अस्ट्रेलिया विरुद्ध ५ खेलको टि-२० सिरिज अन्तर्गत भएको तेस्रो खेलमा घरेलु टोली बंगलादेश विजयी भएको छ ।
बंगलादेशले शुक्रबार १० रनको जित हात पारेको हो । जितसँगै उसले २ खेल अगावै सिरिजमाथि कब्जा जमाएको छ ।
बंगलादेशले क्रिकेट इतिहासमै पहिलोपटक अस्ट्रेलिया विरुद्धको सिरिज आफ्नो पक्षमा पारेको हो ।
बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभर नै ब्याटिङ गरे पनि ४ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि मिचेल मार्शले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । ४७ बलको सामना गरेका उनले ६ चौका र १ छक्काको मद्दतमा ५१ रन प्रहार गरे ।
बेन म्याकडेरमोटले ३५ रनको जोड्दा अविजित रहेका एलेक्स केरीले २० र डानियल क्रिस्टियनले ७ रनको योगदान दिए ।
बंगलादेशका लागि शोरिफुल स्लामले २, शाकिब अल हसन र नासुन अहमेदले समान १-१ विकेट हात पारे ।
यसअघि ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनको योगफल तयार परेको थियो ।
बंगलादेशका लागि कप्तान महमुदुल्लाहले अर्धशतकीय पारी खेले । ५३ बलको सामना गरेक उनले ४चौको मद्दतमा ५२ रन प्रहार गरे ।
शाकिब अल हसनले २६, अफिफ होसेनले १९ र नुरुल हसनले ११ रनको योगदान दिए ।
अस्टेलियाका नाथन एलिस ह्याट्रिक पूरा गर्दै आफ्नो डेब्यु खेलमै यो उपलव्धि हासिल गर्ने अन्तर्राष्ट्रिय टि-२० इतिहासकै पहिलो बलर बने ।
नाथनले १९ औँ ओभरको चौथो बलमा महमुदुल्लाहलाई बोल्ड, पाँचौँ बलमा मुस्ताफिजुर रहमानलाई मिचेल मार्शबाट र अन्तिम बलमा मेहदी हसनलाई एस्टन अगरबाट क्याच आउट गराए ।
जोस हेजलउड र एडम जाम्पाले समान २-२ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
एतिहासिक सफलता हासिल गरेको बंगलादेशले पहिलो खेल २३ रन र दोेस्रो खेल ५ विकेटले आफ्नो पक्षमा पारेको थियो । चौथो खेल शनिबार(आज) हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।