सञ्चारकर्मीमाथि हातपात घटना : प्रतिवादीबाट क्षतिपूर्ति तिराइयो

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा सञ्चारकर्मीहरूमाथि भएको हातपात घटनामा जिल्ला प्रशासन कार्यालय धनुषाले दोषीसँग ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराएको छ । 

नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल मिश्रले दिएको जाहेरीको आधारमा सो घटनामा संलग्न प्रतिवादीहरु उपेन्द्र कुमार साह र धर्मेन्द्र कुमार साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाले जरिवाना तिराएको हो । 

प्रतिवादी उपेन्द्रलाई १ हजार र धमेन्द्रलाई ५ सय रुपैयाँ जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयले सञ्चारकर्मीहरुको क्यामरा तथा मोबाइलको क्षतिपूर्ति बेहोर्न तिनीहरुबाट ५० हजार रुपैयाँ क्षतिपूर्ति असुलउपर गर्ने फैसला समेत गरेको हो । 

सोही घटनामा संलग्न अरुण कुमार साह र ब्रजकिशोर सिंहलाई भने अदालतले सफाइ दिइएको छ । ती दुवैजनालाई सफाइ दिएकोमा असन्तुष्टि व्यक्त गर्दै पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष मिश्रले फैसलाविरुद्ध पुनरावेदन गर्ने बताए । उनले भने, ‘जिप्रका धनुषाले दबाबमा आएर दुवैलाई सफाइ दिएको छ, यो फैसला हामीलाई मान्य छैन, यसविरुद्ध पुनरावेदन गर्ने तयारी गर्दैछु ।’ 

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको उपस्थितिमै उनका कार्यकर्ता तथा नगर प्रहरीले पत्रकारहरुसँग अभद्र व्यवहार गर्नुका साथै हातपात गरेका थिए । सो घटनामा केही पत्रकारलाई चोटपटक समेत लागेको थियो । 

२०७६ साल पुस २२ गते बिबादित जानकी मन्दिरको फूलबारी सम्बन्धमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुसँग मेयरकै कार्यकक्षमा हातपात गरिएको थियो । सो घटना पश्चात अध्यक्ष मिश्रले धमेन्द्र कुमार साह, अरुण कुमार साह, ब्रजकिशोर सिंह र उपेन्द्र कुमार साहविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दिएका थिए । 



जनकपुरधाम उपमहानगरपालिकाको परिसर भित्र पत्रकारहरुलाई गालीगलौज गरी कुटपिटका साथै क्यामरा तथा मोबाइल समेतमा क्षति पु¥याएको भन्दै अध्यक्ष मिश्रले जिप्रका धनुषामा निवेदन दर्ता गराएका थिए । 

सोही घटनालाई लिएर नगरप्रमुख लालकिशोर साहविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा चलिरहेको छ । घटनामा दोषी ठहरिए नगरप्रमुख साहलाई समेत सजाय हुने सम्भावना प्रबल रहेको छ ।



  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १७:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया