एमालेभित्रको एकताले सार्थक रुप लिन नसकिरहेका बेला सो पार्टीको माधव नेपाल नेपाल समूहले भने सरकारमा जाने तयारी गरेको छ ।
नेपाल पक्षकै निर्णय नआएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्न सकेका छैनन् ।
केही दिनयता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई निरन्तर भेट गर्दै आइरहेका छन् । हरेक भेटमा उनले सरकारमा आउन र आगामी दिनमा मिलेर अघि बढ्न आग्रह गरिरहेको बुझिएको छ ।
मंगलबार बिहान पनि प्रचण्डले नेपालसँगको भेटलाई निरन्तरता दिएका थिए । आजको भेटमा नेपालले आफूहरु सरकारमा जान तयार रहेको संकेत गरेको माओवादीनिकट स्रोतले जानकारी दिएको छ ।
एमालेका दोस्रो तहका नेताहरु एकताको प्रयासमा निरन्तर लागे पनि सो प्रयास निरर्थक बन्दै गइरहेको छ ।
पार्टी अध्यक्ष ओलीले सार्वजनिक रुपमै ‘नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन’ भन्दै आइरहेका छन् । ओलीले एकपक्षीय रुपमा विभागहरु पनि गठन गरेर अधिवेशनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
यी सबै परिदृश्यले एमाले मिलनको भन्दा विछोडको सम्भावनालाई नै मजबुत बनाएको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।