निर्देशक वसन्त निरौलाले अघिल्लो वर्षको लकडाउनमा एउटा चलचित्र निर्माण गरे । चलचित्र ‘लभ सर्कल’को निर्माण कार्य पुरा भएपनि चलचित्र रिलिज हुन भने पाएन । कोरोना महामारीकै समयमा निर्माण गरिएको यो चलचित्र कोरोनाको दोस्रो लहरमा पनि थन्किएरै बस्यो ।
हल कहिले खुल्ने हो अझैपनि यसै भन्न सक्ने अवस्था छैन । कोरोनाको तेस्रो लहर सुरु हुने भन्दै स्वास्थ्य विशेषज्ञहरूले सजग रहन आग्रह गरेका छन् । सरकार पुनः निषेधाज्ञाको तयारी थाल्दै छ । केही चलमलाउन खोजेको मनोरञ्जन बजार पुनः ठप्प हुने संकेत सुरु भैसकेको छ ।
यो संकेतलाई मध्यनजर गर्दै निर्देशक निरौलाले चलचित्र ‘लभ सर्कल’ साउन २९ गते डिस होमबाट रिलिज गर्ने भएका छन् चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निरौलाले चलचित्र डिसहोमबाट रिलिज गर्ने जानकारी दिएका हुन् ।
चलचित्रमा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत, सुमन कोइरालालगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । कमेडी र सस्पेन्स थ्रिलर विधामा बनेको चलचित्र डिजिटल रिलिज गर्दा पनि चलचित्र क्षेत्र केही चलायमान बन्न सक्ने निरौलाको आशा छ ।
मी टिभीको प्रस्तुतिमा तयार भएको चलचित्रमा ओम प्रकाश अग्रवाल र रोनश पौडेलले लगानी गरेका छन । चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यू निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।