 

वैदेशिक रोजगारीमा जानका लागि सम्बन्धित देशहरूले खोप प्रमाणीकरण अनिवार्य गरेका छन् । त्यस्तै, केही देशले ‘क्युआर कोड’लाई अनिवार्य गराएका छन् । जसले गर्दा ती देशमा जाने तयारीमा रहेका नेपाली ‘क्युआर कोड’को प्रतिक्षामा छन् । 

सरकारका कारण विदेश जानेले निकै सास्ती खेप्नु परिरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए । सरकारकै ढिलासुस्ती र लापरवाहीको कारण धेरै जनाको फ्लाइट नै छुटेको उनको भनाइ छ ।
 
‘कतारको भिसा आएर उड्ने तयारीमा रहेका धेरैको उडान नै रद्द गर्नुपरेको छ । सम्बन्धित देशले लागु गरेको नियमअनुसार सरकारले तयारी गरेर विदेश जानेलाई सहजीकरण गर्नुपर्नेमा लापरवाही भइरहेको छ’, कावा अध्यक्ष तामाङले भने । 

कतिपय देशले क्युआर कोड अनिवार्य गरेका छन् भने कतिपय देशले परराष्ट्र मन्त्रालयको छापलाई आधिकारिक मानेका छन् । जसले गर्दा वैदेशिक रोजगारीमा जानेहरू, अध्ययनका लागि जाने तयारीमा रहेकाहरू समस्यामा पर्ने गरेको तामाङको भनाइ छ । छिटो र छरितो गर्नुपर्ने काममा अनेकन झन्झटको सामना गर्नुपर्दा कतिपयको फ्लाइट नै रद्द हुने गरेको छ ।



‘खोप लगाउन पनि लाइनमै लाग्नुपर्छ । खोप लगाएपछि प्रमाणीकरण गर्नुपर्छ, त्यसका लागि पनि लाइन नै लाग्नुपर्छ’, कावा अध्यक्ष तामाङले भने, ‘खोप प्रमाणीकरण गरेपछि कतिपय देशले परराष्ट्र मन्त्रालयको छाप पनि अनिवार्य गरेका छन् । कतिपय देशले खोप प्रमाणीकरणलाई पनि ट्रान्सलेसन गर्नु परेको छ । निकै दुख दिइरहेका छन् ।’ 

चार अस्पतालबाट खोप प्रमाणीकरण 
अहिले सरकारले काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट खोप प्रमाणीकरण गर्दै आएको छ । जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पताल गरी चार अस्पताल रहेका छन् । 



विदेशमा अध्ययनका लागि, वैदेशिक रोजगारीका लागि, व्यापार व्यवसाय वा अन्य कामले विदेश जान खोज्ने नेपालीहरूले अनिवार्य खोप लगाएको हुनुपर्छ । त्यतिमात्र नभएर खोप लगाएको प्रमाणित पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले केन्द्रीय स्तरका अस्पतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेको स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । 

खोप प्रमाणीकरणका लागि पासपोर्टको फोटोकपी, खोप लगाएको कार्ड र पासपोर्ट साइजको एउटा फोटो आवश्यक पर्छ । संसारभरका अधिकांश देशले खोप लगाएको व्यक्तिलाई मात्र आफ्नो देशमा प्रवेश दिने व्यवस्था लागु गरेका छन् ।  

खोप लगाएका व्यक्तिका लागि पनि प्रमाणपत्र चाहिँ नेपाल सरकारको केन्द्रीय निकायबाट मात्र जारी गर्न लागिएको हो ।  केही देशले भने खोप प्रमाणीकरणसँगै क्युआर कोड पनि अनिवार्य गरेका छन् । जसले गर्दा खोप प्रमाणीकरण गरेर मात्र पुग्दैन । त्यसका लागि क्युआर कोड पनि अनिवार्य चाहिन्छ । सरकारले भने अहिलेसम्म क्युआर कोड व्यवस्था गर्न सकेको छैन । जसले गर्दा विदेश जाने तयारीमा रहेका धेरै नेपाली समस्यामा परेका छन् । 

प्रधानमन्त्री शेर बहादुर देउवाले तत्काल क्युआर कोड जारी गर्न निर्देशन दिएका थिए । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले तत्काल क्युआर कोड जारी गर्न निर्देशन दिएका थिए । विभागले क्युआर कोड जारी गर्ने तयारी गरेको विभागका निर्देशक डा. पोखरेलले बताए । 

सूचीकृत स्वास्थ्य संस्थाबाट खोप प्रमाणीकरण दिन माग 
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिका लागि कामदारले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । त्यसका लागि कामदारले काठमाडौं आउनैपर्छ । स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले १३१ वटा संस्थालाई मान्यता दिएको छ ।

ती स्वास्थ्य संस्थाबाट नै खोप प्रमाणीकरण र क्युआर कोड जारी गर्न सकिने संघका कार्यवाहक अध्यक्ष तामाङको भनाइ छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप दिने र त्यसको प्रमाणपत्र जारी गर्ने अधिकार सूचीकृत स्वास्थ्य संस्थालाई नै दिन सकिने उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १७:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया