कोसी अञ्चल अस्पतालको ल्याबमा बिरामी परीक्षण गर्न कोटा सिस्टम लागू भएपछि सेवाग्राही आन्दोलित भएका छन् । कोटा सिस्टम लागू भएपछि उपचारमा समस्या भएको भन्दै बिरामीका आफन्तले सोमबार अस्पतालअगाडि नाराबाजी गर्दै विरोध गरेका हुन् ।
सोमबार छिटोछरितो स्वास्थ्य उपचार पाउनुपर्ने माग राख्दै सयौँको संख्यामा उपस्थित बिरामी र उनीहरुका आफन्तले अस्पताल प्रशासन अगाडि प्रदर्शन गरेको हो । आन्दोलनकारीको भीड बढेपछि अस्पतालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
विराटनगर–५ का मो. हुसेनले भिडियो ए–क्सरेको बिल काटिसक्दा पनि ल्याबमा परीक्षण गर्न नपाएको बताए । ‘पेटको समस्या भएपछि अस्पतालमा आएर चिकित्सकलाई देखाएको थिएँ । चिकित्सकले भिडियो ए–क्सरे गर्न भन्नुभयो । ए–क्सरेको बिल पनि कटाए,’ उनले भने, ‘ल्याबमा गएर परीक्षण गर्दा सोमबारलाई कोटा फुल भएको जानकारी दिइयो ।’
बिरामी हुसेनले भने, ‘अहिले दैनिक २० जनाको मात्र परीक्षण गर्ने गरेको जानकारी गराएपछि हामी अहिले आन्दोलित भएका हौँ ।’
ज्वरो आएर उपचार गर्न गएका रामबहादुर श्रेष्ठले एक्सरे गर्न नपाएको बताए । फिजिसियन डाक्टरलाई देखाउँदा छातीको एक्सरे गर्न भनिएको र त्यसपछि परीक्षणका लागि जाँदा आज नहुने भन्दै भोलि आउन भनिएको श्रेष्ठले बताए । उनले स्वास्थ्य बिमाअन्तर्गत परीक्षण गराउन खोजेको बताए ।
कोसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थित हुन नसक्दा यहाँका आएका बिरामीले सास्ती पाएका छन् । स्वास्थ्य उपचारका लागि कोसी अस्पतालमा आएका बिरामीले अहिले २–३ दिनमा मात्र पालो पाउने गरेका छन् ।
अस्पतालमा एउटा मात्र बिमाको काउन्टर हुँदा बिरामीले सास्ती पाएकोले थप काउन्टर विस्तार गर्न अस्पताल प्रशासनले चासो नदेखाएको बिरामीका आफन्तले बताएका छन् ।
अस्पताल प्रशासनले भने कोसी अस्पतलामा ल्याबमा रेडियोलोजिस्ट चिकित्सकको अभाव रहेकाले समस्या भएको बताएको छ । तीनजना रेडियोलाेजिस्ट चिकित्सकले राजीनामा दिएपछि अस्पतालमा डाक्टरको अभाव भएको हो ।
अस्पतालमा अहिले एकजना मात्र रेडियोलोजिस्ट चिकित्सक छन् । अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको अभावका कारण न्यून संख्यामा परीक्षण भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।