राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने बताएका छन् । उनले मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लैजानका लागि वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् ।
पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए ।
नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित बिकेन्द्रित शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दाबी गरे ।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेता/कार्यकर्ता पार्टीको पूँजी भएको भन्दै थापाले इमान्दारितापूर्वक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गरे ।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको थापाको तर्क थियो । बैठकमा गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।