निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । 

शुक्रबार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

अर्थमन्त्री शर्माले भने, ‘राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।’
 
मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । 

‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन’, मन्त्री शर्माले थपे, ‘मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’
 
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । 

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लगेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै बिनाकुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए । 

बिदाइ मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व संकलनमा समेत सुधार आउने तर्क गरे । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए । 



सचिव पुडासैनीले भने, ‘हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।’ तीन दशकभन्दा लामो समय निजामति सेवामा बिताउँदाकाे अनुभव सुनाउँदै उनले नेपालमा राजनैतिक क्षेत्रले ब्युरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताए । 

वि.सं. २०४५ साल असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत  पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव पनि छ । निजामती सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेरहदका कारण साउन २४ गते आइतबारदेखि सेवानिवृत्त हुँदैछन् । 



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १८:१०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया