दुर्गेश थापा बहिष्कार गर्ने दोहोरी गीत प्रतिष्ठानको निर्णय

गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रतिष्ठानको बैठकले थापालाई संस्थागत बहिष्कार गर्ने निर्णय गरेको हो । 

दुर्गेशले केही समयअघि निकालेको गीत ‘बीच्च बीच्चमा ४’मा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दमा प्रतिष्ठानले आपत्ति जनाएको थियो । उक्त गीतका विषयमा प्रतिष्ठानले दुर्गेशलाई सचेत समेत गराएको थियो ।

गीत सार्वजनिक गर्नुअघि नै उक्त शब्दमा आपत्ति जनाएको प्रतिष्ठानले बताएको छ । उक्त गीत तीजको मर्मविपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानले शब्द फेरबदल गर्न आग्रह गर्दै पत्र काटेको थियो ।

दुर्गेशले प्रतिष्ठानको आग्रहलाई अस्वीकार गर्दै गीत जस्ताको त्यस्तै सार्वजनिक गरेका थिए । गीत सार्वजनिक भएसँगै महिला अधिकारकर्मी तथा महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाउँदै प्रतिष्ठानको ध्यानाकर्षण गराएको बताइएको छ । 

त्यसपछि, संस्थागत बहिष्कारको निर्णयमा पुगेको प्रतिष्ठानका उपमहासचिव एवं विकृति विसंगती न्यूनिकरण समितिका संयोजक शिव हमालले जानकारी दिए ।

यो निर्णयपछि दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेको हमालले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया