प्रचण्डलाई मन्त्री छान्न सकस : कहाँ अड्कियो कुरा ?

नेकपा माओवादी केन्द्रभित्र देउवा सरकारमा मन्त्री थप गर्ने विषय पेचिलो बन्दै गएको छ। माओवादीले आफ्ना मन्त्रीहरुको नाम नदिँदा प्रधानमन्त्री बनेको ३ हप्ता पुग्दापनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

पाँच दलीय गठबन्धनका सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री भए। सोही दिन उनले कांग्रेसका २ र माओवादीका २ जनालाई समावेश गरेर मन्त्रिमण्डल गठन गरेका थिए। तीन साता पुग्दापनि देउवाले मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

साझेदार दल माओवादी केन्द्र र जसपाले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो नलगाउँदा अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन। 

उता, एमालेको माधव नेपाल समूह सरकारमा सहभागी हुने, नहुने अन्योलताले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। सत्ता गठबन्धनको बैठकमा नेपाल समूहबाट प्रतिनिधित्व गरेर पुगेका डा. विजय पौडेलले सरकारमा सहभागी नहुने बताएका थिए। नेपाल पक्षका केही सांसद भने आफूहरू सरकारमा सहभागी हुने कुरा सार्वजनिक रुपमा भन्दै आएका छन्। 

एमाले नेपाल पक्ष अन्योलमा 

देउवा प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरन्तर माधव नेपालसँग संवादमा छन्। नेपाललाई सरकारमा सहभागी हुनका लागि प्रचण्डले पटक–पटक आग्रह गरे। 



गत आइतबार प्रचण्डसँग कोटेश्वरस्थित एक व्यापारीको घरमा भएको छलफलमा नेता नेपालले केही समय पर्खन अनुरोध गरेका थिए। त्यसअघि र पछि प्रचण्डले माधव नेपाल समूहको अलमलका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताउँदै आएका थिए। 

एमालेभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा रहेका नेपाल पक्षका नेताहरू सरकारमा जान हतारो गर्न नहुने बताउँदै आएका छन्। तर देउवालाई विश्वासको मत प्रदान गरेका २२ सांसदहरुले भने सरकारमा सहभागी हुनपर्ने भन्दै नेता नेपालमाथि बढाउँदै आएका छन्।



नेपाल पक्षका हार्डलाइनर नेता तथा सांसद मेटमणि चौधरीले सरकारमा सहभागी हुने कुरा खुलेआम बताउँदै आएका छन्। संसदको पूरा कार्यकाल चलाउन आफूहरुको भूमिका रहने भन्दै सरकारमा सहभागी हुनका लागि छलफल भइरहेको उनको भनाइ छ। 

एमालेको माधव नेपाल पक्षको अलमलकै कारण माओवादी र जसपाले मन्त्री बन्नेको नाम टुंग्याउन नसकेको भने होइन। तत्काल माधव नेपालहरू सरकारमा नआउने भएपछि मन्त्रालय बाँडफाँडको विषयमा कुरा अल्झिएको माओवादीका एक स्थायी समिति सदस्यले फरकधारलाई बताए। 

‘अब माधव नेपाल समूहका कारणले माओवादी वा जसपाले मन्त्रालय टुंग्याउन नसकेको भन्ने होइन’ उनले भने ‘उहाँ(माधव नेपाल)हरू नआउने भएपछि अब बाँडफाँडको विषयमा अड्किएको हो कुरा चाँही।’

किन सकस परिरहेछ माओवादीमा ?

एमालेसँग एकता गरेर नेकपा बनेपछि सरकारमा गएको माओवादी केन्द्र प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सरकारबाट बाहिरिएको थियो। कांग्रेससँग गठबन्धन बनाएर माओवादी अध्यक्ष प्रचण्ड सत्ता आफूतिर पार्न त सफल भए। तर, मन्त्रालय बाँडफाँडका उनलाई निकै सकसमा परिरहेका छन्। 

२५ सदस्यीय मन्त्रिमण्डल बनाउँदा आफूहरुले ७ वटा मन्त्रालय पाउने प्रचण्डले सार्वजनिक रुपमै भन्दै आएका छन्। त्यतिमात्र होइन ७ वटामध्ये आफ्ना ४९ जनै सांसदलाई मन्त्रालय चाहिएको भन्दै उनले सार्वजनिक रुपमै अभिव्यक्ति दिए। प्रचण्डको यो अभिव्यक्तिले माओवादीमा असन्तुष्टि समेत चुलिएको थियो। 

आफैंले भनेजस्तै यतिबेला प्रचण्ड तनावमै छन्। मन्त्री र मन्त्रालयको टुंगो लगाउन नसकेका प्रचण्ड आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा पुगेका थिए। त्यहाँ उनलाई पार्टीका केही सांसदले मन्त्रालय बाँडफाँडको विषय कहाँ पुगेको हो ? भन्दै प्रश्न गरेका थिए।

‘अब न्यूनतम कार्यक्रम टुंग्याएर त्यसपछि १/२ दिनभित्र टुंगिन्छ’ अध्यक्ष प्रचण्डले संसदमा भेट हुँदा भनेको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने। उनका अनुसार माधव नेपालसहितको गठबन्धनलाई एउटा महत्वपूर्ण राजनीतिक कोर्सको रुपमा प्रचण्डले लिएका छन्। जसका कारण उनी दैनिकजसो माधव नेपाल भेट्न कोटेश्वर पुग्ने गरेका छन्।

कहिले टुंगिन्छ मन्त्रालय बाँडफाँड ? 

माओवादीका ती स्थायी कमिटी सदस्यका अनुसार अबको १÷२ दिनमै यो विषय किनारा लाग्छ। ‘अघि पालिर्यामेन्टमा अध्यक्षसँग भेटेको थिएँ। अब न्यूनतम कार्यक्रम टुंग्याएर त्यसपछि १÷२ दिनभित्र टुंगिन्छ भन्नुभयो ’ ती स्थायी समित सदस्यले भने, ‘माधव नेपालजी गठबन्धनको एउटा महत्वपूर्ण कोर्स हो। उहाँहरुले केही समय चाहिन्छ हामीलाई भन्नुभयो। तर अब उहाँहरू नआउने भएपछि बाँडफाँड कसरी गर्ने भन्ने कसरतमा अध्यक्ष हुनुहुन्छ।’

उता, अर्को सत्ता साझेदार दल जसपाको आन्तरिक विवाद बल्लतल्ल सुल्झिएको छ। जसपाको विवाद सुल्किएकाले  पनि अब सरकार गठनमा ढिलाइ नहुने ती माओवादी स्थायी समिति सदस्यका दावी छ। 

‘बाबुराम जी, उपेन्द्र जी, उहाँहरू त निर्वाचन आयोगको विवादमै हुनुहुन्थ्यो। बल्लबल्ल आधिकारिकताको समस्या हल भयो’ उनले भने, ‘त्यसपछि अन्य कुराहरू स्वभाविक ढंगले भएको छन्। माधव जीसँग कुरा भएको छ, उहाँहरू नआउने हुँदा बाँकी रहेकाको बीचमा १–२ दिनमा हुन्छ।’

मन्त्री छान्ने कुरामा  पार्टीभित्र केही समस्या भएपनि ढिलाइ हुनुको मुख्य कारण त्या मात्रै नभएको ती स्थायी समिति सदस्यले बताए। माओवादीले कुन–कुन मन्त्रालय पाउने भनेर प्रधानमन्त्री देउवाले स्पष्ट नपारेकाले पनि भनिएको समयमा निर्णय नभएको उनको भनाइ छ। ‘पार्टीभित्र केही समस्या त भइहाल्छन्।

तर, मन्त्रालय बाँडफाँट नभइकन पार्टीले गरेन मात्र भन्ने कुरा भएन्’ ती नेताले भने, ‘उहाँ(देउवा)हरुले मन्त्रालयका बारेमा न भनेकाले पनि भनिएको मितिमा नभएको हो।’

अर्का एकजना स्थायी कमिटी सदस्य पनि मन्त्रालय बाँडफाँडमै कुरा नमिलेका कारण मन्त्रिपरिषदमा जान ढिलाई भइरहेको तर्क गर्छन्। ‘हिजोको बैठकले गर्ला भन्ने थियो बैठक नै बस्न सकेन्। मलाई लाग्छ मन्त्रालय बाँडफाँडमै कुरा नमिलेको हो।’ 

पहिला माधव नेपालहरुलाई केही समय कुर्ने भनिए अहिले त्यो नभएको माओवादी नेताले बताए। अहिले मुख्य गरी मन्त्रालय बाँडफाँडका विषयमा कुरा अल्झिएको छ। भोलिसम्म यो विषय टुंगिने विश्वास माओवादीका ती नेताले व्यक्त गरे। 

  • प्रकाशित मिति : साउन १९, २०७८ मंगलबार २०:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया