[टिप्पणी] राजनीतिक रडाको

नेपालका राजनीतिक दलभित्र ‘रडाको’ कहिल्यै निको नहुने रोगका रूपमा स्थापित छ । विगतका कुरा थाती नै राखेर वर्तमान अवस्थामा मूलधार र साना-मझौला आकारका राजनीतिक दलभित्र मौलाएको रडाकोका कारण नै राष्ट्रिय मुद्दाहरू ओझेल परेका हुन् । दल चाहे सत्तामा रहेका हुन् वा विपक्षी अथवा नयाँ र साना नै किन नहुन्, तिनमा आन्तरिक रडाँको जारी छ । तर, ती रडाकाहरू राष्ट्र, जनता र सिद्धान्तमा आधारित नभई ‘जुँगाको लडाइँ’मा केन्द्रित छन् । पद र शक्तिको वरिपरि ती रडाकोले परिक्रमा गरिरहेका छन् । 

सत्तारुढ नेपाली कांग्रेस

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशले हटाइदिएपछि सत्तामा पुग्यो नेपाली कांग्रेस । देशको राजनीतिक समीकरणका आधारमा कांग्रेस स्वयमले नै सत्तामा पुग्ने कल्पना नगरिरहेका बखत त्यो पार्टीले सत्ता सयर गर्न पाएको हो । यसमा कांग्रेसको भन्दा बढी भूमिका ओलीको अहम् र त्यसलाई निस्तेज पार्न कम्मर कसेर लागिपरेका एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको हात रह्यो ।

यो अकल्पनीय ढंगमा परिवर्तन हुन पुगेको राजनीतिक समीकरणले कुर्सीमा पुर्‍याइदियाे कांग्रेस सभापति शेरबहादुर देउवालाई । देउवा यो मुलुकमा पाँचौ पटक प्रधानमन्त्री बन्ने भाग्यमानी पुरुष बन्न पुगे । आफूलाई लोकतन्त्रको पहरेदार दाबी गर्ने कांग्रेसमा आन्तरिक लोकतन्त्र सधैं कमजोर रह्यो । अहिले त्यो दलमा देखिने गरी दुई धार छन्- देउवा र अर्का नेता रामचन्द्र पौडेलका । देउवा प्रधानमन्त्री बन्दा उतिविधि खुसी नभएका पौडेलले सरकारमा आफ्नो गुटको उपप्रधानमन्त्री हुनुपर्ने माग गर्नुले नै त्यो पार्टीमा मौलाएको गुटबन्दी उजागर हुन पुग्छ ।

कांग्रेसले अबको एक महिनामा पार्टीको महाधिवेशन गर्नै पर्ने छ । तर, त्यो पार्टी महाधिवेशनमा भन्दा बढी सत्ताको लुछाचुँडीमा केन्द्रित छ । पार्टीको आन्तरिक लोकतन्त्र बलियो पार्न अत्यावश्यक आवधिक महाधिवेशन गर्न सक्ने अवस्थामा कांग्रेस अब छैन । पार्टीमा दृश्यमै दुई गुट छन् भने अदृश्यमा कृष्णप्रसाद सिटौलासमेत अर्कै गुट निर्माणमा खटिएको लामो समय भइसकेको छ ।

गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको निधनपछि देउवाकै हातमा पार्टी सभापति पद रहँदै आएको छ । भदौ १६ मा हुनुपर्ने महाधिवेशनमा पनि उनैले सभापति पदमा चुनाव लड्ने पक्का भइसकेको छ । पार्टीमा उनको पकड बलियो रहेकाले सभापति अझै पनि देउवा नै हुने अनुमान गर्नेको संख्या ठूलो छ । तर, उनले पार्टीको सर्वोच्च पद ओगटिरहँदा पार्टीभित्र असन्तुष्टि चरममा पुगेको छ । देउवाले पार्टीलाई सहज र लोकतान्त्रिक ढंगमा सञ्चालन गर्न सकेको देखिँदैन । यही कारण पनि पार्टीको १४औँ महाधिवेशनमा ११ जना सभापति पदको आकांक्षी देखिएका हुन् ।



प्रमुख प्रतिपक्षी नेकपा एमाले 

पछिल्लो समय सबैभन्दा बढी पार्टीगत रडाको भोगिरहेको दल हो- नेकपा एमाले । पार्टी अध्यक्ष ओलीको सनकका कारण दुईतिहाइ नजिक रहेको यो दल हालै सत्ताबाट पर मिल्किएको हो । अध्यक्ष ओलीमा बढ्दो अहम्, गुटबन्दी, सहयात्री (माधवकुमार, झलनाथलगायत)लाई अपमान गर्ने आदतजस्ता कारणले पार्टीमा यतिखेर मतभेद चुलिन पुगेको छ । अवस्था कस्तो छ भने, कुनै पनि समय पार्टी नै फुट्न सक्छ । 



ओलीले हुँदोखाँदो संसद् भंग गर्ने प्रयास दुई पटक गरे । दुवै पटक उनको प्रयासलाई सर्वोच्च अदालतले विफल पारिदियो । त्यतिमात्र होइन, उनले अनावश्यक विषयमा विधेयक पेश गर्दै त्यसकै आधारमा मुलुक सञ्चालन गर्ने प्रयत्नसमेत गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीबाट जस्तोसुकै प्रस्ताव लगिए पनि सहजै स्वीकार गरिदिनाले पनि ओली स्वेच्छाचारी बन्दै गए । यो कुरा पार्टीका कतिपय जिम्मेवार नेतालाई मन परेन । यही कारण पछिल्लो पटक ओलीले गरेको संसद् विघटनविरुद्ध उनकै पार्टीका २३ सांसद उभिन पुगे । 

पाँच पार्टी मिलेर कूल १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा परेको उजुरीलाई वैधानिक सफलता मिल्यो र ओली पदच्युत हुन पुगे । त्यसपछि आफ्नै दलको प्रधानमन्त्री हटाएर कांग्रेसलाई मद्दत गरेको भन्दै माधव नेपाललगायतलाई अध्यक्ष ओलीले विभिन्न कारवाही गर्न थाले । माधव गुटलाई देशद्रोही, गद्दार, अपराधीजस्ता विशेषण लगाएर गाली गर्न थाले । यो क्रम अहिले पनि जारी छ । त्यसकारण त्यो दल फुटको नजिक पुगेको हो ।

ओली जहिलेदेखि पार्टीको सर्वोच्च तहमा पुगे, त्यही समयदेखि नै पार्टीमा आन्तरिक रडाको मच्चिन थालेको देखिन्छ । उनले पार्टीका सहयात्री र विगतमा संघर्ष गरेका नेतालाई किनारमा धकेल्ने काम गर्दै आए । अरूको त्यागको मूल्यांकन गर्ने संस्कार उनमा पटक्कै देखिएन । त्यसकारण पार्टीभित्रैबाट उनको नेतृत्वको सरकार ढाल्ने काम हुन गयो । अहिले त्यो पार्टी विभिन्न गुट-उपगुटमा विभक्त छ । 

सत्तारुढ माओवादी

दशक लामो सशस्त्र संघर्ष गरेर मूलधारे राजनीतिमा हामफालेको माओवादीप्रति धेरै नेपालीको विश्वास थियो । अब यो एक राजनीतिक दल बन्ने छ र देशविकासले गति लिने छ भन्दै बस्नेको संख्या ठूलो थियो । तर, यो दलभित्र पनि पुराना राजनीतिक दलमा जस्तै आन्तरिक रडाको सुरु हुन पुग्यो । त्यो रडाकोको आरम्भकर्ता हुन पुगे, डा. बाबुराम भट्टराई । उनले पार्टी त्याग गरेर हिँडे मात्र होइन, अहिले पनि उनी विभिन्न पार्टी चहार्दै छन् । 

संघर्षताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकै नजिक रहेका रामबहादुर थापा बादलले त एमालेको हात समाउन पुगे र गृहमन्त्री पद हात पारे । उनी अहिले एमालेमा ओली गुटको महत्वपूर्ण पदमा आसिन छन् । त्यतिमात्र होइन, हिजो लडाइँमा सँगै रहेका मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतका योद्धाले समेत प्रचण्डलाई छाडिसकेका छन् । पार्टीभित्रको कचिंगल बढ्दो छ । 

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा खुलेर लागेका प्रचण्ड र उनको दल अहिले सत्तापक्षीय हो । पार्टीको आन्तरिक पद बाँडफाँटका कुरा छाडौँ, अहिले मन्त्रीमा कसलाई पठाउने भन्ने निर्णयसमेत उनले गर्न सकिरहेका छैनन् । केही दिनअघि उनले पार्टीमा सबैजसो मन्त्री पदका आकांक्षी भइदिनाले चयन गर्न कठिन भएको अभिव्यक्ति दिएका थिए । यसबाट के स्पष्ट हुन्छ भने, अध्यक्ष प्रचण्डप्रति पार्टीका अन्य नेतालाई उतिसारो विश्वास छैन । त्यही कारण उनीहरु पाएको बेला मन्त्री पद किन छाड्नु भन्ने मानसिकतामा पुगेका हुन् ।

लामो समयदेखि प्रचण्ड पार्टीमा सुप्रिमो रहँदै आएका छन् । सशस्त्र क्रान्तिबाट संसदीय राजनीतिमा आएको उक्त पार्टीका कतिपय नेता-कार्यकर्तामा अहिले पनि लडाइँको धङधङी बाँकी छ । यही धङधङी, पदलोलुपता, संसदीय अभ्यासजस्ता विषयको सन्तुलन मिलाउने सवालमा प्रचण्डले सफलता पाउन सकेका छैनन् । पार्टीप्रति जनविश्वास खस्कँदो छ । नेता-कार्यकर्ताले पार्टी छाड्ने क्रम बाक्लिएको छ ।

अन्य दलहरू

यतिखेर विभिन्न साना राजनीतिक दलमध्ये विवेकशील साझा पार्टी बढी चर्चामा छ । यो नवजात पार्टीका प्रमुख रवीन्द्र मिश्रले पार्टीको घोषणपत्र विपरीत विचार प्रस्तुत गरिदिनाले यसमा अहिले ठूलो भुइँचालो गएको छ । पार्टीका अन्य नेताहरू मिश्रको प्रतिवेदनप्रति आक्रोशित छन् र काउन्टर प्रतिवेदनको तयारीमा लागेको भन्नेसमेत सूचना आएको छ ।

साढे तीन वर्षअघि सम्पन्न आमनिर्वाचनमा यो पार्टीले झिनो सफलता पाएको थियो । वैकल्पिक राजनीतिक पार्टी बन्ने उद्देश्यमा गठित विवेकशीलमाथि देशका विशेषगरी युवा वर्ग निकै आशावादी थिए । विवेकशीललाई अग्रगामी र युवाको पार्टी बन्न लागेको देखेर तिनमा विश्वास पलाएको हो । तर, मिश्रको पछिल्लो प्रतिवेदनले विवेकशीलका शुभेच्छुकमात्र होइन पार्टीभित्रै पनि रडाको मच्चिन पुगेको छ ।

एकपटक फुटेर पुनः जुटेको यो पार्टीलाई अध्यक्ष मिश्रले सन्तुलित र सहज ढंगमा सञ्चालन गर्न सकेको देखिएको छैन । उनले मनोमानी ढंगमा संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारण सार्वजनिक गरेपछि पार्टीको खुट्टा लरबराउन पुगेको हो । उनको प्रतिवेदनपछि पार्टीमा स्पष्ट दुई गुट देखापरेका छन् । मिश्रलाई पछ्याउने र उनको धारणामा विमति राख्नेहरू कित्ताकाट गरिरहेका छन् ।

जनता समाजवादीलगायत मधेसमा क्रियाशील राजनीतिक दलले सत्तामा जान जहिल्यै खुट्टा उचालिदिनाले पार्टीभित्र रडाको मच्चिरहन्छ । जसपामा अहिलेको सरकारमा जान चाहने आकांक्षी धेरै हुनाले पार्टीमा आन्तरिक किचलो थप बढेको छ । राप्रपा नामको पार्टी जति त सायदै अन्य पार्टी टुटफुट र पुनः एकजुट भएका होलान् ! राजा, हिन्दु धर्म र एकात्मक राज्य व्यवस्थाको पक्षपाति त्यो पार्टीका प्रमुखहरु आन्तरिक रडाकोको व्यवस्थापनमा असफल हुँदै आएका छन् । तत्कालै यिनले राष्ट्रिय राजनीतिमा ठूलो फड्को मार्न सक्ने संकेत देखिँदैन । जनमोर्चा, मजदुर किसान पार्टी तथा विभिन्न वामपन्थी दल उसै पनि क्षयको बाटोमा यात्रारत छन् नै । 

समग्रमा, पार्टीभित्रका रडाकाहरूले अन्ततोगत्वा हानि हुने देश र देशवासीलाई नै हो । तिनका आन्तरिक किचलोले समयमा महामारी नियन्त्रण हुन सकिरहेको छैन । कमजोर पूर्वाधारमा कुनै सुधार भएको छैन । समविकास केवल नारामा सीमित छ । स्वदेशमै रोजगारी, समृद्धि र जनताका सुखका मुद्दा लामो समयदेखि थातीमा छन् । 
 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १३:२७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया