प्रहरी जवानको लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अर्कैको नाममा परीक्षा दिन खोज्ने ६ जनालाई बुधबार पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा सञ्चालित प्रहरी जवानको लिखित परीक्षामा परीक्षा दिन पुगेका उनीहरुलाई पक्राउ गरिएको प्ररहीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षका सागर राई, २२ वर्षीय संगम राई रहेका छन्।
त्यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीद भूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका–८ का २७ वर्षीय राजकुमार राई पक्राउ परेका हुन्।
नक्कली परिक्षार्थी पक्राउ परेसँगै परीक्षामा आर्थिक चलखेल हुने गरेको खुलेको छ। नक्कली परीक्षार्थीलाई परीक्षामा सामेल गराउनेमा प्रहरी अधिकारीको संलग्नता भए नभएको विषयमा छानबिन सुरु भएको छ।
प्रहरीका अनुसार प्रहरी पक्राउ परेका सूर्य राईले प्रहरी जवानमा नाम निकालिदिन्छु भन्दै सोही ठाउँका संगम राईबाट १ लाख १८ हजार रुपैयाँ लिएको खुलेको छ।
उनले सागर राईबाट १ लाख १८ हजार, धनकुटा साँगुरीगढीका सरोज राईबाट दुई लाख रुपैयाँ लिएको खुलेको छ। प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरले पक्राउ गरी उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ।
उनीहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा ५ दिनको म्याद लिई थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।