कलाकार डंगोलको उपचारमा सहयोग गर्न सरकारसँग कोमल ओलीको माग

राष्ट्रिय सभाकी सांसद कोमल ओलीले कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बुधबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद ओलीले देशमा कलाकारहरुले ठूलो योगदान गर्ने भए पनि कलाकारलाई पर्दा सरकार मौन रहने गरेको बताइन् । 

हाल कलाकार पल्पसा डंगोल मिर्गौला रोगका कारण जीवन र मृत्युको दोसाँधमा रहेको भन्दै ओलीले उनको उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन् । उनले भनिन्, ‘कलाकार पल्पसा डंगोलको स्वास्थ्यउपचारका लागि सरकारले सक्दो सहयोग गरोस् भनेर यही सदनबाट प्रधानमन्त्रीज्यूसँग माग गर्दछु ।’

बैठकमा बोल्दै सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन् । ट्याक्सी चालक पनि मर्कामा नपर्ने र यात्रुले पनि सुलभ सेवा पाउने व्यवस्था यथाशीघ्र लागू गर्न उनले माग गरिन् । 

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गरेको आरोप लगाइन् । सो घटनाको छानबिनका लागि संसदीय समितिको गठन गर्न उनले माग गरिन् । पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि उनले ध्यानाकर्षण गराइन् । 

सांसद खिमकुमार विकले कोभिड १९ विरुद्धको खोपको आपूर्ति राम्रो भए पनि व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जाने युवालाई खोप अनिवार्य भएकाले युवाहरुले झन्झट भोगेको भन्दै उनीहरुलाई सहज उपलब्धता गराउन उनले सरकारको ध्यानाकर्षण गराए । 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १७:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया