अपहरणको आरोप लागेका एमाले नेता भूमिश्वर ढकाल भन्छन्- हातखुट्टा बाँधेर ल्याएको हो र अपहरण भन्ने ?

लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले केही समयअघि पत्रकार सम्मेलन गर्दै आफूलाई पाँच दिन मुख्यमन्त्री शंकर पोखरेलको घरमा बन्धक बनाएर राखिएको बताएकी छिन् । उनले आफूलाई बन्धक बनाएर राख्नका लागि दाङको घरमा नै नेकपा एमालेका मुख्य सचेतक भूमिश्वर ढकाल आएको पनि आरोप लगाएकी छिन् । 

सांसद वलीले यस्तो आरोप लगाएपछि हामीले भूमिश्वर ढकालसँग टेलिफोनमा सम्पर्क गरेका छौँ । 

उनले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने– 

आज उहाँले जुन आरोप लगाउनु भएको छ, त्यो सरासर झुट र गलत आरोप हो । उहाँले यस्तो आरोप किन र कसरी लगाउनु भयो भन्ने सोच्न पनि सकिँदैन । 

यसका लागि केही सन्दर्भबारे पहिले कुरा गरौँ । खासमा विमल वलीलाई एउटा पत्र आएको थियो, स्पष्टिकरणको । स्पष्टिकरण नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओलीले लेख्नु भएको थियो । म त्यही पत्र लिएर उहाँको घरमा पुगेको थिएँ । उहाँलाई पत्र दिन । 

उहाँ कहिले माओवादीमा जान्छु भनिरहनु भएको थियो, कहिले एमालेमा नै आउँछु भनिरहनु भएको थियो । हामीले मात्र होइन, लोकल पार्टीका नेताहरुले पनि उहाँलाई एमालेमा फर्किनुस् भन्नु भएको थियो । 



यही सन्दर्भमा म उहाँलाई सोधिएको स्पष्टिकरण पत्र लिएर उहाँको घरमा पुगेको थिएँ । १५ साउनको विहानको कुरा हो । उहाँ खाना खाइसकि घरमा सबैसँग छलफल गरेर बसिरहनु भएको थियो । 

म दिउँसो उहाँको घरमा पुगेको थिएँ, पत्र बुझाउने हेतुले ।



मैले उहाँलाई घरबाट बाहिर पनि बोलाइनँ, अन्यत्र कतै भेट्न आउनुस् पनि भनेको होइन । उहाँकै घरमा पुगेको हो । उहाँसँग त्यहाँ सामान्य कुराकानी भयो, उहाँले भन्नुभयो– मलाई मुख्यमन्त्रीसँग कुराकानी गर्नु छ, भेटाइदिनुहोस् न ।

उहाँले भेट्न खोजेपछि मैले मुख्यमन्त्री पोखरेलसँग कुरा गरेँ । उहाँले पनि हुन्छ भन्नु भयो ।

घरमा विमला कमरेड आमा, छोरा, दिदी, भिनाजुसँग हुनुहुन्थ्यो । सबैसँग हामीले यस विषयमा पनि छलफल गरेका थियौँ । सबै बसेर छलफल गरेपछि उहाँ मेरो गाडीमा चढेर आउनु भएको हो । 

हामी दाङबाट बुटवल फर्किँदा इमलियामा आएर खाना पनि खाएका थियौँ । उहाँले चाहिँ मैले भर्खर खाना खाएको हो भोक छैन पनि भन्नु भएको थियो ।

सबै सरसल्लाह भएर उहाँ मेरो गाडीमा आउनु भएको हो, उहाँसँगै उहाँकी दिदी पनि हुनुहुन्थ्यो ।

उहाँ केटाकेटी होइन, बालबालिका होइन । मैले हात खुट्टा बाँधेर उहाँलाई ल्याएको थिइनँ । के मैले उहाँको हातखुट्टा बाँधेर ल्याएको हो र मैले अपहरण गरेँ भन्नलाई ?

अब हेर्नुस्, उहाँकै सहमतिमा नआएको भए उहाँले बाटोबाट कसैलाई फोन गर्नुहुन्थ्यो होला । उहाँको मोबाइल त उहाँसँगै थियो, उहाँको मोबाइल मैले स्विच अफ गर्नु पनि भनेको थिइनँ, मैले लिएको पनि थिइनँ । 

खाना खाने ठाउँ इमलियामा उहाँले चिच्याउन सक्नुहुन्थ्यो, अरुलाई भन्न सक्नुहुन्थ्यो । 

फेरि मेरो गाडीको अगाडिको सिटमा म थिएँ, पछाडि उहाँ हुनुहुन्थ्यो, दिदीसँग । उहाँले कसैलाई नभने पनि उहाँको दिदीले भन्नुहुन्थ्यो होला ।

हामी आउँदा उहाँसँग मोबाइल थियो, प्रहरीलाई खबर किन गर्नु भएन ? उहाँलाई हामीले नराम्रो केही गरेको थिएन, उहाँकै सल्लाहमा उहाँ मुख्यमन्त्री भेट्न आउनु भएको हो ।

हामी त्यहाँबाट आएपछि सोझै मुख्यमन्त्री निवासमा पुग्यौँ । मुख्यमन्त्रीसँग कुराकानी भएपछि हामीले उहाँलाई बाहिर जाऔँ पनि भनेका थियौँ । महिला मान्छे एक्लै मुख्यमन्त्री निवासमा बस्न अप्ठ्यारो होला भन्ने हामीले पनि सोचेका थियौँ ।

तर, उहाँले आफू बाहिर नबस्ने र त्यहाँ नै बस्ने पनि बताउनु भयो । उहाँले यस्तो भनेपछि हामीले त्यहाँ नै दाङकी अर्की माननीयज्यूलाई पनि बस्न अनुरोध गर्यौँ ।

तर, अहिले किन उहाँ सब यस्तो भन्न लाग्दै हुनुहुन्छ भन्ने हामीले बुझ्न सकेका छैनौँ । यसलाई किन उहाँले राजनीतिक रंग दिन खोज्नु भयो, उहाँको चाहना के हो भन्ने बुझ्ने कुरा नै भएन । नत्र एउटा माननीयलाई कसैले नेपालगन्ज लैजान्छु भनेर बुटवल ल्याउन सक्छ ?

मेरो गाडीको पछाडिको सिटमा आनन्दले सुतेर उहाँ बुटवल आउनु भएको छ, बीचमा खासै धेरै कुराहरु भएका छैनन् । तर, अहिले आएर उहाँले मलाई अपहरण गर्यो भन्ने आरोप लगाउने ? म केही बेरमा पत्रकार सम्मेलन गर्दैछु ।


  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १४:५९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया