जारी टोकियो ओलम्पिकमा पुरुष तर्फको १०० मिटर दाैडमा इटालीका लेमोन्ट मार्सेल जाकोबले स्वर्ण पदक प्राप्त गरेका छन् ।
उनले आइतबार १०० मिटरको दूरी ९.८० सेकेन्डमा पार गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।
अमेरिकाका फ्रेड कर्ले दोस्रो स्थानमा रहे । उनले ९.८४ सेकेन्डमा दूरी पार गर्दै रजत आफ्नो नाममा पारे ।
यसै गरी क्यानडाका आन्द्रे डी ग्रासले ९. ८९ सेकेन्डमा दूरी पार गरी कास्य पदक जिते । यससँगै ग्रासले लगातार दोस्रो ओलम्पिक कास्य पदक हात पार्न सफल भए ।
जाकोब पहिला लङ जम्पका खेलाडी थिए । सन् २०१८ देखि भने उनी १०० मिटर रेसमा दौडिन सुरु गरे ।
ओलम्पिक १०० मिटर दाैडमा सन् २००८ पछि स्वर्ण जित्ने जाकाेब पहिलाे खेलाडी बने । पछिल्ला तीन संस्करणका ओलम्पिकमा १०० मिटर दाैडकाे स्वर्ण जमैकाका धावक उसेन बोल्टले आफ्नो नाममा राखेका थिए ।
१०० मिटरमा विश्व कीर्तिमान भने बोल्टकै नाममा छ । उनकाे रेकर्ड कसैले ताेड्न सकेकाे छैन । उनले सन् २००९ को विश्व च्याम्पियनसिपमा ९.५८ सेकेण्ड र २०१२ को लण्डन ओलम्पिकमा ९.६३ सेकेण्डमा सय मिटर दूरी पार गरी विश्व कीर्तिमान राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।