यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा भएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार एक समारोहबीच सन् २०१८ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार इन्जाइसम्बन्धी अनुसन्धानका लागि फ्रन्सेस एच आर्नल्ड र पेप्टाइड तथा एन्टिबडीसम्बन्धी अनुसन्धानका लागि जर्ज पी स्मिथ र सर ग्रेगरी पी विन्टरलाई दिने घोषणा गरेको हो । आर्नल्ड र स्मिथ अमेरिकी प्राध्यापक हुन् भने विन्टर बेलायती रसायनशास्त्री हुन् ।
पहिलोपटक निर्देशित उत्पत्ति प्रक्रियाबाट इन्जाइमको उत्पादन गरेकी आर्नल्डले पुरस्कारको आधा राशि पाउनेछिन् । बाँकी आधा राशि भने ब्याक्टेरियोफेज भाइरसबाट नयाँ प्रोटिनको उत्पादन गर्न सकिने ‘फेज डिस्प्ले’ विधिको विकास गरेका स्मिथ र यसै विधिको प्रयोग गरी एन्टिबडीहरूको निर्देशित उत्पादन गरेका विन्टरले बाँड्नेछन् ।
प्रोफेसर फ्रन्सेस एच आर्नल्ड क्यालिफेर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा केमिकल इन्जिनियरिङ, बायोइन्जिनियरिङ तथा बायोकेमिस्ट्री विषय अध्यापन गर्छिन् । सन् १९५६ मा अमेरिकाको पिट्सबर्गमा जन्मिएकी आर्नल्डले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट केमिकल इन्जिनियरिङमा पिएचडी गरेकी छिन् ।
१९९३ मा उनले पहिलोपटक निर्देशित प्रक्रियाबाट इन्जाइमको उत्पादन गरेकी थिइन् । इन्जाइम एक प्रकारको प्रोटिन हो, जसले शरीरका रासायनिक प्रतिक्रियाहरूमा उत्प्रेरकको भूमिका खेल्दछ । त्यसयता उनले नयाँनयाँ उत्प्रेरकको उत्पादन गर्ने विभिन्न विधिको विकास गरेकी छिन् । उनको उत्पादन विधि रसायनहरूको उत्पादनमा वातावरणमैत्री विधिका रूपमा प्रख्यात छ । औषधि तथा नवीकरणीय इन्धनको उत्पादनमा यसको उल्लेख्य महत्व रहेको छ ।
जर्ज पी स्मिथ कोलम्बियास्थित युनिभर्सिटी अफ मिसौरीका बायोलोजिकल साइन्सका प्रोफेसर हुन् । सन् १९४१ मा अमेरिकाको नर्वालिकमा जन्मिएका स्मिथले हार्वर्ड युनिभर्सिटीबाट ‘ब्याक्टेरियोलोजी एन्ड इम्युनोलोजी’मा पिएचडी गरेका छन् ।
उनले १९८५ मा विकास गरेको ‘फेज डिस्प्ले’ विधिले उनलाई नोबेल पुरस्कार दिलायो । उनले पुरस्कारको एकचौथाइ राशि प्राप्त गर्नेछन् । उनीसँग पुरस्कार बाँडेका ग्रेगरी विन्टरले उनकै विधिलाई व्यवहारमा उतारेका हुन् ।
विन्टर बेलायतस्थित एमआरसी लेबोरेटोरी अफ मलिकुलर बायोलोजीमा कार्यरत छन् । १९५१ मा बेलायतको लेसेस्टरमा जन्मिएका विन्टरले क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरेका छन् ।
उनीहरूको अन्वेषणले एन्टिबडीको उत्पादनमा नयाँ अध्याय थपेको एकेडेमीको ठहर छ । फेज डिस्प्ले विधिबाट उत्पादित एन्टिबडीको सहायताले विषादीहरू न्युट्रलाइज गर्न सकिन्छ । ‘मेटास्ट्याटिक क्यान्सर’लगायत विभिन्न जिनेटिक तथा अटोइम्युन रोगहरूको उपचारमा समेत यो उपयोगी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।