दार्चुला घटनाको छानबिन पारदर्शी हुन्छ : संयोजक गौतम

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाको छानबिनका लागि गठित समितिले पारदर्शी रुपले घटना छानबिन गरिने बताएका छन् । गृह मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जनार्दन गौतमले बुधबार पत्रकारसँग भएको छलफलमा यस्तो दाबी गरेका हुन् ।

दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले घटनास्थल जानुपूर्व जिल्ला स्थित पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको हो ।
 
छानबिनका लागि आवश्यक सूचना तथा प्रमाण संकलनअघि भएको छलफलका क्रममा समितिका संयोजक गौतमले मालघाट घटनालाई नजिकबाट अनुसन्धान गरी छानबिन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान व्यास गाउँपालिका–२ माल घटनाका तीनजना प्रत्यक्षदर्शीलाई भेटेर घटनाबारे गहिरो सोधपुछ गरेको थियो ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्याणसिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकताबारे सोधपुछ गरेको हो । 

टोलीले प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र गाउँपालिकाका जनप्रतिनिधिको भनाइ र घटनासँग सम्बन्धित प्रमाण संकलन तथा विश्लेषण गरी सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।

अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरु छानबिन समितिमा रहेको भन्दै संयोजक गौतमले घटनाको सत्यतथ्य बाहिर आउनेमा विश्वस्त रहन आग्रह गरे ।

अनुसन्धान टोलीले घटनास्थल मालघाटसम्मै पुगेर अध्ययन गर्ने र सम्बद्ध सबै पक्षसँग सोधपुछ गरेर सत्यतथ्य प्रतिवेदन तयार गर्ने बताएको छ । 



साउन १५ गते शुक्रबार विहान महाकाली नदीमा खसेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामी अझै भेटिएका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार २०:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया