[विचार] खतरनाक पेगासस

कुनै समय थियो, इजरायल पेगासस स्पाइवेयरलाई आफ्नो ठूलो उपलब्धि मान्दै संसारभर बेच्थ्यो । अहिले उसैले पेगासस बनाउने कम्पनीमा छापा मार्नुपरेको छ । फ्रान्स सरकारले यो घटनामा विरोध जनाएपछि इजरायल विकल्पहीन बन्न पुग्यो । इजरायलको पक्षमा उभिने मुलुक निकै कम छन् । पश्चिमी युरोपको महत्वपूर्ण एक देशलाई आफ्नो विरोधी बनाउनु इजरायलका निम्ति हानिकारक हुन सक्छ । 

यो संकट कति ठूलो थियो, यसलाई थप नबिग्रियोस् भन्ने ढंगमा बुझ्नु आवश्यक छ । यसका लागि इजरायलले आफ्ना विदेशमन्त्रीलाई पेरिस पठाउनु पर्यो । वास्तवमा फ्रान्सको विरोध पूर्ण रुपमा जायज थियो । के अब इजरायल सरकारको सक्रियताले पेगासस पीडित व्यक्ति, देश तथा मानिसको निजी कुरा र मानवअधिकारजस्ता मामिलाको सुरक्षामा आशा गर्न सकिन्छ ? सायद सकिँदैन ।

तथापि, आशा गर्न सकिने एउटा कारण भने बाँकी छ । संयुक्त राष्ट्र संघ (युएन)को एक प्रस्तावले यसबारे बोलेको छ । युएनले यस्ता खाले स्पाइवेयर अर्थात् जासुसी सफ्टवेयर खरिद–बिक्रीमा प्रतिबन्ध लगाउने कुरा गरेको छ । तर, युएनका यस्ता प्रस्तावहरुले साँच्चिकै काम गर्थे भने त संसारबाट आतंकवाद उहिल्यै भागिसक्थ्यो, न कतै–कहिल्यै अन्तर्राष्ट्रिय प्रतिद्वन्द्विता हुन्थ्यो न त हतियारको होड नै चल्थ्यो !

यो घटनालाई बुझ्नका लागि हामीले पेगाससबारे पूर्ण रुपमा बुझेको हुनुपर्छ । पेगासस एउटा व्यावसायिक स्पाइवेयर हो, जसलाई एनएसओ नामक इजरायली कम्पनीले बनाउँछ र संसारभर बिक्री गर्छ । यस्ता कम्पनीहरुका थुप्रै कुरा सार्वजनिक हुने गर्छन् जस्तैः त्यसको स्वामित्वको जानकारी, लाभ–हानि खाता आदि । यस्ता कम्पनीले अधिक लाभ कमाउन र बिक्री गर्न निरन्तर आफ्नो प्रचार गर्नुपर्ने हुन्छ । यसो गर्दा, कतिपय कुरा गोप्य रहन सक्दैन, थुप्रैखाले सावधानी अपनाउँदा पनि । तर, स्पाइवेयरको मामिलामा भने यस्तो हुँदैन ।

तीन वर्षअघि जब गुगलले आइफोनमा प्रयोग हुने आफ्नो एप परीक्षण गरिरहेको थियो, तब आइफोनमा रहेको यस्तो स्पाइवेयर फेला पार्यो, जसले प्रयोगकर्ताका सन्देश तथा थुप्रै अन्य डाटा चोरी गरेको थियो । अर्को परीक्षणमा यो पनि स्पष्ट हुन गयो कि, चीनको कुनै यस्तै सर्भरमा सबै डाटा पुर्याइयो । यसले चोरीको डाटामा चीन सरकार संलग्न रहेको समेत आशंका गरिएको थियो । सरकार वा सरकारी संस्था जब यस्ता काम गर्न थाल्छन्, तब सबथोक चुपचाप भइदिन्छ । निकै मुश्किलसँग या संयोगवश कसैलाई यसबारे आशंका जाग्छ । यही घटनापछि नै चीनमा बनेका सबै एप र सफ्टवेयरलाई संसारमा शंकाको दृष्टिले हेर्न थालिएको हो ।

मानिन्छ कि, यदि जासुसीबारे कुनै आधुनिक प्रविधि सम्भव छ भने त्यो अमेरिकी जासुसी एजेन्सी सिआइएबाट मात्रै हुन सक्छ । सिआइएमा काम गरिसकेका ‘ह्विसल ब्लोअर’ एडवर्ड स्नोडेले यसबारे धेरै कुरा बताएका छन् । सफ्टवेयर प्रविधिबारे जानकारसमेत रहेका उनले केही यस्ता तरिका बताएका छन्, जसको माध्यमले यस्ता जासुसीबाट हुन सक्ने हानिलाई नियन्त्रण गर्न सकिन्छ । तर, जतिखेर स्नोडेनले सिआइए छाडे त्यसपछिको समयमा प्रविधिले निकै फड्को मारिसकेको छ ।



सिआईएले यति काम गर्न सक्छ भने बेलायती जासुसी एजेन्सी एमआई–५ले पनि यस्तो प्रयास गरेको हुनुपर्छ । साइबर जासुसीमा रुसको संलग्नताबारे त पछिल्लो समय संसारले धेरै कुरा थाहा पाइसकेको छ । यही कारण पनि इजरायली कदमको विरोध गर्ने फ्रान्सेली जासुसी एजेन्सी डिजिएसआईले पनि प्रयास गरेकै हुनुपर्छ ।

स्वयम् भारतले पनि यस्ता कार्यका निम्ति नेसनल टेक्निकल रिसर्च अर्गनाइजेसन नामक संस्था बनाएको छ । यसले सीधै राष्ट्रिय सुरक्षा सल्लाहकारको मातहत काम गर्छ । अटल बिहारी बाजपेयीको सरकारको समयमा गठित यो संस्था कति सफल भयो, यो भन्न सकिन्न । तर, केही घोटालामा यो संस्था अवश्य परेको थियो । के पनि मानिन्छ भने यो नै भारतको सफल खुफियागिरि हो, तर यसको सफलता–विफलताबारे कसैलाई जानकारी दिइएन । यस्ता काम सरकारी संस्थाहरु गर्छन्, यसैले यिनका सफलता–विफलताबारे पत्ता लगाउन कठिन हुन्छ । 



पेगासस सरकारी नभएर एक निजी कम्पनी हो । यसैले विवाद हुँदासाथ थुप्रै कुरा जानकारीमा आए । त्यसको स्पाइवेयरको कति पैसा पर्छ भन्ने कुरा पनि थाहा भयो । जुन स्मार्टफोनको यसबाट जासुसी गरिएको थियो, यसको कूल लागतभन्दा हजारौं गुना महँगो छ । झट्ट हेर्दा यो काम निकै मुनाफा दिनेखालेको बुझिन्छ, किनकि संसारभरका कम्पनीहरु यसकै पछि लाग्ने कोसिस गरिरहेका छन् । यो पनि हुन सक्छ कि, क्यालिफोर्नियाको कुनै कम्पनीले यसलाई विकास गर्ने जिम्मा बेंगलुरु वा गुडगाउँको कुनै स्टार्टअपलाई सुम्पिदिउन् । अनि पाकिस्तान जसले परमाणु बम बनाउने कोसिस गर्न सक्छ भने स्पाइवेयर बनाउन किन अग्रसर नहोला ?

पेगासस घटना यस्तो संसारमा आयो, जो व्यक्तिगत स्वतन्त्रताको मामिलाको आफ्नो लडाइँ लगभग हारिसकेको छ । तपाईंको व्यक्तिगत विवरण प्रत्येक क्षण ठूलो परिमाणमा संसारभरका ठूल्ठूला सर्भरतिर गइरहेका छन् । यसको बलियो बजार विकसित भइसकेको छ, जाँ हाम्रो र तपाईंको निजताको लिलामी पनि हुन्छ र बोलकबोलमा जान्छ । पेगाससजस्ता स्पाइवेयर कसैको पनि निजतालाई हडप्ने कार्य निकै गम्भीरताका साथ गर्न सक्छन् । तर, ती बजारमा भने आउँदैनन् । त्यो सफ्टवेयर कारोबारमा भन्दा बढी राजनीतिक प्रयोगका निम्ति बनाइएको हो, जुन कतिपय हिसाबले खतरनाक छ । 

जबसम्म संसारमा निजता हननका उपाय जीवित हुन्छन्, तबसम्म यस्ता स्पाइवेयर विकसित भइरहन्छन् । के यसलाई रोक्न सकिन्छ ? विशेष गरी तबसम्म सकिन्न, जबसम्म यसका लागि लड्ने ताकत थाक्छ छ र कयौं अदालतमा यो मुद्दाले हार्छ ।

(हरजिन्दर भारतका वरिष्ठ पत्रकार हुन् ।  हिन्दुस्तान टाइम्सबाट अनूदित तथा सम्पादित)

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया