काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
कांग्रेसले खोपलाई प्राथमिकतामा राखेर महाधिवेशनको विकल्प खोज्नुपर्छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस  झापाका सभापति  उद्धव थापालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

पहिलो कुरा त महाधिवेशन हुनुपर्यो। क्रियाशील सदस्यको विवाद नै अहिलेसम्म टुंगिएको छैन। क्रियाशीलको विवादकै कारण तल्लो तहका सबै अधिवेशन स्थगित भएको छ। 

महाधिवेशन मात्रै स्थगित हुन बाँकी रहेको छ। तल्लो  तहका अधिवेशन स्थगित हुँदा यसले महाधिवेशन नै प्रभावित हुने अवस्था देखिएको छ। पहिला क्रियाशिल विवादको टुंगो लागोस्, अनि महाधिवेशनको टुंगो होस्। 

अहिले तोकिएको समयमा नभए पनि कांग्रेसलाई छिट्टै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। समयमा नगरेपनि विकल्पहरु धेरै छन्। विकल्पको प्रयोग गरेर पनि महाधिवेशन त गर्नैपर्छ। नेतृत्व कस्तो आउने भन्ने कुरा समयले बताउने हो। कार्यकर्ताको इच्छा चाहनाले बताउने हो। देशभरबाट कस्ता कार्यकर्ता अगाडि आउँछन्, कस्तो नेतृत्व आउने भन्ने उनीहरुकै हात हुन्छ। हामी सबैको चाहना सक्षम नेतृत्व आओस् भन्ने हो। 



युवा नेतृत्वको बहस 

नेपाली कांग्रेसमा युवा नेतृत्वको बहस छ। धेरै युवाहरुको नेतृत्व नेपाली कांग्रेसमा छ। हिजोको महाधिवेशनमा पनि युवाहरु नेतृत्वको सहभागिता धेरै थियो। आदिवासी, मधेसी, अल्पसंख्यक, मुसलमान सबैलाई आरक्षणको कोटाबाट सहभागी गराएको छ। त्यसकारण १४ औं महाधिवेशनमा युवाहरुको नेतृत्व नहुने भन्ने कुरा हुँदैन।



कहाँ हुने कस्तो प्रकारको हुने भन्ने विषयमा उहाँहरुले देखाउने क्षमताका आधारमा पनि हुन्छ। युवाहरुको सहभागिता पार्टीमा नहुने भन्ने त कुरै छैन। हिजो पनि भएको थियो भोलि पनि हुन्छ। 

परिवारवादको बहस

कांग्रेसमा चलिरहेको परिवारको कुरालाई कसरी परिवारवाद भन्ने र ? सबैको लगानी छ। परिवारको लगानी छ, समूह–समूहको लगानी छ। लगानी भएका मान्छेहरूको पार्टीमा सम्मान हुनुपर्छ। कार्यकर्ताले पनि त्यसको मूल्यांकन गर्नुपर्छ। परिवारवाद भन्ने समस्या म पार्टीमा देख्दिनँ। 

अहिलेसम्म जो–जो परिवारको साख बोकेर आउनुभएको छ उहाँहरुले पार्टीलाई योगदान गर्नुभएको छ। त्याग, तपस्या एवं बलिदान पनि भएको छ। अहिले हामीले आएर व्यक्तिवादी वा परिवारवादी भन्नुमा यथार्थता छैन। 

महाधिवेशन कसरी ?

मैले त यसअघि पनि भनेको छु। यतिबेला कांग्रेसलाई संगठन र सरकारको चुनौती छ। यी दुवै चुनौतीलाई सामना गरेर जानुपर्ने कांग्रेसको बाध्यता हो। त्यसकारण अब सांगठनिक चुनौती भनेको महाधिवेशन मुखमै छ। 

अहिले महाधिवेशनका निकै विकल्पहरु छन्। ती विकल्पहरूको प्रयोग गरौँ, जनतालाई भ्याक्सिन उपलब्ध गराऔँ। प्रत्येक नागरिकले भ्याक्सिन लगाउन पाउने व्यवस्था हो पहिला। 

कोभिड महामारीको अर्को लहर सुरु भइसकेको छ। यो सातौँ भेरियन्टसम्म जान्छ भनेर विश्व स्वास्थ्य संगठनले भनिरहेको छ। अवस्था पनि त्यस्तै देखिँदै गएको छ। त्यसमा पनि लकडाउन भएर खुलेका देशहरुमा फेरि सुरु भएको छ। 

यो कोभिड अघिल्लो भन्दापनि अझै खतरनाक हुने अनुमान गरिएको छ। यो कोभिडप्रति अहिले संवेदनशील भएर लाग्नुपर्ने अवस्था छ। यो महामारीले पनि महाधिवेशन प्रभावित हुन्छ। १८ महिनाको अवधिमा देशमा सबैलाई भ्याक्सिन उपलब्ध गराएर तीनै तहका निर्वाचन गराउनु पर्ने जिम्मेवारी कांग्रेसमा छ । यसबीचमा महाधिवेशन पनि कांग्रेसका लागि अर्को चुनौती हो। 

अहिले कांग्रेस अन्य पार्टीहरूको जोडबलबाट सत्तामा पुगेको छ। अहिले कांग्रेसले सरकार चलाउने अवसर पाउँछ भनेर सोचेकै थिएन। त्यसकारण यो अवसरको प्रयोग कांग्रेसले गर्नुपर्छ। भोलि फेरि कम्युनिस्टको हातमा मुलुकको सत्ता पुग्यो भने हाम्रा अग्रजहरुले प्राप्त गरेको बलिदान समाप्त हुनसक्छ। 

पार्टीमा देखिएको समस्या समाधान गरेर संस्थागत निर्णय गरेर कांग्रेस अघि बढ्नुपर्छ। अहिले कोरोना खोपलाई प्राथमिकतामा राखेर महाधिवेशनको विकल्पमा जानु आवश्यक छ।

त्यसका लागि विभिन्न विकल्पहरु खुल्ला छन्। जस्तो कि विशेष महाधिवेशन हुनसक्छ, निर्वाचन आयोगलाई जरिवाना तिरेर पनि हुनसक्छ। पार्टीको महाधिवेशनका लागि नेताहरु हतारमा हिँडेको देखिन्छ। अधिवेशनबाट म आफू नेता भइहाल्छु भन्ने सोच नेतृत्वमा देखेको छु। अहिले पार्टी जे सुकै होस् म चाँहि नेतृत्वमा आइहाल्छु भन्ने होडबाजी मैले देखेको छु। 

यसले हामी कसैलाई राम्रो गर्दैन। हामीले प्राप्त गरेका उपलब्धि संस्थागत गर्न लाग्नुपर्छ। नेताहरु होडबाजीमा लाग्नु हुँदैन। यो परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा लिएर अघि बढ्नुपर्छ । यो बेलामा कांग्रेस चुक्नुहुँदैन।

(थापा नेपाली कांग्रेस झापाका सभापति हुन् ।)

 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘सभापतिले मात्रै पार्टी चलाउने होइन, सबै मिलेर चलाउने हो’—धनकुटा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’-तेह्रथुम सभापति

‘अहिलेको अवस्थामा महाधिवेशन तोक्नु मूर्खता हो’– भोजपुर सभापति

‘कांग्रेसमा अब अग्रजलाई सम्मान, युवालाई काम’– संखुवासभा सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १६:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया