[अन्तरवार्ता] वीर अस्पताल सुधारका लागि इतिहासमा कसैले नगरेको काम गरेँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृत प्रा.डा. जागेश्वर गौतमलाई पदमुक्त गरेको छ । गत जेठ १० गते नियुक्त भएका गौतमले ११ गतेदेखि पदभार सम्हालेका थिए । पदभार सम्हालेसँगै उनी विवाद र चर्चामा आएका थिए । 

चर्चा र विवादमा मुछिएका गौतम अन्ततः पदमुक्त भए । ७१ दिन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका गौतम अब साविककै प्रसूति गृहको जिम्मेवारीमा फर्किएका छन् । उनले आफ्नो दुई महिने कार्यकाल कसरी मूल्यांकन गरेका छन् ? जुन अपेक्षा अनुसार नियुक्त भएका थिए, त्यो आधारमा काम गर्न पाए वा पाएनन् ? प्रस्तुत छ, यिनै विषयमा फरकधारका लागि कृष्णसिंह धामीले प्रा.डा. गौतमसँग कुराकानी :-

दुई महिनाको अवधिमा आफैले गरेको कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 
मैले दुई महिनाको अवधिमा एकदम राम्रोसँग काम गरेको छु । इतिहासमै कसैले नगरेको काम गरेँ । यो अस्पताल कोभिड–१९ अस्पतालको रूपमा सञ्चालन हुन सकेको थिएन । त्यो काम मैले नै गराएँ । प्रधानमन्त्रीलाई नै ल्याएर नयाँ सर्जिकल भवनको उद्घाटन गरेँ । अक्सिजनको ट्यांक प्लान्टको व्यवस्थापन गरेँ । २०० वटा मनिटर, २०० आइसियू बेड, १५० वटा भेन्टिलेटर जम्मा गरेँ । मैले आफूलाई अंक दिने हो भने डिस्ट्रिक्सन दिन्छु । 

१०० मा कति अंक दिनुहुन्छ ? 
मैले १०० मा ८० अंक दिन्छु । मैले यो अस्पतालमा २०० बेड आइसियू चलाउनुछ भनेको थिएँ । त्यसपछि मेरो सरुवा हुन्छ भन्ने थाहा थियो । किनभने निजी अस्पताल र यहीँ भित्रका कर्मचारी जो निजीमा काम गर्छन्, उनीहरूले मेरो सरुवा गराउन पहिलादेखि नै लागि परेका थिए । उनीहरू यतिमात्र नभएर निजी अस्पतालमा बिरामी पठाएर कमिसन समेत खाने गरेका थिए । मैले त्यो सबै काम बन्द गराएँ । अब उनीहरूको कमिसन रोकिएपछि त मेरो सरुवा पक्कै हुनेभयो । जुन कुरा मलाई पहिला नै थाहा थियो । त्यसैले दुई महिनाको अवधीमा पनि राम्रै काम गरेँ । 

यो बीचमा तपाई खुबै विवादित पनि बन्नुभयो नि ?
केही पनि विवाद थिएन । यो सबै बनाएको विवाद हो । काम गर्न नदिएको जस्तो मात्र देखाए । विरोधमा उत्रिएका कर्मचारीको काम गर्ने मनसाय नै थिएन । उनीहरु काम गर्न निकै अल्छी गर्ने, एकदमै ढिलासुस्तीले काम गर्ने, लापरबाहीमा पनि त्यस्तै थिए । 

तपाईले अपेक्षाअनुसार काम गर्न सक्नुभयो ? 
मैले त पूरा समय काम गर्ने मौका पाएँ । नेपालमा कुन चाहिँ प्रशासकीय अधिकृतले दुई महिनामा यतिधेरै काम गरेका छन्, मलाई देखाइदिनुहोस् त । कसैले यति धेरै काम गरेको एउटा पनि देखाइदिनुहोस्, म यो पेसा नै छोडिदिन्छु । 



अबको प्रमुखलाई काम गर्न सहज हुन्छ त ? 
मैले सबै व्यवस्थापन गरिदिएको छु । अब पनि काम गर्न नसकिए वीर अस्पताल कसैले पनि सुधार गर्न सक्दैन । आइसियू, भेन्टिलेटर त्यत्रो व्यवस्था गरिदिएको छु । ६८७ दरबन्दी भएको वीर अस्पतालमा ८३१ जना दरबन्दी थप गरिदिएको छु । बाउले छोरालाई गर्नेभन्दा पनि धेरै गरिदिएको छु । यति गरिदिएपछि अब आउनेलाई त सजिलो छ नि । 

ट्रेड युनियनहरूले काम गर्न असहज गरेको हो ? 
ट्रेड युनियनमा पनि कांग्रेस समर्थकले काममा अवरोध गरेका हुन् । किनकि, उनीहरू पहिलादेखि नै मप्रति असन्तुष्ट थिए । उनीहरूले काम गर्दैन थिए, ठगेर खान्थे। म गएपछि काम गर्ने बनाएपछि मसँग रिसाएका थिए । बाहिर बिरामी रिफर गरेर कमिसन खान्थे। मैले त्यो बन्द गरिदिएको थिएँ । 



उपकरण तथा सामग्री ठेक्का प्रकरणमा पनि ठूलै विवाद आयो नि ? 
सामग्री खरिद प्रकरणमा कसरी भ्रष्टाचार भयो ? सबै प्रक्रिया पूरा गरेर नै अगाडि बढेको छ । यसअघि वर्ष दिनभरी सामग्री नै किनेको थिएन । अन्तिममा गएर त्यति भएपनि मैले किनेर सामानको व्यवस्था गरेँ । गाली खाइखाइ, पत्रिकामा लेखीलेखी भएपनि बजेट फ्रिज हुन दिइनँ । 

सामान माग गर्ने विशेषज्ञले, स्पेसिफिकेसन बनाउने विशेषज्ञ डाक्टरले, हामीले इ-टेन्डर गर्ने, इ-टेन्डर गरेका मध्येको मूल्यांकन गर्ने विशेषज्ञ डाक्टरले, अनि सबैभन्दा लोएष्टवालाले पाएको छ । ल अब तपाई नै भन्नुहोस्, कहाँनिर भयो बदमासी ? कहाँनिर भयो भ्रष्टाचार ? 

प्रमाणसहित बोल्नुपर्यो नि । रिस उठेर कसैलाई नराम्रो देखाउनकै लागि मात्र आरोप लगाएर त भएन नि । यी सबै प्रायोजित, बनावटी, नक्कली कुरामात्र हुन् । यदि मैले भ्रष्टाचार गरेको हो भने नियमनकारी संस्थामा उजुरी हाले भइहाल्यो त । बाहिर हल्ला गर्दै किन हिँड्ने ? ठाउँमा गएर जवाफ दिन म तयार छु । यदि कानुनले गलत ठहर्याएछ भने म पनि सजाय भोग्न तयार छु । कानुनले दोषी ठहर गर्न नसक्ने अनि पत्रपत्रिकामा हल्ला गर्दै हिँडेर त हुँदैन । 

  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १८:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया