धुलिखेल जिपलाइनमा पर्यटकको चाप

धुलिखेल जिपलाइन पुनः सञ्चालनमा आएपछि साहसिक खेलप्रेमीका लागि गन्तव्य बनेको छ । कोरोना महामारीको दोस्रो निषेधाज्ञापछि सञ्चालनमा आएको जिपलाइनले २० प्रतिशत छुट दिएसँगै खेलप्रेमीहरूको संख्या बढेको छ ।

वर्ल्ड वाइड एडभेन्चरले धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा ल्याएको छ। शनिबार बिदा भएका कारण युवापुस्ताको चाप बढी हुने गरेको कम्पनीले जनाएको छ । गत शनिबार मात्रै करिब १०० जनाले जिपलाइन खेलेकाे कम्पनीका सिइओ भुपेस श्रेष्ठले बताए । उनका अनुसार दैनिक ३०/४० जनाले जिपलाइन खेल्न धुलिखेल पुग्ने गरेका छन् ।

जिपलाइन जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सन्चालन गरिएको श्रेष्ठको भनाइ छ । सामान्यतया क्लासिक जिपलाइनको २ हजार ५०० रुपैयाँ रहेको छ । अहिले २० प्रतिशत छुट दिएसँगै २ हजार रुपैयाँ रहेको छ । सुपरम्यान जिपलाइनको ३ हजार ५०० मा छुट गरी २ हजार ८०० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५०० मा छुट गरी ३ हजार ४०० कायम गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार जिपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत आकर्षक छुट दिइएकाे छ।

काठमाडौंबाट बिदाका दिन घुम्न जानेहरूका लागि धुलिखेल नजिकको गन्तव्य हो । काठमाडौंबाट करिब ३३ किलोमिटर दूरीमा रहेको धुलिखेलमा जिपलाइनको उत्सुकता र रहर पुरा गर्नका लागि पनि युवा पुस्ताको बाक्लो उपस्थिति हुने गरेको छ । युवापुस्ताका साथै निजामती कर्मचारीसमेत जिपलाइन खेल्न जाने गरेका छन् । 

विसं २०७५ फागुनदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको धुलिखेल जिपलाइन धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई पाँचखालकाे खावामा जिपलाइनको ल्यान्डिङ हुन्छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

जिपलाइनमा सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठको लगानी छ । धुलिखेल जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क यसका मुख्य परियोजना हुन् । जिपलाइनको भर्टिकल ड्रप २४० फिट रहेको छ भने ७० किलोमिटर प्रति घण्टाको औसत गति छ । 



व्यक्तिको तौल, हावाको गति र बहाव अनुसार औसत समय १ मिनेट २० सेकण्डमा जिपलाइन गर्न सकिन्छ ।  युरोपीयन सुरक्षा मापदण्डमा आधारित भइ भारतीय प्राविधिकद्वारा निर्माण गरिएको जिप लाइनका लागि  १६ वर्ष उमेर पुगेको हुनु पर्नेछ । १६ वर्षमुनिका लागि भने अभिभावकको सहमति चाहिन्छ ।

सुपरम्यान जिपलाइन र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो ।  नेपाल सरकारको नियम अनुसार दुर्घटना बिमा पनि गरिएको छ । जिपलाइन गर्ने क्रममा लाङटाङ, दोर्जेलाक्पा, फुर्बीच्याचू लगायताका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 



रूखमाथि रिसोर्ट 

जिपलाइन धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई पाँचखालको खावामा ल्यान्डिङ हुन्छ । ल्यान्डिङ स्टेसनमा ८ कोठासहित सुविधा सम्पन्न रिसोर्ट बनाइएको छ । पर्यटक तथा आगन्तुकले ट्रिअप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको रेस्टुरेन्ट) छ । ल्यान्डिङ स्टेसनमा करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क पनि निर्माण गरिएको छ ।

एड्भेन्चर पार्कमा बेबी जिपलाइन, भी सेप ब्रिज, टायर ब्रिज, प्लेइङ ब्रिज, ब्रह्मा ब्रिज, हाइ रोपमा रमाउन सकिने व्यवस्था छ । सबै परियोजनाको कुल लागत ५ करोड रहेको छ । 

विदेशीका लागि फरक मूल्य

सार्क देशका नागरिकका लागि क्लासिक (साधारण) जिपलाइनमा ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर शुल्क तोकिएको छ । सुपरम्यान जिपलाइनका लागि सार्क देशका नागरिकलाई ४० डलर र अन्यका लागि ४५ डलर छ । यस्तै टेन्डम जिपलाइनका लागि सार्क देशका नागरिकका लागि ५० डलर र अन्य देशका नागरिकका लागि ६० डलर शुल्क छ ।
 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १२:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया