मकवानपुरमा बेपत्ता मानिसको संख्या बढ्दै

मकवानपुर जिल्लामा मानिस बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखाका अनुसार जिल्ला प्रहरीमा मानिस हराएको भन्दै निवेदन दिनेको संख्या बढ्दै गएको छ । शाखा प्रमुख प्रहरी निरीक्षक चूडा खड्काका अनुसार पछिल्लो एक वर्षमा हराएका २५ जना व्यक्ति अझै बेखबर छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बेपत्ता हुने संख्या बढेसँगै निवेदन​को संख्या पनि बढेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा बेपत्ता हुनेको संख्या बढेको देखिन्छ । 

मकवानपुरमा गत आर्थिक वर्ष २०७७/०७८ मा २ सय ८६ जना बेपत्ता भएका थिए । यस आर्थिक वर्षमा २ सय ५९ जना फेला पर्न सफल भएका छन् । बेपत्ता भएका मानिसमध्ये अझै २५ जना फेला नपरेको प्रहरीले जनाएको छ । 

यो तथ्यांक अघिल्लो वर्षको भन्दा १० जना बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ सय ७६ जना बेपत्ता भएकामध्ये २ सय ६१ जना फेला परेका थिए । अघिल्लो आर्थिक वर्षका हराएकामध्ये १५ जना अझै फेला परेका छैनन् ।

गत आर्थिक वर्ष २०७७/७८ को महिनागत तथ्यांक अनुसार श्रावणमा महिला २२ जना बेपत्ता भएकामध्ये जिल्ला प्रहरी कार्यालयले २१ जना फेला पारेको छ । भदौ महिनामा ७ जना बेपत्ता भएकामा सातैजना फेला पार्न सफल भएको छ । यसैगरी असोज महिनामा २५ जना बेपत्ता भएकामध्ये २३ जना फेला परेका छन् । २ जना अहिलेसम्म पनि फेला पार्न सकिएको छैन ।  

कार्तिकमा महिनामा २२ जना बेपत्ता भएकामध्ये २१ जना फेला परेका छन् । मंसिरमा २३ जनामध्ये २२ जना फेला परेका छन् । यसैगरी, पुसमा २८ जनामध्ये २६ जना फेला परेका छन् । माघमा २१ जनामध्ये १८ जना फेला परेका छन् । 



फागुन महिनामा ३३ जनामध्ये ३१ जना फेला परेका छन् । चैत्र महिनामा ३२ जना मध्ये २८ जना फेला परेका छन् । त्यस्तै, वैशाखमा महिनामा ४० जनामध्ये ३४ जना फेला परेका छन् । यसैगरी  जेष्ठ महिनामा १३ जनामध्ये १३ जना नै फेला परेका छन् भने आषाढ महिनामा २० जनामध्ये १७ जना मात्रै फेला परेका छन् । 

दिनहुँ आउँछन् निवेदन



मकवानपुरमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही पत्नी र बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन आउने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला र बालबालिका बेपत्ता भएको निवेदन दैनिक रुपमा बढ्दो रहेको केन्द्र प्रमुख प्रहरी निरीक्षक चूडा खड्काले जानकारी दिइन् । खड्काका अनुसार जिल्लाका सहरी र ग्रामीण क्षेत्रका बासिन्दाको कमजोर आर्थिक स्थिति, घरायसी समस्या र चेतना अभावले गर्दा मानिस हराउने गरेको देखिन्छ । 

प्रहरी निरीक्षक खड्काका अनुसार कोही परिवारसँग पूरै सम्पर्कविहीन भएर हराएको देखिन्छन् भने अधिकांश परिवारले शंका गरेकै कारण व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् । घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारण  महिलाहरु  हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । आफ्नो परिवार हराएपछि जिल्ला प्रहरी कार्यालयमा गुहार माग्दै खोजबिन गरिदिन निवेदन दिने गरेका छन् । तर, हराएको व्यक्ति घर फर्केपछि प्रहरीलाई जानकारी नदिँदा पनि तथ्यांकमा धेरै देखिएको छ ।

  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार २२:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया