[टिप्पणी] फुटको डिलमा नेकपा एमाले र विसा पार्टी

नेपालको यतिखेरको राजनीति दृश्यमा फुटको डिलमा पुगेका दुईवटा पार्टी छन्– नेकपा एमाले र विवेकशील साझा (विसा) पार्टी । एमालेको फुट कुनै सैद्धान्तिक मतभेदका कारण हुन लागेको होइन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपालको आपत्तिका कारण पार्टी फुटको डिलमा उक्लिएको हो । तर, विवेकशील साझामा भने शीर्ष तहका नेताहरुबीच ‘पार्टीलाइन’ फरक पर्दै गएकाले फुटको डिलमा त्यो पार्टी पुगेको हो । 

भनिरहनु पर्दैन, नेपालमा राजनीतिक पार्टीहरु टुटफुट हुनु सामान्य प्रक्रिया अन्तर्गत पर्न थालेको लामो समय भइसकेको छ । सत्तारुढ नेपाली कांग्रेसले ‘महामानव’ विशेषण दिएको पार्टीका स्वर्गीय नेता विश्वेश्वरप्रसाद कोइरालाकै पालामा यो पार्टी फुटेको थियो । डिल्लीरमण रेग्मीले राणा शासनको अन्त्यताका नेपाली राष्ट्रिय कांग्रेस गठन गरेका थिए । तर, मूलधारबाट चोइटिएर गएको त्यो पार्टी अहिले अस्तित्वमै छैन । रेग्मी स्वयंले राजनीति त्यागेर अध्ययन–अनुसन्धानमा आफूलाई समर्पित गर्न थाले । 

त्यसपछि नेपाली कांग्रेस २०५९ सालमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले फुटाए र नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । तर, उनी पाँच वर्षपछि पुनः माउ पार्टीमै फर्किए । किन नेपालमा पार्टीहरु फुटको संघारमा पुग्छन् ? के त्यो देश र जनताको हितका लागि गरिएको क्रियाकलाप हो ? आउनुस् एकछिन फुटको कारण खोजौँ ।

नेकपा एमाले
एमाले नेता ओली र नेपालबीच धेरै अघिदेखि मतभेद थियो । कतिसम्म भने सातौं महाधिवेशनमै ओली पार्टीलाई अध्यक्षात्मक प्रणालीमा चलाउनु पर्ने बताउँथे भने नेपाल महासचिवीय प्रणाली नै उत्तम भन्थे । यसलाई एकप्रकारले सैद्धान्तिक मतभेद मान्न सकिन्छ । दुई नेताबीचको त्यो सैद्धान्तिक मतभेदले आखिर निकास पायो र पार्टी ओलीले भनेजस्तै अध्यक्षात्मक प्रणालीमा चल्न थाल्यो । 

तर, अहिले तिनै दुई नेताबीच चलेको ‘जुँगाको लडाइँ’ले पार्टीलाई विखण्डित गरिदिने अवस्थामा पुर्याएको छ । दुई शीर्ष तहका नेताबीचको झगडा सत्तामा हुँदा र नहुँदा पनि उत्तिकै जारी छ । पार्टीबाट ओलीले सरकारको नेतृत्व गर्दा नेपाल पक्षका यति जना मन्त्री भए भन्ने वा नेपालले नेतृत्व गर्दा ओली पक्षका यति जना मन्त्री भन्ने चर्चा चलेकै हो । यसबाट पनि पार्टीमा स्पष्ट कित्ताकाट हुँदै आएको बुझ्न सकिन्छ । तर, त्यो कित्ताकाटले पार्टीलाई विभाजन नै गराउने अवस्था सिर्जना भएको थिएन । करिब साढे तीन वर्षअघि ओलीले सत्तारोहण गरेपछि भने एमालेभित्र कित्ताकाट झनै मौलाउन पुग्यो । यो कित्ताकाटमा ओली अलोकप्रिय शैली बढी जिम्मेवार देखिन्छ ।

कित्ताकाट र दुई नेताबीचको मनमुटावले आफ्नै पार्टीको सरकार ढल्यो, ओली सत्ताको कुर्सीबाट ओर्लिन बाध्य भए । माधव नेपाल गुटले कुनै नाता साइनो नजोडिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । त्यस घटनापछि एमाले अध्यक्ष ओली कुनै पनि हालतमा पार्टीमा माधव नेपाललाई स्थान नदिने पक्षमा अडिए । त्यतिमात्र होइन, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेर उनले नेपाललाई ‘गद्दार’, ‘अपराधी’ करार गरिदिए । यो तहको गाली तथा आरोप लगाइसकेपछि अब माधव नेपाल कुन मुखले ओलीलाई पार्टीको अध्यक्ष स्वीकारेर सम्झौता गर्न जालान् ? अवस्था निकै जटिल छ । र, यो जटिलताले नै एमाले नामको पार्टीलाई विभाजनको डिलमा उकालिदिएको हो ।



विवेकशील साझा (विसा)
नेपालको राजनीतिको धूमिल परिदृश्यमा वैकल्पिक राजनीतिक शक्ति बनेर उदाउने उद्देश्यले विवेकशील साझा पार्टीको जन्म भएको हो । निश्चित रुपमा विसाको जन्मले एकप्रकारको उत्साह र विश्वास पैदा गरिदिएको थियो, विशेषगरी युवापुस्तामा । तर, जन्म भएको निकै कम समयमै यो पार्टी फुटको सिकार भयो, तर पुनः जोडियो । त्यो पुनः जोडिएको कुरा पनि लामो समय टिकेन र अहिले फेरि यो पार्टी फुटको डिलमा पुगेको छ । 

विसा फुटको डिलमा पुग्नुको कारण विचार वा सिद्धान्त नै रहेको देखिन्छ । अध्यक्ष रवीन्द्र मिश्रले केही दिनअघि एकाएक पार्टीको विधानविपरीत प्रतिवेदन सार्वजनिक गरेपछि विसाभित्र हलचल नै मच्चियो । मिश्रले आफूले प्रस्तुत गरेको प्रतिवेदन देश र परिस्थिति सुहाउँदो अनि जनताको चाहना अनुकूलको बताइरहँदा सोही पार्टीका नेताहरु मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना र राजेन्द्र पंगेनीले काउन्टर दस्तावेज प्रस्तुत गरिसकेका छन् । यसले उक्त पार्टीमा मिश्र र अन्य नेताको वैचारिक मतभेद रहेको बुझाउँछ । जुँगाको लडाइँमा त पार्टी फुट्ने संस्कार बोकेको नेपाली राजनीतिमा सैद्धान्तिक असहमति भइसकेपछि के होला ? उत्तर स्पष्ट छ– पार्टी फुट्ने ।



पार्टीका प्रमुख रहेका मिश्रले निजी ढंगमा नयाँ प्रस्ताव, जुन सबै किसिमले पश्चगामी छ, त्यो ल्याउँदा पार्टीका अन्य नेताले मान्ने कुरा हुँदैन । कम्तीमा पनि उनले धर्मनिरपेक्षताबारे जनमत र संघीयता खारेजीको माग गर्दा एउटै राजनीतिक डुंगामा रहेका विसाका अन्य नेता–कार्यकर्तालाई सोध्नुपर्थ्यो । उनले मनोमानी ढंगमा ल्याएको दस्तावेज नै पार्टी फुट्ने मुख्य र बलियो आधार बन्न पुगेको छ ।

समग्रमा,
जनतामा स्थापित नेकपा एमाले होस् या नवजात र युवावर्गमा लोकप्रिय बन्दै गएको विवेकशील साझा नै किन नहोस्, तिनको फुटबाट जनता निराश बनेका छन् । संसदीय व्यवस्था भएको नेपालमा तीन–चार वटा पार्टी बलियो बन्दा सत्तालाई निरन्तर खबरदारी गर्न सहज हुन्छ र त्यो खबरदारीले जनहितका काम गर्न सरकार बाध्य हुन्छ । तर, यथार्थ हरेक पार्टी कमजोर बन्दै गएका छन् । कुनै एउटा पार्टीले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको देख्न अबका दिनमा निकै कठिन बनेको छ । 

करिब दुईतिहाइ मत ल्याएको वामपन्थी दलभित्रको कचिंगल अहिले उत्कर्षमा छ । विडम्बना त के छ भने, कुनै एउटा ठूलो पार्टी कमजोर भएको फाइदा अर्को पार्टीले लिने संस्कार बस्दै गएको छ । यसले राम्रो र जनहितकारी काम नगरी पनि निर्वाचनमा मत पाउने स्थिति बलियो बन्दै गएको देखाउँछ । यो अवस्था देश र जनताका निम्ति हानिकारक छ ।  

  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया