परमादेश सरकार बनेदेखि नै राजनीतिक अपराधिकरणको सुरुवात भयो : खिमलाल भट्टराई

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरण्को सुरुवात भएको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाएका हुन् । 

भट्टराईले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताएका हुन् । सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड १९ विरुद्धको खोपसमेत व्यवस्थित रुपमा जनता समक्ष पु¥याउन नसकेको बताए । 

भट्टराईले भने, ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो मुलुकमा राजनीतिक अपराधिकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतिमा चल्ने शासन व्यवस्था हो । तर, आज लोकतन्त्रको नाममा विधि र पद्धतिको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली जनतालाई पुग्नेगरी खोपको प्रवन्ध गरेको थियो । चिन्ताको विषय, अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पु¥याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउने, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’

सांसद भट्टराईले अदालत दलीय व्यवस्था र संसदीय परिपाटीको बर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक संघर्ष जारी राख्ने पनि बताए । उनले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले हार्ने पनि उल्लेख गरे । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उनले त्यसलाई स्वीकार्न नसक्ने बताए । 

भट्टराईले भने, ‘अदालत दलीय व्यवस्थाको बर्खिलाप गएको छ । अदालत संसदीय परिपाटीको विरुद्ध गएको छ । लोकतान्त्रिक मान्यताहरु खण्डित भएका छन् । संविधानको धज्जी उडाइएको छ । संविधानको ठाडो उल्लंघन र लोकतन्त्रको मर्म माथिको प्रहार सहन सकिन्न । कतिपयलाई मैले जितेको छु भन्ने लागेको हुन सक्दछ । तर, लोकतन्त्रले हार्दा अहिलेको राजनीतिक मञ्चमा कुनैपनि खेलाडीको जित हुनेवाला छैन । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण खतरनाक कुरा हो । यसको समर्थन गर्न सकिन्न । अदालतले गरेको यस गलत फैसलाको विरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्दछ । र, जारी राख्नुपर्दछ ।’

भट्टराईले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताए । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्ने उनले बताए । यस प्रकरणमा सरकारले केही गर्न नसकेको उनको भनाइ छ । 



भट्टराईले भने, ‘यो मानवताविरोधी जघन्य अपराध हो । नेपालीहरुका लागि यो असाध्यै दुःखद र पीडादायी घटना पनि हो । परमादेश सरकारले खुट्टा किन कमाएको हो ? भारतीय एसएसबीका जवानले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । देखि जान्ने साक्षीहरुले यो कुरा भनिरहेका छन् । बुझ्न बाँकी के छ ? यो मानवतासँग जोडिएको र राष्ट्रियतासँग पनि सम्बन्ध राख्ने घटना हो । भारतीय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति पनि हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाज्यूले भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर सम्वाद गर्नुपर्ने होइन र ? तार काटेर घटना घटाउने एसएसबीका जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन र ? बेपत्ता जयसिंहको परिवारलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने होइन ? तर, परमादेश सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन ।’

वर्तमान सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरिब र निमुखाको विरुद्धमा लागेको भट्टराईले बताए । सरकारले संसदलाई बिजनेस दिन नसकेको पनि उनले बताए । 



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १७:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया