सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य रहेका चार सांसदलाई पदमुक्त गराएको छ । पार्टीले गरेको भ्याकेट निवेदनमा अदालतले सांसद पदमुक्त हुने फैसला गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले सोमबारको सुनुवाइपछि आफू आवद्ध संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता अनुकूल नभएको फैसला गरेको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले गरेको कारबाहीका विरुद्धमा सर्वोच्च गएका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद सर्वोच्चको फैसलामार्फत गएको हो ।
यसअघि, पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएर सरकारमा सामेल भएपछि एमालेले उनीहरुमाथि कारबाही गरेको थियो । तर, चारैजना सांसद पार्टीको कारबाही विरुद्ध अदालत गएका थिए ।
उनीहरुले पार्टी कारबाही विरुद्ध मुद्दा हालेपछि सर्वोच्चले चारैजनाको पद यथावत रहनेगरी निर्णय गरेको थियो । त्यसका विरुद्ध पार्टीले भ्याकेट निवेदन हालेपछि उनीहरु आजको फैसलाबाट पदमुक्त भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।