संसदीय समितिको निर्देशन सम्बन्धित निकायले कार्यान्वयन गरेनन् : प्रवक्ता पाण्डे

संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले नेपालमा संसदीय समितिको निर्देशन कार्यान्वयन गरेपनि, नगरेपनि भयो भन्ने मान्यता रहेको बताएका छन् । 

प्रवक्ता पाण्डेले अन्तर्राष्ट्रिय मान्यताअनुसार सम्बन्धित निकायले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्दा कठिनाइ भयो भने पुनरावलोकनको लागि आउनुपर्ने उल्लेख गर्दै यसलाई पुनर्विचार गरेर आए थप छलफल गरेर अघि बढ्न सकिने बताए । 

नेपालमा यो अभ्यास नभएको बताउँदै डा. पाण्डेले यो अभ्यासलाई पुनर्जीवित बनाएर काम गर्न आगामी दिनमा थप सल्लाह र छलफल गरेर अघि बढ्ने पनि प्रतिवद्धता जनाए । 

पाण्डेले संसदीय समितिले कतिपय विषयमा गहिरिएर अध्ययन गरेको तर कतिपय विषयमा गम्भीर अध्ययन नभएको पाइएको पनि बताए । प्रवक्ता पाण्डेले आगामी दिनमा यसलाई गम्भीर अध्ययन गरेर थप मजबुत तरिकाले सम्बन्धित निकायलाई सुझाव दिन सक्ने गरी प्रतिवेदन ल्याउन माग उठिरहेको समेत प्रष्ट पारे । 

पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसारको संसदीय समितिहरुले गरेको निर्देशन कार्यान्वयनको सबालमा अन्तर्राष्ट्रिय अभ्यास के छ भन्ने कुरा पनि यो प्रतिवेदनमा अलिकति झल्क्याएका छौँ । अन्तर्राष्ट्रिय अभ्यासमा के देखिन्छ भने राष्ट्रपति प्रमुख हुने देशको संसदीय समितिले गरेको निर्देशन १०० प्रतिशत म्यान्डेटरी कानुनतः कार्यान्वयन गर्नैपर्ने देखिँदो रहेछ । संसदीय व्यवस्था प्रधानता भएका बेलायत लगायतका मुलुकहरुमा एउटा मोडल प्रेसर, उहाँहरुलाई नैतिक प्रेसरहरु, समितिको निर्देशन कार्यान्वयन गर्नु भनेको कानुनी बाध्यात्मकता नभएपनि एउटा मोडल प्रेसर क्रियट गर्ने खालको अभ्यास देखिँदो रहेछ । भारत त्यस्तै संघीय मुलुक हो, जसमा सुझाव र परामर्श दिएको अनुसार लिने रहेछ । हाम्रो अभ्यास कस्तो छ भने, कतिपय निर्देशन कार्यान्वयन गरे पनि भयो र नगरे पनि भयो भन्ने किसिमको मान्यता अघि आएको देखिन्छ ।’ 

पाण्डेले थपे, ‘तर, अन्तर्राष्ट्रिय समग्र मान्यता के छ भने यदि सम्बन्धित निकायले संसदीय समितिको निर्देशन कार्यान्वयन गर्दा उहाँहरुलाई कठिनाइ पर्यो, हामी सक्नेछैनौँ भन्ने लाग्यो भने उहाँहरु पुनरावलोकनको लागि आउनुपर्ने रहेछ । अर्थात् सम्बन्धित निकायमा यसलाई पुनर्विचार गरियोस् भनेर आउनुभयो भने थप छलफल गरेर त्यसलाई निष्कर्षमा पुर्याउन सकिने अवस्था बन्न सक्ने रहेछ । तर, हामीकहाँ त्यो अभ्यास भएन । यस्तो अभ्यासलाई पुनर्जीवित गरेर प्रभावकारी बनाउने र दुईवटै कार्यान्वयन गर्ने निकाय र निर्देशन दिने निकायको बीचमा समन्वय एउटा हार्मोनी क्रियट गर्ने कुरामा पनि आगामी दिनमा यो अध्ययनले पोर्ट गर्छ भन्ने हामीलाई लागेको छ ।’





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १६:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया