महाकाली तुइन प्रकरण : प्रत्यक्षदर्शी सुरक्षा घेरामा

दार्चुलाको ब्याँस गाउँपालिका- २ मालघाट तुइन घटनाका प्रत्यक्षदर्शीलाई सुरक्षाको घेरामा राखिएको छ । तुइन घटनाका प्रत्यक्षदर्शी कल्याणसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई सोमबार बेलुका जिल्ला सदरमुकाम झिकाइएको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा रहेको छानबिन समितिको टोली दार्चुला आउने भएपछि उनीहरूलाई सदरमुकाम बोलाइएको जिल्ला प्रहरी  कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए ।

प्रत्यक्षदर्शी तीनैजना सोमबार राति करिब पौने आठ बजेसम्म जिल्ला प्रहरी कार्यालयभित्रै थिए । त्यस क्रममा प्रहरीले उनीहरूसँग केही सोधपुछ गरेको डिएपी भट्टले बताए।

ब्याँस गाउँपालिका- २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी र ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीको रोहबरमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट  बाहिर ल्याइएको थियो । उनीहरूलाई बाहिर होटलमा बस्ने व्यवस्था गरेपनि सुरक्षाका लागि प्रहरी पनि खटाइएको छ । उनीहरु होटलमै बसिरहेका छन्।

महाकाली नदी पार गर्ने क्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित कार्यदल टोली  मंगलबार दार्चुला सदरमुकाम खलंगा पुग्दैछ । बिहान ११ बजे पुग्ने भनिए मध्यान्ह १२ बजेसम्म पुग्न सकेको छैनन् । डिएसपी भट्टका अनुसार टोली बेलुकासम्म पुग्ने छ ।

घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिका सदस्य सोमबार नै दार्चुलाका लागि हिँडे पनि डडेल्धुरा बसेका थिए ।



समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

छानबिन  समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य  छन् ।



  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार १४:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया