यी दुई पाैडीबाज जसले ओलम्पिकमा तहल्का मच्चाए

ओलम्पिकलाई विश्व खेलकुदको महामेला मानिन्छ । यति बेला यो महामेला जापानको टोकियोमा लागिरहेको छ । जारी ३२ औँ ग्रिष्मकालीन ओलम्पिकमा ३३ खेलका ३३९ विधा समावेश गरिएको छ । 

टोकियो ओलम्पिकमा  विश्वका २०० भन्दा बढी देशका ११ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् । तीमध्ये केही खेलाडी विभिन्न कारणले चर्चामा आएका छन् । 

अमेरिकी पौडीबाज सिलेब ड्रेसल र अस्ट्रेलियन पौडीबाज एम्मा म्याकेओन जारी ओलम्पिकमा सर्वाधिक चर्चा कमाउने खेलाडी हुन् । उनीहरूले टोकियो ओलम्पिकमा  धेरै पदक जितेर तहल्का मच्चाएका छन् । यहाँ यी दुईजनाकाे बारेमा छाेटकरीमा चर्चा गरिनेछ।

सेलेब ड्रेसल 

अमेरिकी पौडीबाज ड्रेसलले टोकियो ओलम्पिकमा  ५ स्वर्ण हात पारेर सारा विश्वको ध्यान आफूतिर तान्न सफल भए । 

२४ वर्षीय ड्रेसलले जारी ओलम्पिकमा पुरुष ४ गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर बटरफ्लाई, १०० र ५० मिटर फ्रिस्टायल तथा ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण हात पारे ।



ड्रेसलले व्यक्तिगत रूपमा १०० मिटर बटरफ्लाईमा तथा समूहगत रूपमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमान बनाउन सफल भए । उनले १०० र ५० मिटर फ्रिस्टायलमा ओलम्पिक कीर्तिमान पनि कायम गरे । 

ड्रेसलको जन्म सन् १९९६ को अगस्ट १६ मा अमेरिकाको फ्लोरिडामा भएको हो । विद्यालय जीवनदेखि नै पौडी खेल्न थालेका उनले सन् २०१३ मा फिना वल्र्ड जुनियर स्विमिङ च्याम्पियनसिपमा १ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेका थिए । 



पहिलोपटक सन् २०१६ को रियो ओलम्पिकमा सहभागिता जनाएका ड्रेसलले ४ गुणा १०० मिटर फ्रिस्टायल रिले र मिड्लेमा स्वर्ण हात पारेका थिए । ड्रेसलले सन् २०१७ को वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण, २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र २ रजत प्राप्त गरे । 

विश्व पौडीमा आफूलाई स्थापित गराइसकेको ड्रेसल अमेरिकी महान पौडीबाज माइकल फ्लेप्सको पदचापलाई पछ्याइरहेका छन् । 

उनले फ्लेप्सको जस्तो सफलता हासिल गर्लान् वा नगर्लान् त्यो त समयले नै बताउने छ । सेलेब वर्तमान समयका एक उत्कृष्ट पौडीबाज हुन् भन्ने कुरामा दुईमत छैन ।

एम्मा म्याकेओन

२७ वर्षीया अस्ट्रेलियन पौडीबाज म्याकेओनले टोकियो ओलम्पिकमा ४ स्वर्ण र ३ कास्यसहित ७ पदक जितेर तहल्का मच्चाइन्  ।

उनले महिला १०० र ५० मिटर फ्रिस्टायल, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले, ४ गुणा १०० मिटर मिड्ले रिलेमा स्वर्ण पदक हात पारिन् ।

म्याकेओनलले मिक्स ४ गुणा १०० मिटर मिड्ले रिले, महिला १०० मिटर बटरफ्लाई र ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा कास्य पदक जितिन् । 

म्याकेओनले व्यक्तिगत रूपमा महिला १०० र ५० मिटर फ्रिस्टायलमा ओलम्पिक कीर्तिमान कायम गर्दा समूहगत रूपमा ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा विश्व र ४ गुणा १०० मिटर मिड्ले रिलेमा ओलम्पिक कीर्तिमान राख्न सफल भइन् । 

सन् १९९४ को मे २४ मा अस्ट्रेलियाको न्यु साउथ वेल्समा जन्मिएकी म्याकेओनले सन् २०१० को समर युथ ओलम्पिकमा १ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी थिइन् । 

वर्ल्ड च्याम्पियनसिप  २०१३ मा ३ रजत, सन् २०१५ मा समान १-१ स्वर्ण र कास्य, २०१७ मा ४ रजत र २ कास्य तथा सन् २०१९ मा ३ स्वर्ण २ रजत र १ कास्य हात पारिन् ।

म्याकेओनले पहिलोपटक सन् २०१६ को रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । उनले महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा स्वर्ण, ४ गुणा १०० मिटर मिड्ले रिले र ४ गुणा २०० मिटर फ्रिस्टायलमा रजत र २०० मिटर फ्रिस्टायलमा कास्य पदक चुम्न सफल भइन् ।

म्याकेआनले आफूलाई अस्ट्रेलियाको मात्र नभएर विश्वकै एक उत्कृष्ट महिला पौडीबाजको रूपमा स्थापित गराइसकेकी छन् । 

  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १४:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया