अग्रजले म नै जान्ने हुँ भन्यो भने टापुको एक्लो रुख हुन्छ : दिनेश अधिकारी

२०१६ साल मंसिर २२ गते जन्मिएका दिनेश अधिकारीले जीवन बाँच्ने क्रममा धेरै कविता-गीत लेखे । उनले लेखेका केही गीत कालजयी बने । कवितामा पनि उनले बेग्लै उचाइ बनाए । उनी लेखक मात्रै बनेनन्, सरकारी वकिलका रूपमा पनि लामो समय सेवा गरे । नासु हुँदै सरकारी सेवामा प्रवेश गरेका अधिकारी सचिव पदबाट अवकाश लिएपछि अहिले फुर्सदमा छन् । उनी विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रममा सामेल भएर सेवानिवृत्त जीवनको आनन्द लिइरहेका छन् । त्यसो त उनको लेखन र साहित्यिक संगतलाई जागिरे जीवनले पनि खास प्रभाव पारेको थिएन ।

‘यो सम्झिने मन छ, म बिर्सूँ कसोरी, तिमी नै भनिदेऊ ए जाने निठुरी’, ‘जीवन भनुँ त घात छ’, ‘तिमी जुन रहरले ममा फुल्न आयौ’, ‘पहाडमा जाडो बढे तराईले छेक्नुपर्छ’, ‘निधारमा लर्काएर सप्तरंगी टीका’, ‘रक्सी बेचेँ, आलु बेचेँ, बेचे च्युरा मासु’लगायतका कालजयी उनले जागिरे जीवनमै लेखेका गीत हुन् । यिनै गीतको बाटो हुँदै स्रोताको मनमा पसेका हुन् अधिकारी । अधिकारी सबैका प्रिय कवि तथा गीतकार अक्षर रोप्ने कलाले मात्रै भएका होइनन् । नेपाली साहित्य तथा सांगीतिक आकाशमा उनको छाप यति गहिरो बनाउन उनीभित्रको सरलता, नम्रता र भद्रता पनि सहयोगी बनेको छ । 

२० वर्ष सरकारी वकिलको रूपमा काम गरेका अधिकारी कामको सिलसिलामा विभिन्न जिल्ला पुगे । त्यो समय उनी कानुनका किताबमा मात्रै सीमित हुन सकेनन् । न त अदालती भूमिकामा मात्रै अड्न सके । जागिरे जिम्मेवारीबाट बचेको समय उनले कविता र गीत लेखनमा खर्चिए । उनको लेखनी नै उनको जीवनको सबैभन्दा ठूलो जीत हो । २०३८ साल भदौ २८ गते लोकसेवा आयोगमार्फत नेपाल सरकारको नासु पदमा नियुक्त भएका अधिकारीले २०७१ साउन महिनामा महिला बालबालिका संरक्षण मन्त्रालयको सचिव पदबाट अवकाश लिएका हुन् । 

चलचित्रमा जमेका गीतकार

दिनेश अधिकारी नेपाली व्यावसायिक धारका चलचित्रमा पनि निकै जमेका गीतकार हुन् । उनले पहिलो पटक नेपाली कथानक चलचित्र ‘चोट’मा ‘किन तिमी आज’बोलको गीत लेखे । उनले लेखेको सो गीत प्रकाश श्रेष्ठ र साधना सरगमले गाए । त्यसपछि  चलचित्र ‘विजय पराजय’ मा गीत लेखे- ‘निधारमा लर्काएर सप्तरंगी टीका’ । हेमलताले गाएको यो गीत नबजी हिजोआज तिहार आउँदैन । 

चलचित्रका गीत हल्काफुल्का हुनुपर्छ, मनोरञ्जन दिने हुनुपर्छ, फिल्मको गीतको काम दर्शकलाई हलसम्म तान्ने हो भन्ने सतही मान्यताभन्दा माथि उठेर गीत लेख्ने गीतकारका रूपमा चलचित्रमा जमेका गीतकार हुन् यिनी । उनले अघिल्लो समयका धेरैजना सर्जकसँग संगत पाएका छन् । आफ्ना सिर्जनालाई जुन हिसाबले उनले संग्रहित गरेका छन्, सायदै नेपालमा अरू स्रष्टा कलाकारले गरेका होलान् । उनी आफ्नाबारेका समाचार, पत्रपत्रिकामा छापिएका कविता मात्रै होइन अग्रजदेखि अनुज, जोसँग उनले संगत र उठबस गर्न भ्याए ती सबैसँगका तस्बिर संग्रहित गरेर राखेका छन् । 



लेखनको जग र निरन्तरता

अधिकारीका पिता साहित्य खुबै मन पराउँथे । दाजु पनि साहित्यलाई माया गर्थे । घरमा साहित्यका थुप्रै किताब हुन्थे । तिनै किताबको रसले साहित्यतिर झुक्दै गएका अधिकारी स्कुल-कलेजका पढ्दाताका प्रतियोगितामा प्रथम हुन र पुरस्कार जित्न कविता लेख्न थाले । त्यसले पनि उनलाई लेखनमा बल दियो । त्योभन्दा अलिपछि पत्रपत्रिकामा छपाउने रहरले लेखे, त्यसले झन् लेखनमा निखार ल्यायो । लेख्दै जाँदा उनका कविताका पंक्तिले उनलाई भन्दा धेरै उनका साथीहरूलाई छोयो । त्यसबाट झन् उनी उत्साहित भए र लेख्दै गए, पछि लेखन उनको लत बन्यो । यस्तैयस्तै बाटोबाट अक्षरकर्ममा डोरिएका अधिकारीले आज नेपाली साहित्यमा बेग्लै उचाइ प्राप्त गरेका छन् । उनको लेखनले अलग्गै राजमार्ग बनाएको छ । 



सहयात्रामा तीन पुस्ता 

नेपाली गीत-संगीतमा लाग्ने कसैले पनि आफूले संगत गरेका सबै जनाबारे जानकारी राख्न सक्दैन । तर, अधिकारी आफैं भने हर सम्बन्धको लेखा राख्छन् । उनीसँग उनका हर संगत र उठबस संग्रहित छन् । उनले आफ्नो सांगीतिक यात्रामा विगतमा नेपालका सुप्रसिद्ध संगीतकारहरू अम्बर गुरुङ, गोपाल योञ्जन, नारायण गोपाल, शिव शंकर, तारा देवी, दीपक जंगम, रञ्जित गजमेर, प्रकाश गुरुङ हुँदै नयाँ पुस्ताका न्ह्यु बज्राचार्य, टीका भण्डारी, राजु सिंह, सुरेश अधिकारी तथा हरि लम्सालसम्मका स्रष्टा सर्जकसँग काम गरिसकेका छन् ।

नारायण गोपाल, तारा देवी, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, रुवि जोशी, भक्तराज आचार्य, प्रकाश श्रेष्ठ, किरण प्रधान, सुक्मित गुरुङ, लोचन भट्टराई, विमला राई, रीमा गुरुङ, सुनिता सुब्बा, देविका बन्दना, कुन्ती मोक्तान हुँदै नयाँ गायिकाहरू आकांक्षा बस्याल, निखिता थापासम्मका गायकगायिकाको आवाजमा अधिकारीका गीत रेकर्ड भैसकेका छन् । अझै नयाँ पुस्ताका गायक गायिकासँग उनको यात्रा निरन्तर छ । 

अधिकारीले धेरै संगत र उठबस गरेको अघिल्लो पुस्तासँग सधैं अपेक्षा रहिरहन्थ्यो । पुराना पुस्तासँग अत्यन्तै धेरै गीतसंगीतप्रति लगाव रहेको देखेका अधिकारीले उनीहरूसँग काम गर्दाको खुसी र नयाँ पुस्ताले उनका सिर्जना र उनलाई गरेको मायाको तुलना गर्नै सकेनन् । अहिलेको संगीत बजार र व्यावसायिक बन्दै गएका स्रष्टाले लेखेका शब्दहरुले उनको मनलाई पनि कहिलेकाहीँ छुन्छ । आफूलाई पुस्तान्तरणको त्यति धेरै प्रभाव नपरे पनि नेपाली साहित्य क्षेत्रमा रहेको पुस्तान्तरणको गहिरो खाडल पुरिनुुपर्छ भन्छन् उनी । पुस्तान्तरणको खाडल मैदान बन्न अघिल्लो पुस्ताले पनि म जान्ने हुुँ भन्ने भ्रम र पछिल्लो पुस्ताले म त्यहाँसम्म जान्न भन्ने दम्भ त्याग्नुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘अघिल्लो पुस्ताले म जान्ने हुँ भन्यो भने टापुको एक्लो रुख हुन्छ । पछिल्लो पुस्ताले म त्यहाँसम्म जान्न भन्यो आत्मग्लानिले झन् पछि पर्दै जान्छ । अघिल्लो पुस्ताले म हिजो हिँडेको बाटो राजमार्ग बन्नुपर्छ र बन्दा गर्व गर्न सक्ने र पछिल्लो पुस्ताले अग्रजसँग सिक्ने मेरो नैतिक अधिकार हो भनेर स्वीकार गर्न सक्यो भने पुस्तान्तरणको समस्या बाँकी रहदैन ।’

कोमल कवि मन कानुनसँग ठोक्किन खोज्यो

स्वभावैले कवि-गीतकार कोमल हुन्छन् । अधिकारीको कवि मन पनि पनि कोमल थियो । तर, पेशाले यिनी सबैभन्दा कठोर क्षेत्रमा रहे । २० वर्ष सरकारी वकिलका रूपमा बिताएका अधिकारीको कवि मन यदाकदा वकालति पेशामा गएर ठोक्किन खोज्यो । तथापि, उनको कवि हृदयले वकालत र कानुनी पेशालाई कवि हृदयमा ल्याएर कहिल्यै जोडेन र पेशा तथा स्वभावको यो मेललाई उनले मान्छेको जीवनमा हुने मुस्कान र आँसुसँग तुलना गरेका छन् । अधिकारी लोकप्रिय गीतकार हुन् । काव्यिक चेतनाका हिसाबले उनका कविता निककै माथि छन् । थुप्रै मुद्दा लडेर जिते पनि । तर, उनले जितेको मुद्दा र लोकप्रिय बनेको गीत-कविताको खुसी पनि यिनले कहिल्यै तुलना गर्न सकेनन् । 

अधिकारीका कृति

उनका मूल कृतिहरू अत्तरका छिटाहरू(कवितासंग्रह २०३७), धर्तीको गीत (२०४४), आदिम आवाज (२०४५), इन्द्रजात्रा (काव्य) अविराम (गीतिसंग्रह २०४२), आफ्नै मन आफ्नै आँगन (गीतिसंग्रह २०५४), अतिरिक्त अभिलेख (कवितासंग्रह २०५६), जंगलको कथा जंगलको व्यथा (२०५८), सीमान्त सपना (कवितासंग्रह २०६७), मनका मोडहरू (गीतिसंग्रह २०६३), मोड अफ लाइफ (कविता संग्रह, अंग्रेजीमा अनूदित, अनुवादकः राजेन्द्रप्रसाद शर्मा), समवेदना के स्वर (हिन्दीमा अनूदित कविता संग्रह) लगायत छन् । 

२०४७ मा प्रकाशित ‘भावनाका मातहरू’बाट सुरु भएको एल्बम प्रकाशनको यात्रा, सुख–दुःख, बोल-बोल पाखाहरू, विरानो मन, बहार, परेलीको डिलमुनि, यात्रा, शब्द, रचना, अनुभूति, लिपि, देशको गीत, निखितासम्म आइपुगेको छ । २०७१ सम्म आइपुग्दा १४ वटा एल्बमले नेपाली सांगीतिक बजारमा हलचल ल्याएका छन् ।  

पुरस्कार र सम्मान

हुन त गीत र कविता साहित्यका काव्य विधाका दुई हाँगा हुन् । गीत लेखनका क्षेत्रमा उनी जुन उचाइमा छन्, त्यत्तिकै उचाइमा छन् कविता । नेपालका यिनी पहिलो युवा कवि हुन्, जसले कविताबाटै २०२९ सालपछि २०५६ सालमा मदन पुरस्कार प्राप्त गरे । यिनी जीवनमा पुरस्कार र सम्मानको लेखाजोखा राखिरहन त्यति उपयुक्त ठान्दैनन् । सबै सम्झना पनि छैनन् । यद्यपि, केही सम्झनै पर्ने पुरस्कारहरूमा (रत्नश्री पदक सम्मान २०३८, व्यथित काव्य पुरस्कार २०३९, राष्ट्रिय कविता महोत्सव प्रथम २०४०, राष्ट्रिय आधुनिक गीत सम्मेलन प्रथम २०४० लगायतका पुरस्कार तथा सम्मानबाट सम्मानित भएका छन् । 

रत्न रेकर्डिङ संस्थान सर्वोत्कृष्ट पुरस्कार २०४०, युग कवि सिद्धिचरण श्रेष्ठ पुरस्कार २०४५, मोती पुरस्कार २०४९ , मदन पुरस्कार २०५६ लगायतका पुरस्कारका साथै २०५७ मा मानश्री पुरस्कार, २०५९ मा छिन्नलता पुरस्कार, २०७१ मा विन्ध्यवासिनी लाइफ टाइम अवार्ड, २०५६ मा राष्ट्रिय युवा गौरव सम्मान र २०७१ मा सुप्रबल जनसेवा श्री (तृतीय) लगायतका सम्मान तथा पुरस्कारबाट सम्मानित भएका अधिकारी गीतलाई भन्दा कवितालाई निकै माथि देख्छन् । 

साहित्यमा योगदान

कविता लेखेकै कारण जेल जीवन बिताएका अधिकारी सर्वनाम नाट्य संस्थाका संस्थापक हुन् । नेपाल सांगीतिक संघका आजीवन सदस्य, सल्लाहकार र संस्थापकमध्येका एक अधिकारी सो संस्थाको एक कार्यकाल सचिव, त्यसपछि महासचिव अर्को कार्यकाल उपाध्यक्ष भएर रहँदा उनले खेलेका भूमिका उल्लेखनीय छ । संघको विधान निर्माण, संशोधन, परिमार्जन, रोयल्टी संकलन थालनीमा दिनेश अधिकारीको योगदान उल्लेखनीय छ । अधिकारीका केही गीत र कविता नेपाली साहित्य-संगीत क्षेत्रमा अविस्मरणीय छ । 
 

  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १०:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया