काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
‘सभापतिले मात्रै पार्टी चलाउने होइन, सबै मिलेर चलाउने हो’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस  धनकुटा​का सभापति  अग्निप्रसाद पौडेल​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मुखमा अन्योल पनि बढेको छ । हामीले पहिल्यैदेखि समयमै महाधिवेशन गर्नुपर्छ भनेर नेतृत्वलाई सुझाब दिइरहेको हो । अहिले यो अवस्था आइपुगेको छ । अधिवेशन समयमा गरिएन भने पार्टी वैधानिकताको विषय उठ्छ । सँगसँगै कोभिडको पनि समस्या छ । 

वर्षायामको पनि बेला छ । नेतृत्वले सुरुमै चनाखो भएर सोचिदिएको भए अलिकति सहज हुन्थ्यो । अहिले जसरी पनि अधिवेशन गर्नैपर्ने अवस्था छ । हामीले दिने सुझाब अहिले मात्र होइन, यसअघि पनि भन्ने गरेकै हौँ, समयमै महाधिवेशन हुनैपर्छ भनेर ।
 
पार्टीको इतिहास बचाउने गरी अबको नेतृत्व आउनुपर्छ । अहिले सबै कांग्रेस एक ठाउँ भएर कसरी हल गरेर लैजाने भन्ने कुरा पनि छ । नेतृत्व तह पहिल्यै गम्भीर भएको भए यो अवस्था नआउन पनि सक्थ्यो । यतिबेला त मुलुकको जिम्मेवारी पनि कांग्रेसको हातमा छ, जसको कारण थप जिम्मेवार बन्नुपर्ने बेला छ । कुनै पनि अर्थले समयमा अधिवेशन गर्नुपर्छ भन्ने नै हाम्रो भनाइ हो । 

युवा नेतृत्वको बहस 



कांग्रेसमा चल्ने यो बहस बेला–बेलामा आउँछ । तर, कांग्रेसमा जोसुकै नेतृत्वमा आए पनि कांग्रेसले पार्टीको हितमा अगाडि काम गर्दै जानुपर्ने हुन्छ । कसैले अधिवेशनको कुरा अगाडि ल्याएर असफल गर्ने वा खुट्टा तान्ने काम गर्यो भने नेतृत्व सफल हुँदैन । 

त्यसकारण कांग्रेसले समयमै छलफल गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजानेतिर सोच्नुपर्छ । पार्टी भइसकेपछि त्यहाँ वैचारिक मतभेद भन्ने कुरा हुन्छ नै । तर, यस्तो पार्टीमा यो संकट आइपर्छ । नेतृत्वको हकमा भोलि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यले चयन गर्ने कुरा हुन्छ । एउटा नेतृत्व, एउटा सभापतिले पार्टी चलाउने होइन, सबैले मिलेर पार्टी चल्ने हो । 



कोही व्यक्ति आउनेबित्तिकै जादुको छडी बर्साउँछ भन्ने होइन । त्यसमा एउटा सिस्टम बसाएर जानुपर्छ । सिस्टममा जाँदा नेतृत्वलाई नै अप्ठयारो हुन्छ भन्ने त होइन नि ! नेतृत्व नै आफू सजग भएर जाँदा सबै कुरा मिल्छन् । 

कांग्रेसमा परिवारवाद

कांग्रेसमा परिवारवादको विषय निकै गम्भीर र पेचिलो बन्दै गएको विषय हो । नेतृत्वमा रहेको मान्छेले विचार गर्नुपर्ने हुन्छ । पार्टी कसरी चलाएर जाने वा मिलाएर जाने भन्ने दायित्व उसको हुन्छ । यदि आफ्नो मान्छे कहाँ छ, राम्रो मान्छे होइन तर आफ्नो मान्छे भनेर जिम्मेवारी दिइयो भने कसैले पनि पार्टी चलाउन सक्दैन । नेतृत्वमा जाने मान्छेले त्यसरी अघि बढ्नुहुँदैन । ‘मह काढ्नेले हात चाट्छ’ भन्ने नेपाली उखान पनि छ । त्यस्तो त यदाकदा देखिएला । 

हामीले पनि जिल्ला चलाइरहेका छौँ, यी सबै कुरा नेतृत्वमा भर पर्छ । नेतृत्वमा पुग्ने मान्छेले त्यस्ता विषयलाई सोच्नै हुँदैन । त्यसले गर्दा पार्टी अघि बढ्न सक्दैन । यदि त्यो सोच नेतृत्वमा जाने मान्छेले राख्यो भने त्यसको नेतृत्व सफल हुन सक्दैन् । पार्टी भनेको त सबैको साझा चौतारी हो । त्यहाँ परिवार, आफ्ना मान्छे भनेर जानेबित्तिकै त्यो पार्टी नै रहँदैन । 

क्रियाशील विवाद र महाधिवेशन

पार्टीमा क्रियाशील सदस्यताबारे जुन विवाद देखिएको छ, त्यसलाई शीर्षस्थ नेताहरु बसेर सल्टाउनुपर्छ । मिलाएर अधिवेशन समयमा गरौँ भन्दा गाह्रो कुरा छैन । त्यस्तो समस्या न्यून मात्रामा छन् । त्यस्तो अवस्थामा १३औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुलाई नै लिनुपर्छ । ७७ जिल्लामा कुनै जिल्लाको कुनै वडा विवादमा छ भने पुरानै नेतृत्वबाट गर्न सकिन्छ । तर, त्यसका लागि केन्द्रमा समझदारी त हुनुपर्छ । 

यतिबेला पहाडी जिल्लाहरुमा यस्तो विकराल अवस्था छ । कतिपय जिल्लामा त कोभिडकै कारण एकदमै विकराल अवस्था छ । मेरै जिल्लामा भयावह अवस्था छ । हाम्रो अगाडि संकट नै छ । सँगसँगै पार्टीलाई संवैधानिक र वैधानिक संकट दुवै छ । 

समझदारी गरेर भए पनि महाधिवेशन गर्नु नै छ । तोकेको समयमा १४औँ महाधिवेशन गर्न पार्टीलाई बाध्यता छ । यी सबै कुरा नेतृत्व वर्गले अगाडि नै सोचेको भए यो समस्या आउँदैनथ्यो । 

अब पछाडि फर्केर ती कुरालाई हेर्नुभन्दा पनि कसरी समझदारी गरेर अघि बढ्ने भन्नेतिर हामी सबै गम्भीर हुनुपर्छ । कांग्रेसले आफ्नो वैधानिकतामाथि प्रश्न उठाउने काम गर्नुहुँदैन ।

(पाैडेल नेपाली कांग्रेस, धनकुटाका सभापति हुन् ) 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘अहिलेको अवस्थामा महाधिवेशन तोक्नु मूर्खता हो’– भोजपुर सभापति

‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’– संखुवासभा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १७:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया