माओवादीले हटाएका दुई सांसदको रिटमा कारण देखाउ आदेश

एमाले प्रवेश गरेको भन्दै माओवादीले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका दुई सांसदले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाइएका दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ । 

आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै उनीहरुले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ ‘ख’ र गुल्मीको क्षेत्र नं २ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणपत्रका आधारमा निर्वाचनमा लडेकोले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरुले जिकिर गरेका थिए ।



निवेदकहरुको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विजयकान्त मैनाली, ईश्वरी भट्टराई, सुरेन्द्रकुमार महतो, दलबहादुर धामी, डा. नारायण बेलवासेलगायतले बहस गरेका थिए । 

नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र मुक्ति प्रधानले बहस गरेका थिए ।



  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार २१:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया