पर्यटन प्रवर्द्धन तथा विकासका लागि बुद्ध एयरले साताको ३ दिन नेपालगन्ज-पोखरा उडान सुरु गरेको छ । पश्चिम क्षेत्रको बाँके र बर्दियालाई लक्षित गरी नेपालगन्ज-पोखरा उडान सुरु भएको हो ।
बुद्ध एयरको उडान नं. ४६२ ले नेपालगन्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको छ । यससँगै नेपालगन्जबासीले वर्षौँदेखि प्रतिक्षा गरेको नेपालगन्ज–पोखरा उडान सुरु भएको छ । पर्यटन प्रवर्द्धनमा नेपालगन्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भव्य स्वागत गरिएको छ ।
अबिर र गम्छासहित स्वागत गर्न पर्यटन प्रवर्द्धनमा सक्रिय रहेका नेपालगन्जका अगुवाहरु एयरपोर्ट पुगेका थिए । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको बुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनीत शाहले जानकारी दिए ।
नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाडा न्यूनतम ४ हजार ९३५, मध्यम ५ हजार ५३५ र अधिकतम ५ हजार ९३५ रुपैयाँ गरी तीन किसिमको भाडादर तोकिएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको र यात्रुहरूको चापका आधारमा निकट भविष्यमा दैनिक पनि उडान हुन सक्ने बुद्ध एयरले बताएको छ ।
यसअघि, दोस्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँगको समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो । पोखरादेखि नेपालगन्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्री गोविन्द झाले बताए ।
नेपालगञ्ज नजिक भारतको ठूलो सहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ ।
नेपालगन्ज-पोखरा पहिलो उडान भरेका क्याप्टेन मनिस पुनले पोखराबाट ३४ मिनेटमा नेपालगन्ज आइपुगेको बताए । नेपालगन्जदेखि पोखराको उडान समय पनि ३५ देखि ४० मिनेटको हुन सक्ने क्याप्टेन पुनले बताए ।
उडानको सुरुवात भएकोमा खुसी हुदै नेपालगन्जका व्यवसायीले यात्रु, विमानका पाइलटसहित कर्मचारीलाई स्वागत गरे । बुद्ध एयरले उडानसँगै टुर प्याकेजसमेत सार्वजनिक गरेको छ । सार्वजनिक टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ रातको योजना छ ।
उक्त योजना १० हजार ९९९ रूपैयाँबाट सुरु हुन्छ । त्यस्तै, नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना १३ हजार ४९९ रूपैयाँबाट सुरु भएको बुद्ध एयरले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।