बिपी प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कारबाही हुन्छ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता संलग्न हुनेलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उहाँले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । 

श्रेष्ठले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराए । उनले भने, ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाइ छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’

राज्यमन्त्री श्रेष्ठले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेको बताए । उनले सार्वजनिक महत्वको संस्थाहरूलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसतर्फ सहयोग गर्न आग्रह गरे । 

समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले आन्दोलन गरेर प्रतिष्ठानलाई बन्द गराउने कर्मचारीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भ्रष्टहरूले स्वास्थ्य सेवा दिने संस्थाहरूमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । 





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया