फुटबल प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत मागे माफी
फाइल तस्बिर

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो अन्तरवार्ताको विषयलाई लिएर माफी मागेका छन् । उनले आफूले गलत चाहनाले नबोलेको भन्दै माफी मागेका हुन् । 

उनले पछिल्लो पटक एक अनलाइन मिडियामा दिएको अन्तरवार्ताका कारण विवादमा परेका थिए । अब्दुल्लाहले उक्त अन्तरवार्तामा दिएको अभिव्यक्तिलाई लिएर फेसबुकमा एक लामो स्टाटस पोष्ट गर्दै माफी मागेका हुन् । 

उनले पछिल्लो समय फेसबुकमार्फत नै राजीनामा दिने समेत घोषणा गरेका थिए । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई उधृत गर्दै उनका कारण आफूले राजीनामा दिन लागेको खुलाएका थिए । 

भर्खरै सार्वजनिक गरेको स्टेटसमा भने उनले पूर्वप्रशिक्षक, खेलाडी तथा पदाधिकारीमा आक्षेप लगाउन नचाहेको बताएका छन् । उनले उक्त अन्तरवार्तामा आफूले नेपाल तथा एसियन मुलुकको फुटबल विकासका बारेमा कुरा गरेको बताएका छन् । 

उक्त अन्तरवार्तामा नेपाली टोलीलाई होच्याउने कुनै मनसाय नरहेको उनले प्रष्ट पारेका छन् । उनले आफ्ना शब्द प्रतिको गलत बुझाइले गर्दा यो समस्या आएको  खुलाएका छन् । आफ्नो भनाइ नेपाली फुटबलको विकासका निम्ति समर्पित रहने आशयले दिएको बताएका छन् । 

उनले उक्त पोष्टमार्फत नेपाली फुटबल समर्थकले आफूलाई दिएको मायाप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म सबै नेपाली जनता र विशेष गरी पूर्व खेलाडी तथा प्रशिक्षक जसले मेरो शब्दलाई गलत बुझ्नु भएको छ, उहाँहरु समक्ष हृदयदेखि नै क्षमाप्राथी छु ।’



उनले आफू नेपाली टोलीमा निकै गर्व गर्ने बताएका छन् । उनले अबका दिनमा कसैका लागि नराम्रो सोच नराख्ने कुरा खुलाएका छन् । उनले पोष्ट मार्फत आफू नेपाली टोलीको हिस्सा हुन पाएकोमा गर्व गर्ने कुरा पनि उल्लेख गरेका छन् । 
औपचारिक रुपमा उनले अन्तरवार्ताका लागि माफी मागे पनि उपाध्यक्ष नेम्वाङको कुरामा भने स्पष्ट पारेका छैनन् । 



 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १५:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया