काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस चितवन जिल्लाका सभापति  जितनारायण श्रेष्ठ​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको महाधिवेशन संविधानले दिएको अधिकारलाई प्रयोग गरेर समयमै हुनुपथ्र्यो । अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, कोरोना कहरलगायत कारणले अवस्था सोचेजस्तो छैन । यो अवस्थामा पनि हामीले पार्टीको वैधानिकतालाई जोगाउनैपर्नेछ । त्यसकारण पनि अहिले पार्टीको अधिवेशन गर्नुको विकल्प छैन । 

अहिले देशभरि पार्टीका लाखौँ सदस्य हुनुहुन्छ, त्यतिकै संस्थामा पार्टीलाई माया गर्ने शुभचिन्तक पनि । यो अवस्थामा पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्नुहुँदैन । अप्ठ्यारा परिस्थिति छन् भने फुकाएर अधिवेशन सहमति र सहकार्यको साथ गर्नुको विकल्प छैन । त्यो कुरालाई नेतृत्वले पनि राम्रोसँग बुझ्नुपर्नेछ । दिनदिनै अधिवेशन हुन्छ वा हुँदैन, कहिले हुन्छ भन्नेजस्तो अन्योलमा पार्टीको महाधिवेशनलाई राखिएको छ । यसले आमकार्यकर्ता र पार्टीका शुभचिन्तकमा निराशा पैदा गरेको छ । 

कार्यकर्तालाई निराश बनाउने अधिकार नेतृत्वलाई छैन । महाधिवेशन नगर्ने हो भने कहिले हुन्छ, यो कारणले भएन, त्यो कारणले भएन भनेर अरुलाई दोष देखाउन पाइँदैन । एक–अर्कालाई दोष देखाएर पन्छिने छुट नेतृत्वलाई छैन । त्यसकारण छिटोछरितो ढंगबाट यो विवाद चाँडै अन्त्य गर्न सक्नुपर्छ ।



महाधिवेशन हुँदा हामीले पार्टीलाई विधि, विधानअनुसार चलाउन सक्ने नेतृत्वको खोजी गर्नुपर्छ । पार्टीको महासमितिको बैठक सम्पन्न भयो, महासमितिको निर्णय पनि नेतृत्वले बहन गर्न सकेन । देशभरका साथीले पार्टीको महासमिति बैठकमा दिएको राय-सुझाबलाई लत्याउने काम भयो । यही कारण समयमै अधिवेशन हुन सकेन । 

नेतृत्वले विधि र पद्धतिभन्दा माथि जान खोज्नेलाई हेर्न हुँदैन । नेतृत्व अलोकतान्त्रिक हुने कुरा कांग्रेसमा स्वीकार्य छैन । पार्टीको विधि र विधानलाई पूर्णतः पालना गर्न सक्ने नेतृत्व हुनुपर्छ । विगतमा केही त्रुटि, कमजोरी भयो भने अब आउने नेतृत्वलाई त्यो खालको छुट दिनुहुँदैन । मभन्दा माथि पार्टी छ, पार्टी चल्ने व्यक्तिका कारण होइन, विधि र विधानले हो, पद्धतिले हो भन्ने बुझ्नुपर्छ । किनभने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टी विधिमा चलाउनुपर्छ । हामीले सोहीअनुसारको नेतृत्वको अपेक्षा गरेका छौँ ।



युवा नेतृत्वको बहस

नेपाली कांग्रेसमा बेलाबेलामा युवा नेतृत्वको बहस चलिरहेको छ । युवा नेतृत्व भनेको आफैँमा उमेरमा मात्र युवा भएर हुँदैन । कसले आशीर्वाद दिन्छ, कसले मलाई पद जिम्मा दिन्छ भन्दै पछि लाग्ने समूह युवा होइन । परिश्रम गर्ने, अग्रजलाई सम्मान गर्ने मिहिनेती युवा नै आजको आवश्यकता हो । त्यसकारण उमेरले युवाभन्दा पनि विचारले युवा हुनुपर्यो । जसले आमयुवाको भावनालाई प्रतिनिधित्व गर्न सक्छ, उमेर परिपक्व भएको मान्छे पनि हुन सक्छ, भर्खरको पनि हुन सक्छ ।

तर, उमेरले युवा भन्दै कुद्नु जरुरी देख्दिनँ, म । विचारले युवा र कार्यकर्ताको भावनालाई बुझ्न सक्ने, नेताको वरिपरि घुमेर होइन, परिश्रम गरेर स्थापित हुनुपर्छ । हाम्रो पार्टीमा युवा नभएका होइनन्, तर कुन दाइले के भन्छ, कुन दाइले मलाई दया–माया गरेर नेतृत्वमा पुर्याइदिन सक्छ भन्ने जमात युवा हुन सक्दैनन् । त्यसकारण युवालाई उमेर समूहले भन्दा पनि विचारले चिन्नुपर्छ । 

कांग्रेसमा परिवारवादको बहस

कांग्रेसमा परिवारवाद हाबी भयो भनिन्छ । तर, यो बहस हुनुपूर्व केही कुरा बुझ्नुपर्छ । नेपाली कांग्रेसभित्र कैयौँ स्थापित नेताको पृष्ठभूमि हेर्नुपर्छ । बिपी कोइरालाको सिंगो परिवार जो कांग्रेसप्रति समर्पित भएको छ । जतिखेर नेपाली कांग्रेसका थुप्रै नेता जेलमा थिए, कतिपयको त सिंगो परिवार नै जेलमा थियो । 

चाहे मातृका कोइराला हुन् वा बिपी, उहाँहरुको भूमिकालाई हेर्नुपर्छ । पुरुष मात्र होइन, महिलाका पनि त्यत्तिकै संख्यामा जेलनेल भोगेको परिवार छ । स्वयं बिपीको पिताजीको जेलमै निधन भयो । त्यति मात्र होइन, गणेशमान सिंहको सिंगो परिवार जेलमा थियो । हामी अवसरको कुरा गर्दाचाहिँ परिवारवादको कुरा गर्ने, जेल जाँदा गरेको संघर्षलाई हेर्न नसक्ने हो भने कांग्रेसी कार्यकर्ता भएर हामीले न्याय गर्न नसकेको बुझिन्छ । 

नेताकै छोराछोरी वा नातागोता पार्टीको जिम्मेवार पदमा स्थापित हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । तर, जेलनेल भोगेका, संघर्ष गरेकाहरु जिम्मेवार पदमा पुग्दा भने प्रश्न गर्नुहुँदैन, त्यसलाई सामान्य रुपमा लिनुपर्छ । आशीर्वादकै भरमा फलानोको छोरा वा छोरी भएको भरमा नेतृत्वमा आउनेभन्दा पनि कर्मबाट स्थापित हुनुपर्छ । वंशबाट होइन, कर्मबाट नेतृत्वमा पुग्नुपर्छ । 

कांग्रेस त्यही नीतिमा अडिएको पार्टी हो । वंशका आधारमा चल्ने त राजा–महाराजा हुन् । हामी त्यो पद्धतिबाट मुक्त भएर वा त्यसको विरुद्धमा संघर्ष गर्दै आएकाले कर्ममा विश्वास गर्नुपर्छ । कर्ममा विश्वास गर्ने भनिरहँदा कसैको छोराछोरी हुनु अपराध त भएन । नेताको छोराछोरी भएर कर्म नगरी वा संघर्षमा नहोमिई वंशको मात्र कुरा गर्छ भने त्यसलाई नेपाली कांग्रेसले स्विकार्न सक्दैन । 

कसरी गर्ने अधिवेशन ?

कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा विभिन्न समस्या पनि बढेर गएका छन् । हामीले सुरुमा कांग्रेसको क्रियाशील सदस्य विवादलाई दोष देखायौँ । अब त्यो विवाद ९८ प्रतिशत हल भइसकेको छ । २–३ जिल्ला र केही वडामा समस्या बाँकी छ । ती समस्या इमानदारीपूर्वक विधि र पद्धति मान्ने हो भने सहजै हल गर्न सकिन्छ । त्यसकारण पनि अब क्रियाशीलताकै कारण महाधिवेशन रोकिँदैन ।

अब रह्यो, विश्वव्यापी कोभिडको समस्या । यो कुरालाई नेपाली कांग्रेसले जिम्मेवार ढंगबाट हेर्नुपर्छ । हिजो हामी विपक्षमा थियौँ, आज सत्तामा छौँ । कांग्रेस सरकारमा छ, यो अवस्थामा आफैँले निषेधाज्ञा गर्ने अनि आफैँले तोड्ने गर्नु जायज हुँदैन । पार्टी सभापति प्रधानमन्त्री हुनुभएको छ उहाँले जतिसक्दो चाँडो कोरोना खोप उपलब्ध गराउनतिर लाग्नुपर्छ । कोरोनाको खोप लगाएर भीडभाडमा जाँदा पनि समस्या नहुने वातावरण बनाउनुपर्छ । आज अमेरिकादेखि भारतसम्म किन यो समस्या छैन भने त्यहाँ खोपको पहुँच अधिक छ र संक्रमण नियन्त्रणमा छ । 

अधिवेशन विनातयारी हुनै सक्दैन । हामी तल्लो तहको अधिवेशन गर्दा हजारौँ कार्यकर्तालाई जोखिममा राखेर त्यो गर्न छुट छैन । कांग्रेस सत्ताधारी पार्टी र जिम्मेवार पार्टी भएकाले कार्यकर्ता मरिरहून्, जनता मरिरहून् भनेर महाधिवेशन गर्नतिर लाग्नु कुनै पनि हालतमा हुँदैन । कोरोना खोप पनि उपलब्ध गराउँछौँ र अधिवेशन पनि सँगसँगै लैजान्छौँ भन्नैपर्छ । 

चितवन जिल्लामा निषेधाज्ञा जारी छ, २५ जनाभन्दा बढी जम्मा हुन पाइँदैन भनेर प्रशासनले भनेको छ । अधिवेशन गर्नलाई त निषेधाज्ञा हटाउनुपर्यो । त्यो गर्न अहिले सम्भव छैन, सत्तामा भएका कारण पनि थप जिम्मेवार हुनुपर्यो ।

(श्रेष्ठ नेपाली कांग्रेस, चितवनका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १७:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया