\


काकाकुल इरान
फरकधार / १९ साउन, २०७८
यो सामग्री सेयर गर्नुहोस्

खाडी मुुलुक इरान यतिखेर भयंकर पानी संकट व्यहोरिरहेको छ । त्यहाँ बिजुली कटौती वृद्धि गरिएको छ । आमजनता बिजुली र पानीका लागि सडकमा प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनले इरानमा गहिरिँदो पानी र बिजुली संकटलाई उजागर गरिदिएको छ ।

केही वर्ष अघिदेखि नै विशेषज्ञहरूले त्यहाँ जलसंकटमाथि ध्यान आकृष्ट गराउँदै चिन्ता जनाएका थिए । इरानमा यस्तो संकट आउनुमा को जिम्मेवार छ ?
अप्रिल महिनामा इरानी मौसम विज्ञान संगठनले ‘अभूतपूर्व खडेरी’ र वर्षामा भारी कमी आउने चेतावनी दिएको थियो । त्यहाँ वर्षाको क्रम लामो समयको औसतभन्दा निकै कम हुँदै गएको छ ।

सडकमा जनता

तेल उत्पादन क्षेत्र खुजेस्तानमा पानी अभावका कारण मानिसहरू सडकमा उत्रिएका छन् । अर्को एक सहरमा बिजुली अभावको विरोधमा मानिसहरूले प्रदर्शन गरेका छन् । सरकारले अधिक प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराएको छ । यतिखेर इरान विभिन्न प्रकारका पर्यावरण चुनौती झेलिरहेको छ । गर्मी, प्रदूषण, बाढी र तालतलैया सुक्ने क्रम बढेको छ । ऊर्जा मन्त्रालयको आँकडा अनुसार, इरानका मुख्य नदी बेसिनमा सेप्टेम्बर २०२० र जुलाई २०२१ का बीच भएको वर्षा अघिल्लो वर्षको तुलनामा निकै कम थियो।



आँकडामा मार्चमा भएको वर्षालाई ४० वर्षको औसतमा तुलना गरिएको थियो । युनिभर्सिटी अफ क्यालिफोर्निया अर्विनको सेन्टर फर हाइड्रोमेट्रोलोजीका अनुसार, २०२१ को पहिलो तीन महिनामा भएको वर्षा उक्त अविधको औसतमा निकै कम थियो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको अनुमानमुताबिक, इरानमा अन्न उब्जाउ हुने एकतिहाइ जमिनमा सिँचाइ जरुरी । यसकारण वर्षा नहुनुले ठूलो हानि पुर्‍याउन सक्छ ।

के भयो खजेस्तानमा ?



यो प्रान्तमा लामो समयदेखि खडेरी परेपछि मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘हामी तिर्खाएका छौँ’ भन्ने नारा लगाएका थिए । 
स्टुटगार्ट युनिभर्सिटीका शोधकर्ताहरूको आँकडाअनुसार, एउटा यस्तो क्षेत्र जहाँ पर्याप्त मात्रामा पानी हुने गर्थ्याे- त्यहाँको अति महत्वपूर्ण करुन नदी अहिले सुक्खा छ । स्याटलाइटबाट लिइएको तस्बिरमा उक्त नदीमा पानीको स्तर विगत वर्षहरूदेखि निकै सुकेको छ । २०१९ मा भने पानी बढेको थियो, किनकि त्यस समय ठूलो बाढी आएको थियो । 

दशकौँदेखिको समस्या

खुजेस्तानका कतिपय बाँधमा पानीको स्तर निकै कम छ । मानिसहरूले बाँधबाट पानी छोड्न माग गरिरहेका छन् । धान उब्जाउने किसान र पशुपालकहरू आफूहरू अप्ठेरोमा परेकाले मद्दत मागिरहेका छन् । केही मानिस यस्तो समस्या आउनुको कारणमा तेल उद्योगलाई दोषी देख्छन् । ती क्षेत्रमा उपलब्ध पानी केन्द्रमा रहेको मरुस्थलमा लैजानाले पनि समस्या परेको तिनको भनाइ छ ।
येल विश्व विद्यालयमा इरानी पर्यावरण विभागका पूर्वउप-प्रमुख कावेह मदनी भन्छन्, ‘यहाँको जलवायु र खडेरी मुख्य कारण हो । तर, यो समस्या दशकौंदेखि थियो । खराब व्यवस्थापन, खराब पर्यावरण व्यवस्था, दूरदर्शिताहीनता र पूर्वसचेत नहुनाले समस्या थपिएको हो ।’

पानीबारे थप गम्भीर चुनौती

इरान आफ्नो खुम्चँदै गएको पानीको स्रोतमा अधिक निर्भर छ । त्यस देशले निरन्तर खडेरीको सामना गरिरहेको छ र जलवायु परिवर्तनका कारण उसलाई थप विकट परिस्थिति व्यहोर्नु परिरहेको छ । अधिक गर्मी र खडेरीले हाइड्रोपावर उद्योगमा निकै असर परेको छ, यसबाट अघिल्लो वर्षको यस्तै महिनामा बिजुली निकै कम हुन पुगेको थियो । बिजुली नहुनाले तेहरान र अन्य सहरमा ठूल्ठूला विरोध प्रदर्शन भइसकेका छन् । यही कारण टेलिकम्युनिकेसन र ट्राफिक लाइटमा समेत असर पर्न गएको छ । 

अत्यधिक गर्मीका कारण एयर कन्डिसन बढी प्रयोग हुनाले पनि बिजुलीको माग बढेको छ, यसले पावरग्रिडमा असर पारेको छ । उता, देशमा बिजुली कम हुनुमा क्रिप्टोकरेन्सीको माइनिङलाई पनि कारण मानिएको छ । मानिएको छ कि, त्यसका निम्ति अधिक बिजुली प्रयोग हुँदै आएको छ ।

पानी व्यवस्थापनमा समस्या

खडेरीले पर्यावरणमा चुनौती थपिदिएको छ । र, इरानमा जलसंकटको कारण पनि गहिरिँदै गएको छ । यदि इरानले जलसंकट समाधान गर्न सकेन भने लाखौँ मानिस पलायन हुने २०१५ मा एकजना पर्यावरण विशेषज्ञले चेतावनी दिएका थिए।

इरानका पर्यावरण विभाग प्रमुख सामुमेह एब्तेकार कृषिमा ‘क्रान्ति’ जरुरी रहेको बताउँछन् । इरानमा पानीको मुख्य स्रोत ‘भूजल’ हो । भारत, अमेरिका, साउदी अरब र चीनजस्ता मुलुक पनि भूजल समस्यामा पर्दै आएका छन् ।

खाद्यवस्तुमा देशलाई आत्मनिर्भर बनाउन किसानहरूले अधिक मात्रामा भूजल प्रयोग गर्ने गर्छन् । भूजल बढी निकाल्नाले जमिनमा नुनको मात्रा वृद्धि हुन्छ । यसले अन्न जमिनको उर्बरा शक्ति कम गर्छ र उब्जाउमा असर पर्न जान्छ । प्रोसिडिङ अफ दि नेसन एकेडेमी अफि साइन्सेजको एक शोधले कतिपय क्षेत्रमा सिँचाइको पानीमा नुनको मात्रा अधिक रहेको देखाएको थियो । भूजलका लागि गहिरो खाडल पार्नुपर्ने हुनाले सहर धसिने समस्यासमेत हुने गरेको छ । 

हराउँदै तालतलैया

पहिलापहिला अधिक पानी हुने नदी सुक्न जानाले चिन्ता बढेको छ । अहिले ती नदीहरूबाट पानी होइन धुलो मडारिने गरेको छ । उर्मिया नामको ताल संसारमै ठूलोमध्येको एक थियो । अहिले त्यो ताल पर्यावरण विनाशको एक प्रतीक बन्न पुगेको छ । त्यो ताल १९३० स्क्वायर मिल फैलिएको थियो, २०१५ मा त्यसको आकार खुम्चेर १० प्रतिशतमा सीमित भएको थियो । ९० को दशकमा त्यस क्षेत्रमा कृषि गतिविधि निकै बढ्यो र खडेरी हुँदाहुँदै पनि किसानले भूजलको प्रयोग गरे, तिनले थुप्रै बाँध निर्माण गरे ।  

जनताको प्रदर्शन, राष्ट्रपतिको बाचा र उच्चस्तरीय सिँचाइपछि तालको भाग्य पुनर्निर्माण हुने अवस्था आउन लागेको देखिएको छ । इतिहासको आफ्नो आकारअनुरुप त्यो ताल अहिले आधा बढ्न पुगेको छ । तर, भन्न के सकिँदैन भने ताल आफ्नै आकारमा फर्कँदै जानुमा भारी वर्षा कारण हो या अन्य सुधार ? लामो समयको खडेरी भोगेको त्यो क्षेत्रमा उक्त ताल पुरानै रुपमा फर्किन मुश्किल छ । 

(बिबिसीबाट अनूदित )
 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १२:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया