प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सत्ता गठबन्धनकै पक्षमा देखिएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै नेपालले आफू सत्ता गठबन्धनकै पक्षमा भएको बताएका हुन् ।
एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिअनुसार आफूहरु पार्टी एकतामा गएपनि अध्यक्ष केपी शर्मा ओलीले धोका दिने निष्कर्षसहित नेता नेपाल गठबन्धनको पक्षमा देखिएका हुन् । ब्रिफिङका क्रममा नेता नेपालले सत्ता गठबन्धनलाई कुनैपनि हालतमा बचाउने बताएका हुन् ।
नेपालले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीमा उनले आफूहरुलाई स्पेस नदिने प्रष्ट भएको भन्दै गठबन्धनको पक्ष लिएका हुन् । नेता नेपालले आफ्ना पक्षका नेताहरुलाई संयमित अभिव्यक्ति दिनका लागि निर्देशन पनि दिएका छन् ।
संविधान, लोकतन्त्र र संसद जोगाउनका लागि आफूहरुले गठबन्धन बनाएको भन्दै नेता नेपालले त्यसलाई जोगाउनु आफ्नो दायित्व रहेको बताए । उनले गठबन्धन जोगाउनु आफूहरुको उत्तरदायित्व रहेको बैठकमा ब्रिफिङ गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।