नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। नेपाली क्रिकेट टोलीका सफल खेलाडी पारसले आफ्नो १९ वर्षे अन्तर्राष्ट्रिय करियरबाट विश्राम लिने घोषणा सामाजिक सञ्जालबाट गरेका हुन्।
विभिन्न उमेर समूह हँदै सन् २००४ मा सिनियर टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि १ दश राष्ट्रिय टोलीको कप्तानी गरे।
पारस राष्ट्रिय टोलीमा डेब्यु गर्दा नेपाल आइसिसीको डिभिजन ५ मा थियो। पारसले आफ्नै कप्तानीमा नेपाललाई २०१० मा डिभिजन पाँचको उपाधि दिलाएका थिए। त्यसपछि छोटो समयमा नै नेपालले डिभिजन ४, डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ मा आइपुग्यो।
पारसले आफ्नो कप्तानीमा नेपाललाई २०१४ मा टि–२० विश्वकपक सम्म पुर्याए।
उनको कप्तानीमा सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पनि प्राप्त गर्यो। यो नेपाली क्रिकेटले प्राप्त गरेको हालसम्मकै सबैभन्दा ठूलो उपलव्धि हो।
सन् १९८७ अक्टोबर २४ मा जन्मिएका पारसले नेपालका लागि पहिलोपटक सन् २००२ मा यु–१५ एसियन कप खेलेका थिए।
उनले उमेर समूहमा यु–१९ एसिया कप र विश्व कप, आइसिसी ट्रफी लगायतका थुपै्र प्रतियोगिता खेलेका छन्।
पारसले सन् २००४ मा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत मलेसिया विरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए।
पारसले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टि–२० अन्तर्राष्ट्रिय, २ फस्ट क्लास र ४४ लिस्ट ‘ए’ खेलेका छन्।
उनले सन् २०१८ मा नेदरल्यान्ड विरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। सन् २०२० मा अमेरिकाविरुद्ध अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
पारसले एकदिवसीय अन्तर्राष्ट्रियमा समान १ शतक र १ अर्धशतक सहित ३१५ बनाएका छन्। उनले एकदिवसीयको एक इनिङमा बनाएको सर्वाधिक रन ११५ हो।
पारसले सन् २०१४ मा हङकङ विरुद्धको खेलबाट टि–२०अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। सन् २०२० मा थाइल्याण्ड विरुद्ध अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेले।
पारसले टि–२० अन्तर्राष्ट्रियमा १ शतक र ४ अर्धशतक सहित ७९९ रन प्रहार गरेका छन्। अविजित १०६ रन प्रहार गर्नु उनको टि–२० अन्तर्राट्रियको उत्कृष्ट प्रदर्शन हो।
पारसले फस्ट क्लब क्रिकेटका ७२ रन प्रहार गरेका छन्। ४४ रन प्रहार गर्नु उनको फस्ट क्लासमा उत्कृष्ट प्रदर्शन हो। पारसले लिस्ट ‘ए’ मा ३ शतक र ९ अर्धशतक सहित १, ४९७ रन प्रहार जोडेका छन्। ११५ रन बनाउनु उनको लिस्ट ‘ए’मा उत्कृष्ट प्रदर्शन हो।
उनले एकदिवस अन्तर्राष्ट्रियमा ९, टि–२० अन्तर्राष्ट्रियमा ८, फस्ट क्लासमा १ र लिस्ट ‘ए’मा २६ विकेट हात पारेका छन्।
पारसले सन् २०१२ एसिसी ट्रफी अन्तर्गत कुवेत विरुद्धको खेलमा ७७ बलको समाना गर्दै अविजित १०६ रन बनाएका थिए। यो नेपालका लागि उनको पहिलो अन्तर्राष्ट्रिय शतक थियो।
पारस एकदिवसीय र टि–२० अन्तर्राष्ट्रियमा नेपलाका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। उनले सन् २०१९ सेप्टेम्बर २८ मा सिंगापुरविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए।
२०१९ जनवरी ८ मा युएइविरुद्धको एकदिवसीय खेलमा पारसले शतक बनाएका थिए। अधिंकाश समय विभागीय टोली नेपाल एपिएफ क्लबबाट घरेलु क्रिकेट खेलेका पारस पछिल्लो समय भने बागमती प्रदेशबाट खेल्दै आएका छन्।
पारसले हालसम्म विदेशी फ्रेन्चाइज लिगका रूपमा टिम अबुधाबीबाट टि–१० लिग खेलेका छन्।
पारसले विसं २०७३ र २०७४ मा नेपाल खेल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्ट्स अवार्ड वर्षको उत्कृष्ट खेलाडी चुनिएका थिए।
उनले २०७५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले संघले प्रदान गर्ने स्पोर्ट्स अवार्डमा उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड हात पारेका थिए।
विसं २०७७ मा पारस आइसिसीले प्रदान गर्ने दशकको उत्कृष्ट पुरुष क्रिकेटर अवार्डमा मनोनयमा परेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।