विचार
डलरको उतारचढाव र नेपाली अर्थतन्त्रमा प्रभाव

पछिल्लो केही समय डलरको मूल्य अकासिएको छ । गत असारमा १ सय ९ रुपैयाँ रहेको एक डलर अहिले १ सय १६ रुपैयाँ पुगेको छ । यसरी डलरको मूल्यमा आएको उतारचढावले संसारभरि नै प्रभाव पारिरहेको छ । विश्वमा आत्मनिर्भरता र अन्तर्निभर्ताको चर्चा व्यापक बन्दै जाँदा यसको असरबाट नेपाल पनि अछुतो हुन सक्दैन । 

पछिल्लो समय चर्किएको अमेरिका–चीन व्यापार युद्धका कारण पनि डलरको भाउमा वृद्धि भएको हो । यति मात्रै होइन, अमेरिकन सेन्ट्रल बैंक फ्रेडल रिजर्भले पनि ब्याजदर बढाइरहेको छ । यसलाई अझै कसिलो बनाउने अभिव्यक्ति पनि आइरहेका छन् । त्यहाँ ब्याजदर उच्च हुँदा अमेरिकी लगानीका कम्पनीले विदेशमा गरेको लगानी फिर्ता जान्छ । यसको असर अमेरिकी मुद्रामा देखियो । तर, अन्य देशको मुद्रा भने कमजोर भयो । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले केही खुकुलो नीति लिएको बताइन्छ । यसको परिणामस्वरूप करको दर घटेको छ । उनले बनाएका वित्तीय नीतिका कारण त्यहाँको अर्थतन्त्र खुकुलो भएको थियो, फस्टाएको थियो । त्यसले अमेरिकी अर्थतन्त्रलाई तताउन सक्छ । यस्तो वित्तीय नीतिलाई ब्यालेन्स गर्ने भनेको मौद्रिक नीतिले हो । त्यसलाई ब्यालेन्स गर्न फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएर केही कसिलो नीति बनाएको थियो । 

त्यसो त इरानबाट तेल आयात गर्ने मुलुकमा प्रतिबन्ध लगाउँछु भन्ने अमेरिका, टर्कीसँग पनि व्यापार युद्धमा छ । तर, उसको सबैभन्दा ठूलो व्यापार युद्ध भने चीन सँग रहेको छ । अहिले अमेरिकाले चीनबाट २ सय अर्ब डलरको आयात गरिरहेको छ । 

चलिरहेको व्यापार युद्धका कहिले अन्त्य हुन्छ भन्ने कुनै अनुमान लगाउन सकिने अवस्था पनि छैन । यसले गर्दा यो व्यापार युद्ध नसकिने वेलासम्म डलरको मूल्यमा पनि वृद्धि भइरहने अनुमान पनि लगाउन सकिन्छ ।

यसले गर्दा भारतीय मुद्रामा नकारात्मक असर परेको छ । भारु पनि कमजोर बनिरहेको छ । अहिले एक डलरबराबर भारु ७२ रहेको छ । भारतीय विश्लेषकहरू यो दर ७५ सम्म पुग्न सक्ने अनुमान लगाएका छन् । 



भारतीय मुद्रासँग पेग गरिएको कारण नेपाली मुद्रामा पनि डलरको भाउको असर परेको छ । डलरको तुलनामा भारतीय मुद्रा लगातार ओरालो लागिरहँदा नेपाली मुद्रा पनि डलरसँग कमजोर हुँदै गएको छ । तर, यसको असरको विषयमा दुईवटै पाटो उत्तिकै महत्वका छन् । 

अहिले डलरले गर्दा नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै खालका असर परिरहेका छन् । यसको सबैभन्दा सकारात्मक असर भनेको नेपालको रेमिट्यान्समा परेको छ । 



पछिल्लो समय रेमिट्यान्स बढिरहेको तथ्यांक छ । विदेशिने नेपालीको संख्या अहिले ४३ लाखको हाराहारीमा छ । यो जनशक्ति विदेशमा काम गरिरहेका वेला यसरी डलरको मूल्य बढ्दा उनीहरूको लागि फाइदा निकै भएको छ । उनीहरूले डलरमा तलब बुझेर नेपालमा पठाउँदा नेपाली रुपैयाँ कमजोर भएकाले नेपालमा त्यसको मूल्य बढी भएको छ । उनीहरूले धेरै रकम निकाल्न पाउँछन् । यसले एक हिसाबले भन्ने हो भने, नेपालीलाई विदेशबाट नेपालमा पैसा पढाउन उत्साहित पनि गरेको छ । 

यसले अर्काेतिर नेपालमा भन्दा विदेशमा नै गएर काम गर्न प्रेरित गरेजस्तो पनि देखिएको छ । पछिल्लो समय रेमिट्यान्स बढ्नुमा यो पनि एउटा प्रमुख कारण हो । 

अर्काे तेस्रो मुलुकमा निर्यात हुने वस्तुलाई पनि यसले लाभ भएको देखिन्छ । त्यसो त नेपालमा आयात–निर्यात बीच निकै ठूलो खाडल छ । तर, डलरको मूल्य बढेको हुनाले तेस्रो मुलुकमा वस्तु निर्यातमा यसले फाइदा गरेको छ । यस्तै, यसले निर्यातका लागि प्रेरित पनि गरिरहेको छ । 

यस्तै, आयातको प्रतिस्थापन गर्न पनि यसले सजिलो भएको छ । नेपालको व्यापार घाटा बढिरहेका वेला डलरको मूल्य बढ्दा यसले विदेशी वस्तुलाई महँगो बनाउँछ । यसले गर्दा नेपालमा उत्पादन भएका वस्तुलाई विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सहयोग गर्छ । 

पछिल्लो समय नेपालमा उत्पादित चिनीले विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न सकेन भन्ने सुन्न पाइन्छ । नेपालको भन्दा भारतबाट आयात हुने चिनी सस्तो हुँदा नेपाली चिनी कम्पनीले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । यही पृष्ठभूमिमा नेपाली रुपैयाँ कमजोर हुदाँ डलरमा आयात गरिएको चिनी महँगो हुन्छ । नेपालमै उत्पादन हुने वस्तुलाई विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । यसले नेपाली चिनी उत्पादक कम्पनी र उखु किसानलाई राहत मिल्छ, जसले गर्दा विदेशी चिनी प्रतिस्थापन गर्न सहयोग पुग्छ । 

चिनी त यसको एउटा प्रतिनिधि उदाहरण मात्रै हो । यस्ता धेरै उत्पादन छन्, जो डलरको मूल्य बढ्दा महँगो हुन्छन् र घट्दा सस्तो हुन्छन् । यसले आन्तरिक उत्पादन बढाउन पनि सहयोग गर्न सक्छ । 

अर्काे पाटो भनेको डलरको मूल्य बढ्दा नेपालमा सबैभन्दा बढी घाटा भएको इन्धनमा हो । नेपालमा सानो मात्रामा पनि पेट्रोलियम पदार्थ उत्पादन हुँदैन । यस्तो वेलामा आवश्यक परेजति सबै विदेशबाट आयात गर्नुपर्ने हुन्छ । आयातका क्रममा नेपाली मुद्रा कमजोर र डलरको भाउ बढ्दो रहेको वेलामा हामीले पेट्रोल डलरमा खरिद गर्नुपर्ने भएकाले यसले देशलाई बेफाइदा गरिरहेको छ । 

भारतले कुल आवश्यकताको ८० प्रतिशत पेट्रोल आयात गर्छ । २० प्रतिशत आफैँ उत्पादन गरिरहेको छ । तर, नेपालमा ‘थोपो’ पनि उत्पादन हुँदैन । त्यसैले पेट्रोलियम पदार्थमा असर पर्ने भयो । यसलेको प्रभाव अन्तमा गएर वस्तुको मूल्यमा देखा पर्छ । 

पेट्रोलसँग हाम्रो निकै नजिकको सम्बन्ध छ । पेट्रोलमा सानो परिवर्तन हुनेबित्तिकै यसको असर ढुवानीमा पर्छ । त्यसको असर हामीले दैनिक प्रयोग गर्ने अन्य वस्तुमा पर्न जान्छ । 

हाम्रा जतिपनि उद्योग छन्, धेरै विदेशी कच्चा पदार्थमा निर्भर छन् । विदेशबाट खरिद गरिएको कच्चा पदार्थ हामी डलरमाकै कारोबार गर्छै । डलरको मूल्य बढ्दा यस्ता कच्चा पदार्थको मूल्यमा पनि प्रत्यक्ष असर पर्छ । 

नेपाल सरकारले अहिले नव निर्माण र पुननिर्माणमा गरिरहेको भनिरहँदा त्यसमा प्रयोग भएका सबै सामान विदेशबाट नै ल्याउनुपर्छ । हामीले प्रयोग गर्ने मेसिनदेखि डोजर, एक्साभेटर विदेशबाटै आयात गर्नुपर्ने हुनाले हाम्रो नव निर्माण र पुननिर्माणमा यसले केही असर पार्छ । यसरी देखिएको छोटो समयको मूल्यवृद्धिले नेपालको दीर्घकालीन मूल्य वृद्धिमा कस्तो असर पर्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।

यसले व्यापार घाटा बढ्ने अनुमान पनि गर्न सकिन्छ । भारतसँग रहेको हाम्रो खुल्ला सिमानाका कारण यसरी बढिरहेको आयातलाई रोक्न पनि सक्दैनौँ । विगतका तीन महिनामा पनि एक सय ९ रुपैयाँबराबरको आयात अहिले १ सय १६ रुपैयाँ पुगेको छ । सात रुपैयाँ बढेको छ । 

यस कारणनै ह्वात्तै व्यापार घाटा बढ्न सक्ने समस्या देखिएको छ । यसले बाह्य क्षेत्रको सन्तुलनमा पनि समस्या हुने देखिन्छ । अर्काे नेपालमा पर्ने प्रत्यक्ष असर भनेको नेपाल तिर्नुपर्ने ऋणमा पनि देखिन्छ । पहिले सस्तो मूल्यमा ल्याएको वैदेशिक ऋण नेपाली मुद्रा कमजोर भएको वेला तिर्नुपर्दा आर्थिक भार बढ्न सक्छ । यसले बजेटमा विदेशी ऋण तिर्नको लागि छुट्याएको रकमले नपुग्ने पनि हुन सक्छ । 

व्यापार घाटा सुरुवाती दिनमा घट्दै जाने र यसको असर लामो समयसम्म रहने तर, कालान्तमा व्यापार सन्तुलन हुने भएकोले स्वदेशी मुद्राको मूल्यमा जे   आकारको वक्ररेखा बन्छ ।

  • प्रकाशित मिति : असोज १७, २०७५ बुधबार १५:२७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया